विकल विरासतको आलोकमा महेन्द्र चालिसको ‘अर्थहीन बलिदान’ एक विश्लेषण : रमेश प्रसाद खनाल

विकल विरासतको आलोकमा महेन्द्र चालिसको ‘अर्थहीन बलिदान’ एक विश्लेषण : रमेश प्रसाद खनाल

कपन अनलाइन
काठमाडौं भदौ २७।

विषय प्रवेशः
साहित्यमा कथाको परिभाषा खोज्ने हो भने त्यो स्वयंमा एक कथा बन्न सक्छ । त्यसैले कथा लेखनको इतिहासलाई सरसर्ती नियाल्ने हो भने कथा के हो भन्नु भन्दा पनि कथा के होइन भन्नु पर्ने अवस्था देखिन्छ । यथार्थमा साहित्यमा लेखिने गरेको कथा विधा के हो र किन लेखिन्छ वा यसले व्यक्ति(पाठक) वा समाजलाई के कस्तो प्रभाव पार्छ ? यस्तै, कथा किन लेखिनु पर्छ ? के यसले मनोरन्जन मात्र प्रदान गर्ने हो वा कुनै संदेश पनि दिन्छ वा दिनु पर्छ ? आदि अनादि प्रश्नहरु नै स्वतः कथाको वास्तविक परिचय दिने उत्तर बन्न जान्छ । सामान्यतया अंग्रेजी भाषामा कजयचत कतयचथ भनिने लेखनलाई नेपालीमा कथा, लघुकथा, छोटो कथा, सुत्र कथा, आख्यान आदि सम्बोधन गरिएको देखिन्छ । नीति कथा, पञ्चतंत्रका कथा, लोक कथा, दन्त्य कथा, पौराणिक कथा, तिलस्मी कथा, ऐतिहासिक कथा, यौन कथा आदि रुप रंगमा पूर्वीय साहित्यमा कथा वर्गीकरण गरेर लेख्ने वा प्रस्तुत गर्ने गरिएको देखिन्छ । कथाले समाज र व्यक्तिलाई जीवनको कुनै पाटोको दिग्दर्शन गराउने वा मनोरंजन प्रदान गर्ने हेतु मात्र राखेको हुँदैन यसले तत्कालिन समयको इतिहासलाई पनि संगेटेको हुन्छ र जिवन्त बनेको हुन्छ वा हुनुपर्छ भन्ने मान्यता रहेको पाइन्छ । मानव समाजको विकास क्रममा भाषा विकसित हुँदै जाँदा मानिसले आफूले देखेको भोगेको अनुभवलाई एक मानिसबाट अर्को मानिसमा सो विषय सम्प्रेषण गर्न चाख लाग्दो गरि प्रयोग गरेको वर्णन नै कथा बन्न गएको हुनुपर्छ भन्ने आंकलन गर्न सकिन्छ । कथाले छोटो समयमा पाठकलाई अभूतपूर्व रुपमा प्रभाव र स्मृति छोडेर जान्छ । सफल रुपमा लेखिएका कथाहरु मानिसको मनमनमा बस्छन् र जनबोलीमा झुन्डिरहने शक्ति र सामथ्र्य तिनमा रहेको हुन्छ । जुनसुकै भाषा होस् वा देश होस् त्यहाँको जीवनसंग जोडिएका कथाले मानवीय संवेदना छुन सक्नु नै कथाको प्रथम सफलता हुन्छ । यही नै कथाकारको कथा शिल्पको जित हुन्छ र यस्तै कथाले साहित्यमा मानक स्थापित गर्दछन् । आज विश्वमा कथामा विविध प्रकारका नविन प्रयोग भैरहेका छन् तर आधारभूतरुपमा कथाले जीवन र जगत्का विविध आयामलाई जस्ताको त्यस्तै तर मन छुने गरी प्रस्तुत गरिएका कृति नै कालजयी हुने रहेछन् भन्ने प्रमाणित यथार्थ भने उस्तै रहेको छ ।
यसै पृष्ठभूमिमा नेपाली साहित्यको कथा विधामा निरन्तर रुपमा संलग्न कथाकार महेन्द्र चालिसेले २०७३ सालमा प्रकाशित पहिलो कथा संग्रह “अर्थहीन बलिदान”
शीर्षकको कृति बारे संक्षेपमा चर्चा गर्नु यो लेखको मूल उद्देश्य हो । वि.सं. २०१७ सालमा रामेश्वर चालिसे(यस्वस्वी आख्यानकार रमेश विकल) र सुशिला चालिसेका कान्छा सुपुत्रको रुपमा काठमाडौंको आरुवारीमा जन्म भएका कथाकार महेन्द्र चालिसेले वाणिज्य शास्त्र अध्ययन गरे पनि साहित्य लेखनमा रहेको आफ्नो रुचिलाई उनले कथा, यात्रा संस्मरण (नियात्रा), कविता आदि विधा मार्फत आफ्नो साहित्यिक प्रतिभा स्थापित गरिसकेका छन् । यश्वस्वी आख्यानकार÷साहित्यकार रमेश विकलको सम्बृद्ध साहित्यिक विरासत त्यसमा पनि मूल रुपमा कथा लेखनको विरासतलाई अगाडि बढाउने गहन जिम्मेवारी पनि रहेका विकलका कान्छा सुपुत्र महेन्द्र चालिसेका कथा कृतिहरु क्रमिक रुपमा प्रकाशित भैरहेका छन् । उनका दाजु कथाकार÷साहित्यकार विजय चालिसे जस्तै उनले पनि कथा लेखनलाई आफ्नो मूल विधा बनाएको देखिन्छ । घरमा बाबु र दाजु नै साहित्य सिर्जनामा लागेको देखेका महेन्द्र भने सानो उमेरमा लेखन तर्फ त्यति आकर्षण राख्ने गर्दैनथे । साहित्यकार तेज प्रकाश श्रेष्ठको प्रोत्साहनमा २०३७ सालदेखि कथा लेख्न थालेका उनले हालसम्म कथा, नियात्रा, निबन्ध लगायतका विधाहरुमा ६ कृतिहरु प्रकाशित गरिसकेका छन् । बालसाहित्य तर्फ ७ वटा कृति प्रकाशित छन् । २०३७ सालदेखि कथाहरु प्रकाशन भएको देखिदा उनको लेखन यात्रा पनि त्यही वर्षको सेरोफेरोमा शुरु भएको अनुमान गर्न सकिन्छ । २०३७ सालमा कथा लेखन र प्रकाशन भए पनि करिब ४० वर्षको अन्तराल पश्चात २०७३ सालमा एक मुष्ठ रुपमा “अर्थहीन बलिदान” नामक कथा संग्रह सुरभी साहित्य प्रतिष्ठानबाट प्रकाशन भएको छ । यस संग्रहमा उनका १७ वटा कथा संग्रहित छन् । यहाँ यिनै कथाका विविध पक्षहरु बारे संक्षेपमा चर्चा गरिनेछ ।
“अर्थहीन बलिदान” भित्रका कथाहरुको कथाः
संग्रहको पहिलो कथा “वेड नं. ५” ले तत्कालिन नेपाली गाउँमा हुने गरेको अन्याय, शोषण र जालासाजीले एक परिवारको समुल अन्त्य हुने पुगेको यथार्थलाइ प्रस्तुत गरेको छ भने यसैभित्र प्रेमको सानो धागो पनि उनिएको छ । जाली मुखियासंग लिन नसकिएको ‘बदला’ ले छटपटीमा रहेको एक युवाको क्रन्दनलाई लेखकले उजागर गरेका छन् । दोश्रो कथा “मेरो अकथाको पात्र ऊ” मा ‘बुच्चे’ पात्रको प्रस्तुति चाख लाग्दो छ । गाउँघरमा मातापिता आफन्तको छत्रछायाँमा हुर्कन नपाएको ‘आवारा’ किसिमको एक स्वछन्द पात्रको माध्यमबाट कथा भनिएको छ । कथाले समग्र नेपाली समाजको असमान स्थितिको चित्रण गर्दछ ।‘अकथा’ भन्दै लेखिएको ‘कथा’ भए पनि केटाकेटी उमेरमा ‘आवारा’ जसरी जिउने पात्रले आफू मात्र होइन, समाजमा उदाहरणीय कार्य गरेको देखाएर लेखकले सकारात्मक संदेश सम्प्रेषण गरेका छन् । अर्को कथा “मृत्यु त उसले चाहेकी” मा अन्तरजातीय विवाह, छुवाछुत जस्ता कुप्रथा÷प्रचलनमा पिसिएकि एक तथाकथित तल्लो जातकी युवतीले भोग्नु परेको पीडा र त्रासको सजीव चित्रण गरिएको छ । कथामा ‘पार्वती’ पात्रलाई ‘मृत्युमुखी’ बनाउनु भन्दा अब केही गर्छु भन्ने अठोट देखाउन सकिएको भए समाजलाई सकारात्मक संदेश जान्थ्यो र कथा निराशावादी पनि देखिने थिएन भन्ने लाग्दछ । शायद लेखक कथालाइ बढी यथार्थवादी मात्र बनाउन चाहन्छन् ।
“प्रेरणाको श्रोतः एउटा फोटो” कथाले घर परिवार खास गरी आमाको जोडबलमा वैवाहिक बन्धनमा बाधिन नखोज्ने एक युवाले युवा वर्गमा उत्पन्न हुने अन्यमस्यकता र असमन्जस्यता दर्शाउँछ । यो एक युवा केन्द्रित कथा लाग्दछ । “जेनी” शीर्षकको कथामा एक अमेरिकी युवतीको नेपाल र नेपाली, यहाँको संस्कार र संस्कृति प्रतिको प्रेमपूर्ण आकर्षण र लगाव एकातर्फ र अर्कोतर्फ समाजमा देखिदै गरेको पश्चिमा जीवन शैली प्रतिको आकर्षणले १० वर्षमा नेपालको अवस्था विगतको समयको जस्तो नहुने लेखकको प्रक्षेपण सही सावित हुँदै गएको अनुभूति गराउने कथा बनेको छ ।“अब कहिले भेटिएला ?” शीर्षकको कथामा एक अनाथालयमा हुर्के बढेको युवक र कलेजमा संगै पढ्ने एक युवती बीचको सुखान्त देखिने प्रेम प्रसंग दुखान्तमा परिणत भएको मार्मिक कथा छ ।
“ऊ शब्दले नाङ्गिञ्छे” कथाबाट लेखकले “व्यवसायिक यौनकर्मी किन नहुने ?” भन्ने प्रश्न उठाएका छन् । कथाका पात्रहरु फुलमाया, कमला जस्ता युवतीहरु यौन शोषणमा पर्ने गरेको यथार्थको परिदृश्यमा आफ्नो जिउ वेचेर बाँच्न विवश युवतीहरुको निमित्त देह व्यापारलाई किन वैधानिकता दिनु हुँदैन भनेर परम्परागत नेपाली समाज सामु प्रश्न उठाएका छन् । “डिभोर्सी याने कि परिपक्क्व” कथाले अमेरिकी समाजमा व्याप्त प्रेम, विवाह र डिभोर्स(सम्बन्ध विच्छेद) आदिले आक्रान्त पारेको समाज र नेपालको वैवाहिक बस्तुस्थिति वीचको फरक दर्शाएको छ ।“बादल छाएको बस्ती” कथाले गाउँमा हुने गरेको हुनेखाने वर्गको बोलबाला र हैकममा पिल्सिएर बाँच्न बाध्य मान्छेहरु, छुवाछुत जस्तो कुप्रथामा रमाउने वर्ग र यसबाट प्रताडित हुन मान्छेहरुको जीवनमा परिवर्तन कहिले आउला भन्ने प्रश्न उठाईएको छ ।
“बेचिएका चेली” कथामा नेपाली गाउँबाट विदेशमा खास गरी भारतीय कोठीहरूमा वेचिन बाध्य नेपाली छोरीहरुको कारुणिक कथाले नेपाली समाजको चित्रण गरिएको छ ।‘छोरी जन्मि भने बल्ल अब हाम्रो घरमा टिनको छानो लाग्ने भयो….’ हरफले नेपाली ग्रामिण भेगको सम्पूर्ण यथार्थ र ब्यथा बोकेको छ । “मान्छे भएर बाँच्न पाउनु पर्छ” कथामा फिलिपिन्समा चलिरहेको वामपन्थी आन्दोलनमा दाजु एन्लार्दोको आकस्मिक भएको हत्या उनकै पार्टी वा सरकार पक्षबाट नै भएको हो कि भन्ने अन्योल देखिएको स्थितिमा सो हत्याको छानबिन गरी प्रतिवेदन पेश गर्न गएको मानव अधिकारवादी समुहको अनुभव लेखिएको छ । आम मानिसहरु कसरी सरकारी र विद्रोही दुवै पक्षको द्वन्दको निशानामा पर्दछन् भन्ने देखाइएको छ । नेपालको १० वर्षे शसस्त्र द्वन्दको अवधिमा नेपालीहरुके भोगेको नियति यो कथामा झल्कन्छ ।“परिचारिका” कथामा प्रेमिका भेटन अस्पताल पुगेको पात्र त्यहाँ कार्यरत एक नर्सबाट विभिन्न प्रकारका रोगीहरुको दर्दनाक कथाहरु खास गरी महिला उत्पीडनका कुराहरुलाइ समेटेर लेखकले नेपाली समाजको यथार्थ झल्काउने प्रयास गरिएको छ ।
“अर्थहीन बलिदान” पुस्तकको नामाकरण गरिएको यो कथाले २०६२÷६३ सालको दोश्रो जन आन्दोलनमा होमिएका असंख्य युवाहरुको प्रतिनिधि पात्र अमित जस्ता पात्रहरुको रगत, पसीना, बलिदान, आफ्नो यौवन, जीवन उत्सर्ग गरेर ल्याइएको ‘गणतान्त्रिक’ व्यवस्थाले उनीहरुको योगदान अझ भनौ बलिदानलाई कसरी अर्थहीन बनाउंदै गयो र युवाहरुका सपना भंग भए भन्ने एक सशक्त उदाहरण देखाएको छ । कथाबाट युवाहरुको बलिदान खेर गएको यथार्थलाई लेखक उजागर गर्दछन् । “थोत्रा बृद्धाश्रमका उपेक्षित बृद्धजनहरु” कथाले रामनाथ अर्थात रमण नामक पात्र मार्फत अमेरिकी सपनाको खोजमा भौतारीरहेका नेपालीहरुको आवाज र अवस्था उजागर गरेको छ ।
“अर्थहीन बलिदान” का विशिष्टताहरुः
● ग्रामिण परिवेशको आंकलनः विविध विषय र सन्दर्भ समेटिएका १७ कथा समावेश भएका कथा संग्रहले ग्रामिण परिवेशमा व्याप्त (तत्कालिन समयको) शोषण, अन्याय, थिचिमिचो बारे लेखिएको शोषित पीडितको पक्षधरता कायम गर्नु नै आफ्नो विशेषता बनाएको देखिन्छ । नेपाली समाजको सजीवता पुर्वक चित्रण गर्नु उनका कथा लेखनका विशेषता हुन् ।
● सामाजिक कुरीति विरुद्धको विषयः अन्तरजातिय विवाहले जन्माउने द्वन्द, छुवाछुत जस्ता कुप्रथा आदि प्रचलन र गलत परम्परालाइ कतिपय कथाहरुको मूल विषयवस्तु बनाइएका छन् । कुरीति र कुप्रथाबाट ग्रसित व्यक्ति र समाजका गलत प्रचलनहरुको चिरफार गर्नु लेखकको विशेषता लाग्दछ ।
● पात्र–चरित्र चित्रणमा सजीवताः विभिन्न पात्रहरुको माध्यमद्वारा उनी जीवनको यथार्थ देखाउने क्रममा पात्रहरुको चरित्र चित्रण बखुवी गर्न सिपालु देखिन्छन् । यो खुवीलाई उनको लेखनको विशेषता मान्न सकिन्छ ।
● विपन्न–प्रतिनिधिमुलकः अधिकांश पात्रहरु विपन्न वा निम्नमध्यम वर्गीय तहको हुनु पनि उनको कथाका विशिष्टता हुन् ।
● कथा शिल्पमा संक्षिप्तताः लेखकको विशिष्टता भनेकै संक्षिप्त लेखन, छोटा र सुस्पष्ट वाक्य विन्यास, सानो क्यानभासमा धेरै विषय र आयामहरू अटाउन सक्ने कथा शिल्प रहेको पाइन्छ ।
● नारी प्राधान्यताः कथाहरुमा मूल रुपमा नारी प्राधान्यता हुनु उनको लेखनको अर्को एक प्रमुख विशिष्टता हो । यसमा प्रेम, धोखा, यौन, डिभोर्स जस्ता विषयहरुलाई पनि कथाका बिषय बनाइएका छन् । समाजका विविध विसंगति जस्तै यौन ब्यबसाय र शोषणमा पारिएको महिलाहरुको पीडा उजागर गर्नु उनका कथाका उद्देश्य देखिन्छन् ।
● जीवन जगत प्रतिको दर्शनः प्रत्येक कथामा लेखक आफ्नो निजि भोगाइ र अनुभूति मात्र लेख्दैनन्, जीवन र जगत प्रतिको आफ्नो दर्शन वा विचार पनि पात्रहरुको माध्यमबाट सम्प्रेषण गर्दछन् । जीवनका विविध विषय, आयाम र विचारहरुलाई समेटन सक्नु नै कथाकारको विशेषता देखिन्छ ।
● दश वर्षेद्वन्द र परिणतिको चित्रणः नेपालको १० वर्षे शशस्त्र द्वन्दको अवधिमा नेपालीहरुले भोगेको नियतिलाइ सटिक रुपमा उल्लेखन गर्नु कथाका विशेषता हुन् । कथाको माध्यमबाट इतिहासलाई जिवित राख्ने प्रयास गरिएको देखिन्छ ।“अर्थहीन बलिदान” कथाको माध्यमबाट यो उद्देश्य पुरा गरिएको देखिन्छ ।
उपसंहारः
सारांशमा भन्नु पर्दा “अर्थहीन बलिदान” नेपाली समाजका ज्वलन्त विषयवस्तुहरुलाई केन्द्रमा राखेर सिर्जना गरिएका कथाहरुको संग्रह हो । नेपाली समाजमा विद्यमान उत्पीडन, व्यथिति, अन्याय, अत्याचार र शोषण आदिको उजागर गर्दै मान्छेका विभिन्न खालका प्रवृत्तिको चिरफार गर्नु कथाका उद्देश्य देखिन्छन् । जातभातको प्रथाबाट पीडितहरुका कथा मात्र छैनन्, पश्चिमा संस्कृति र सभ्यताले नेपाली समाजमा भित्र्याएको वेथितिको पनि उजागर गरिएको छ । कथाहरुले कुनै न कुनै संदेश बोकेको देखिएकोले उनका कथाहरु संदेश–मुलक छन् भन्न सकिन्छ । २०७३ सालमा यो कथा संग्रह प्रकाशित भए पनि यस संग्रहमा लेखकका पुराना कथाहरु पनि समेटिएका छन् । कतिपय कथाका पात्रहरु निरिह देखाइएका प्रतित हुन्छन् जहाँ उनीहरु आफू माथिको अत्याचार विरुद्ध सामान्य रोष समेत प्रकट गर्न सक्दैनन् । यस तर्फ लेखकले पात्रहरुलाई किन यति निरिह देखाएका होलान् भन्ने जिज्ञासा पाठकहरुमा उब्जनु अस्वाभाविक लाग्दैन । तर यसमा संग्रहित धेरै कथाहरु उनका प्रारम्भिक कालका लेखन हुन् भन्ने पनि सम्झनु पर्ने हुन्छ ।
जीवनका यथार्थ घटनाहरुबाट पात्र छान्न सक्नु लेखकीय विशेषता हो भने कथामा पात्रहरुको चरित्रलाई संक्षेपमा भए पनि वर्णन गर्न सक्नु पनि लेखकको कथा–शिल्पको एक उदाहरण मान्न सकिन्छ । अधिकांश पात्रहरु निम्न र निम्न मध्यमवर्गीय तप्काबाट चुनेर लेखकले आफू त्यो वर्गको प्रतिनिधित्व गर्ने लेखकको रुपमा उभ्याएका छन् । कथाका विशेषता भनेकै जीवनका विविध विषय र विचारलाई समेटेर अभिव्यक्त गर्न सक्नु नै हो । समाजमा महिला माथि हुने व्यभिचार, शोषण र अत्याचारलाई आफ्नो कथाको केन्द्रीय विषय बनाउनु कथाका प्रमुख विशेषता बनेका छन् । कथाको माध्यमबाट कथाकार नेपाली समाजको इतिहासलाई जीवित राख्न प्रयत्नशील रहेको देखिन्छ ।
संग्रहमा समाविष्ट केही कथाहरु भने लेख्दालेख्दै छोडिएको जस्तो अपुरो र पूर्ण अर्थ नलाग्ने जस्ता पनि छन् । त्यसो हुनुमा लेखकले त्यस्तै प्रकारको आफ्नो लेखन शैली बनाएको हो भने थप भन्नु पर्ने केही हुँदैन । तर त्यसो होइन भने कथाको प्लट बुन्दाबुन्दै वीचमै छोडिएको जस्तो अनुभव पाठकले गर्दा कथ्य कमजोर हुन् पुगेको प्रतित हुन्छ । कुनै कथा पढ्दा कथाको विट नमरेको जस्तो अनुभूत हुन पुग्ने छन् । कथा पढे पछि त्यसले पाठकलाई धित मार्ने खालको हुनु कथाका मुलभूत तत्व मध्ये एक हुन् भन्ने तर्फ लेखकको ध्यान जानु पर्ने देखिन्छ । यो संग्रहका कथाहरु बुन्दै गर्दा धेरैजसो कथाका कथानक(प्लट) भने कमजोर देखिन्छ । पुस्तकको शीर्षक नै कतै विरोधाभाषपूर्ण त छैन भन्ने भान पर्दछ किनकी कुनै पनि बलिदान ‘अर्थहीन’ हुन् सक्दैन भन्ने तर्क पनि नउठ्ने होइन । कथाहरुमा प्रयुक्त ब्यञ्जना, बिम्ब अलंकार, शैली आदिको भने थप अध्ययनको आवश्यकता हुन्छ ।
रमेश विकल र उनका जेष्ठ सुपुत्र विजय चालिसे(२०८२ जेष्ठ १६ मा दिवंगत)जस्ता आख्यान लेखनका दिग्गज व्यक्तित्वहरुको परिवारमा जन्मे, हुर्के र बढेका महेन्द्र चालिसेलाई एकातर्फ दुवै दिवंगत सर्जकहरुको विरासतलाई अगाडि बढाउनु पर्ने ठुलो चुनौति छ भने अर्को तर्फ आफ्नो लेखनलाइ आफ्ना पिता र दाजुको भन्दा पृथक, विशिष्ट र सार्थकपूर्ण बनाउदै आफ्नो विशिष्ट पहिचान स्थापित गर्नु पर्नेछ । यस कार्यमा उनको अहिलेको लेखनको क्रम हेर्दा कथा वा साहित्यका अन्य विधाहरु मार्फत उनी आफ्नो लक्ष्य प्राप्तिमा सफल हुँदै जानेछन भन्ने विश्वास लिन सकिन्छ । यो संग्रह मार्फत उनले नेपाली साहित्यको कथा विधामा आफ्नो सशक्त उपस्थिति मात्र जनाएका छैनन् विकल परिवारको आख्यान लेखनको परम्परा र विरासतलाई थप उचाइमा पु¥याउने कार्यमा आफ्नो हुने योगदानको राम्रै संकेत समेत दिएका छन् भन्नु अत्युक्ति नहोला । अस्तु ।

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।