अल्पज्ञ : अशोक कुँवर ‘नेत्र’ (लघुकथा )

अल्पज्ञ : अशोक कुँवर ‘नेत्र’ (लघुकथा )

कपन अनलाइन

काठमाडौं ,भाद्र १३।

एउटा नामुद चित्रकारले आफ्नो जीवनभर बनाएकामध्ये आफूले उत्कृष्ट ठहराएका चित्रहरू प्रदर्शनीमा राख्ने योजना बनाए । योजनाअनुसार पहिलो दिन चित्रहरू प्रदर्शनमा राखियो । जसमध्ये एउटा चित्रको तलतिर लेखिएको थियो, “कृपया ! मैले यस चित्रमा कुनै कमजोरी भेटिनँ । तपाईंमध्ये कसैले यसमा कमजोरी देख्नुभए चिह्न लगाइदिनुहोला ।” प्रदर्शनी चल्यो ।

प्रदर्शनीमा सबैभन्दा बढी भिड “कमजोरीमा चिह्न लगाइदिनुहोला” भनी लेखिएको चित्रमा लाग्यो । चित्रमा यति चिह्न लाग्यो कि चित्र नै कुरूप देखियो ।
चित्रमा लगाइएको चिह्न देखेर चित्रकारलाई लाग्यो, “म सबैभन्दा झुर चित्रकार रहेछु ।” उनलाई रातभर निद्रा लागेन ।
भोलिपल्ट बिहान आफूलाई परेको कुरा उनको एक मित्रलाई सुनाए । आज पनि उनले एउटा त्यस्तै चित्र विशेष प्रदर्शनीमा राख्ने इच्छा व्यक्त गरे । त्यस्तो कुरा बुझेर उनको मित्रले भने, “आज तिम्रो चित्र मलाई देऊ । म सुझाव सङ्कलन गर्छु ।”
उनले “हवस” भनेर चित्र मित्रलाई दिए । मित्रले त्यो चित्र अघिल्लो दिन राखेकै ठाउँमा प्रदर्शनीमा राखे ।
प्रदर्शनीमा अघिल्लो दिनकै जस्तो भिड भयो । चित्रकार दोस्रो दिन झनै आँत्तिएका थिए ।
दोस्रो दिनको प्रदर्शनी पनि सकियो । उनले त्यस दिन डराई डराई आफ्नो विशेष प्रदर्शनीमा राखेको चित्रमा आएको सुझाव हेर्न थाले । चित्रमा न त कुनै चिह्न लागेको थियो न त कुनै सुझाव नै आएको थियो ।
उनले अचम्म माने । यसो चित्रको तलतिर हेर्दा उनले एउटा कागज देखे । जसमा लेखिएको थियो, “कृपया यो चित्रमा केही कमजोरी भेट्नुभयो भने तपाईं आफ्नो क्षमता प्रदर्शन गर्न सक्नु हुन्छ अनि चित्रमा भएका कमजोरी सच्याइदिन सक्नुहुन्छ ।

सहकार्य :कपन  बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।