कवि र म : माया भट्टराई (कविता )
कपन अनलाइन
काठमाडौं ,भाद्र २७।
ए कविज्यू !
यता सुन त…
तिमी, मेरो पनि कथा
लेखिदेउन…
प्रेममा विछोड भएको कथा छ,
जन्मभूमिको
काखबाट बिछोडिएको कथा छ ।
हो,
यस्तै दुःख पीडालाई,
डाका कहानी धेरै छन् मसँग ।
मैले यहाँ सबथोक पाएकी छु,
तर,
जन्मभूमि आमाको माया पाएकी
छैन,
अनि मेरो छुटेको प्रेम फेरि पाएकी
छैन,
हो कविज्यु
मेरा यी यस्तै कथा छन् जिन्दगीका,
लेखिदेउन तिमी,
जब हामी प्रेमिल संसारमा
हराइरहेका थियौँ,
तर,
छुट्यो हाम्रो साथ
अनि छुट्यो जन्मभूमिको काख
पनि,
कविज्यु,
यसरी म अलग्गिएकी छु
दुबै चीजको मायाबाट,
त्यसैले,
मेरो यस्तै बिछोडको कथा
लेखिदेउन है,
तिमीलाई धेरैले मान्दछन्,
चिन्दछन् अनि विश्वास गरेर
लेखाउँछन् अरे ।
त्यो मेरो जन्मभूमि, जहाँ म
हजार सपना सजाएर जन्मिएथेँ,
तर
जन्मिएर त्यो भूमि रङ्गाउन
नपाउँदै देशबाट लखेटिनुपर्यो
अनि,
आफुले मन पराएको मान्छेको
साथ पनि टुटेको छ…
यस्तै छ मेरो बिछोडको कथा,
सानैदेखि मातृभूमि वियोगको
पीडा सहेकी छु,
मेरो जिन्दगीको
खुसी खोसिएको पीडा सहेकी छु,
जब छुट्यो मेरो संसार–
अनि खुसी भएर रमाउने
कुनै आधार पाएकी छैन मैले ।
हो कविज्यु, आजसम्म म
रमाएकी पनि छैन,
कविज्यु, मेरा यस्तै कथाहरू
तिमीले मिलाएर लेखिदेउन है !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक