सेवाग्राही र कर्मचारीको मुक्तक दोहोरी :रामकुमार श्रेष्ठ ‘फुच्चे’

सेवाग्राही र कर्मचारीको मुक्तक दोहोरी :रामकुमार श्रेष्ठ ‘फुच्चे’

कपन अनलाइन

काठमाडौं ,भाद्र २७।

१. सेवाग्राही –
आफुआफै दोष देखाई पर भाग्छन् कर्मचारी,
गर्नुपरे केही काम पैसा माग्छन् कर्मचारी ।
समयमा ताला खोल्न प्रायः जान्दैनन् है,
आधा दिनमै बन्द गरि बाटो लाग्छन् कर्मचारी ।

२. कर्मचारी –
सेवा प्रभावित हुनेगरी काम गर्न मन छैन,
जसले जे भने पनि घुस लिने चलन छैन ।
कर्मचारी सधैं दोषी गल्ती हाम्रो मात्रै होर ?
पशुलाईझैँ व्यबहार हुन्छ मानवीयपन छैन ?

३. सेवाग्राही –
जिम्मेवारी आफ्नो के छ लिन सक्दैनौं,
दिनै पर्ने सेवा समेत दिन सक्दैनौं ।
भुल्यौ कित जागिर खाछु जनताकै पसिनाले,
जनताको काम गर्नलाई किन सक्दैनौं ।।

४. कर्मचारी–
जिम्मेवारी वहन गर्ने नाममा लागेका छौँ,
नभनेरै हावापानी घाममा लागेका छौँ ।
भोकप्यास लाग्दा पनि सेवा दिन नछोडी,
खटिएर जनताकै काममा लागेका छौँ ।

५. सेवाग्राही –
जे गर्दानी हुन्छ कि त बिना पोशाक अफिस आउछन्,
चिया पिउने बाहानामा भट्टी छिरी टुच्च लाउछन् ।
पालै पालो मिलाएर आँखा छल्दै बिदा बस्दै,
अफिस आउन छोडेर घरतिर पो काममा धाउछन् ।

६. कर्मचारी –
बिनाकारण उल्टै आँखा तर्छन् सबैजना,
चिया पिउन छिर्दा पछि पर्छन् सबैजना ।
कार्यालय बन्द गरि बिदा बसे के गर्लान्,
कामै छोडी गफिए झैं गर्छन् सबैजना ।।

७. सेवाग्राही –
पटकपटक धाए सेवा दिएकाछौ बोल्नैहुन्न,
बुझेकै छौँ के कसरी जिएकाछौ बोल्नैहुन्न ।
सेवा लिन आउदा समेत खेप्नुपर्ने सास्ती धेरै,
नियम कानुन आफ्नै हातमा लिएकाछौ बोल्नैहुन्न ।

८. कर्मचारी –
दमन शोषण अन्यायले सोस्न कहाँ सकिन्छ र ?
दोष लगाई अरुलाई झोस्न कहाँ सकिन्छ र ?
सरकारी राष्ट्र सेवक कर्मचारी हामीले नै,
जनताको अधिकारलाई खोस्न कहाँ सकिन्छ र ?

९. सेवाग्राही –
परेकाछन् खुकुरीको धारमा सेवाग्राही,
घुसखोरिको जञ्जीर र भारमा सेवाग्राही ।
सभ्यता र शिष्टताको सुरुवात होस् छिट्टै,
अब कहिल्यै पर्नु हुन्न मारमा सेवाग्राही ।

१०. कर्मचारी –
राहतको आभाष हुनेछ नेपाली छोराछोरीलाई,
आजैदेखि सच्याउनेछौ गल्ती अनि कमजोरीलाई ।
घुस लिने यो प्रवृत्तिको अन्त्य हुनेछ ढुक्क हुनुस्,
कारबाहीको दायरामा ल्याउछौ हामी घुसखोरीलाई ।

११. सेवाग्राही –
सेवा लिन आउँदा सधैं निश्चिन्त भै आउन पाईयोस्,
कर्मचारी असल भनी तिम्रै गुणगान गाउन पाईयोस् ।
सरकारी सम्पत्तिको दुरुपयोग नहोस् कहिल्यै,
आजैदेखि बिना शुल्क उचित सेवा पाउन पाईयोस् ।

१२. कर्मचारी –
गल्ती कतै नहोस् भनी सचेत बारम्बार हुनेछौं,
सेवा अवधिभर हामी अफिसमै लगातार हुनेछौं ।
जनताले नै हामीलाई सकारात्मक बुझिदिए,
भन्ने बाटो नपारी काम गर्न तम्तयार हुनेछौं ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।