उचाई :प्रशुराम अधिकारी ( लघुकथा )
कपन अनलाइन
काठमाडौं ,भाद्र २०।
दीपक, ऊ कहिल्यै फस्ट भएन ।
सम्झ्यो –‘दोस्रो हुनु भनेको पनि त हारेको होइन ।’
क्षत्री जातले दोस्रो, मध्यम वर्गको धनले दोस्रो, मध्यम पढाइ, मध्यम रुपरङ्ग समाजले हेर्ने हरेक कोणबाट ऊ पहिलो होइन ।
दुनियाले देखाइदिएको प्रतिस्पर्धामा भिड्नु अवश्य थियो, आफ्नो रहर, चाहाना र सपनालाई पछ्याउँनु थियो, आफ्नो कर्ममा अविश्राम निरन्तर लागिरहनु थियो । तर अब उसलाई पहिलो हुनु थिएन ।
ऊ स्कुलका हरेक क्रियाकलापमा पहिलो हुने ठानिएन । पछि कलेजका र समाजका गतिविधिमा पहिलो हुने देखिएन । त्यसैले उसले पहिलो हुने विशाल महत्त्वकांक्षा कहिल्यै पालेन ।
उसँग स्कुलमा, कलेजमा र समाजमा पहिलो हुने सामथ्र्य राख्नेहरु सँधै पहिलो हुन आफ्नो गाउँ छाडेर सहर गए । सहरबाट पनि अवसर खोज्दै राजधानी गए । देशबाट पहिलो हुने चाहाना रोज्दै विदेश गए । खै कता–कता, को–को कहिले–कहिले पहिलो भए उसले कहिल्यै खोजेन तर ऊ दोस्रो भएरै पनि त्यही समाजमा आफ्ना रहर, चाहना र सपनाहरु सजाउन क्रियाशील रह्यो ।
समाजले उसको चाहानालाई बुझ्यो बुझेन तर उसले समाजको आवश्यकतालाई बुझ्यो र ऊ त्यही समाजमै रहने अठोट ग¥यो । निरन्तर आफ्नो रहर, चाहाना र सपनालाई पछ्याइरह्यो ।
एकदिन सरकारको तर्फबाट देशकै उत्कृष्ट गाउँलाई पुरस्कृत गर्ने समारोहमा उसँग पहिले स्कुल, कलेज र समाजमा पहिलो हुनेहरु निकै सान र मानका साथ बसिरहेका थिए । उनीहरु आफुहरु यो समाजमा जन्मिएर देश तथा विदेशमा ख्याती कमाएकोले यो समाजचाँही निकै गौरवशाली भएको महसुस गर्दै थिए ।
त्यही समारोहमा गाउँ समाजलाई देशको उत्कृष्ट नमुना गाउँ भनेर घोषित गरियो । र दीपकलाई गाउँलाई उत्कृष्ट नमुना गाउँ बनाउन महङ्खवपूर्ण योगदान गरेको भनेर सम्मान गरियो ।
थाहा छैन यो सम्मानपछि उसको उचाई बढ्यो बढेन । उसलाई देख्नेहरुले, हेर्नेहरुले र ऊसँग पहिले पहिलो हुनेहरुले पहिलो देखे, देखेनन् तर उसकै योगदानले उसको गाउँ पहिलो भयो ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक