धर्मसंकट मुक्त :महेन्द्र चालिसे (लघुकथा )
कपन अनलाइन
काठमाडौं ,भाद्र २७ ।
केही दिनदेखि उ आफुलाई धर्मसंकटमा परेको महसुस गर्दैछ । एकातिर उ यो देशको एउटा जिम्मेवार नागरिक हो भने अर्कोतिर उ आफ्नो परिवारको अविभावक पनि त हो जसको बिहान बेलुकीको हातमुख जोडाउने जिम्मेवारी लिएको व्यक्ती ।
उसले अविभावकको रुपमा बुढा बा–आमाका छोरो, आफ्ना छोराछोरीका बाबु, श्रीमतिको पति, र भाइ–बहिनीका दाजु बनेर आफ्नो कर्तव्य पुरा गर्नु छ ।
तर ऊ एउटा मध्यमवर्गीय श्रमजीवी, जति कमायो उती खर्चेर आफु र आफ्ना परिवारको भरण पोषण गर्न बाध्य यो देशको मतदाता र नागरिक जस्को न कुनै बचत न कुनै सम्पत्ति । तै पनि ऊ यसैमा रमाएको थियो सायद आफ्नो नियती र भाग्य नै यही ठानेर । उसको न त कसैप्रति आग्रह न त कसैप्रति पुर्वाग्रह ।
तर हालको यो कहिलेको लकडाउन कहिलेको निशेधाज्ञाको जटिल परिस्थितिले उसको मनस्थिति खलबल्याई दिरहेछ । के गर्ने ? के नगर्ने ? यस परिस्थितिमा ऊ आफ्नो परिवारप्रतिको दायित्व कसरी पुरा गर्ने, उनीहरुको बिहान बेलुकिको गाँस कसरी पुरा गराउने ? यही चिन्ताले उसलाई सताईरहेछ ।
हो यही चिन्तामा परेर उ आफु धर्मसंकटमा फसेको महसुस गर्दैछ । किनकि सरकारले तोकेको निशेधाज्ञा नमानौ ऊ यो देशको जिम्मेवार नागरिक कसरी अवज्ञा गरौं, सरकारको आदेश मानौँ भने आफ्ना आखाँ अगाडि आफ्नो परिवारको टिमटिमाउदो अनुहार झलझली आईरहेछ ।
‘आ… अब म यो आदेशको अवज्ञा गर्छु, उ मन मनै संकल्प लिन्छ । ‘के नागरिकको मात्र सरकारको आदेश मान्ने कर्तव्य हो त ? सरकारको आफ्ना नागरिकप्रति केही कर्तब्य र दायित्व छैन ? हो यही कुरालाई मध्यनजर गरी आजका दिनबाट म यो सरकारको निशेधाज्ञाको अवहेलना गर्छु, म मेरा परिवारको हातमुख जोड्ने प्रबन्धतर्फ एकलव्य भएर लाग्छु र आफ्नो धर्मसंकट बाट मुक्त हुन्छु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक