मुक्तक शार्दूल : त्रिलोचन आचार्य

मुक्तक शार्दूल : त्रिलोचन आचार्य

कपन अनलाइन

काठमाडौं ,भाद्र १३।

१. केही युद्धहरू भनिन्छ दुनियाँ लागेर हामी जितौँ
केही युद्धहरू भनिन्छ दुिनयाँ जागेर हामी जितौँ
यौटै शास्त्र रहेन हारजितको देखिन्छ नानाथरि
कोरानासँग युद्ध, केवल भन्यौ, भागेर हामी जितौँ ।

२. वस्ती हुन्छ सखाप चक्चक गरी आगो नबाल्नू सखे
खाँचो निश्चय हुन्छ ती पुलहरू बिन्ती नढाल्नू सखे
उल्टो हिँड्न तयार छैन दुनियाँ जाओस् जता जो तर
आफैँ पर्दछ हिँड्नु भोलि पथमा खाल्डो नपार्नू सखे ।

३. मान्छे काम गरी गए अघि निकै, अल्छीहरू छन् पछि
चौडा मार्ग त राजमार्ग भनियो गल्छीहरू छन् पछि
सोझाले बरु क्यै गरे गरिसके आफ्नै कला कर्मले
माछा पर्छ भनेर कुर्न कसिने बल्छीहरू छन् पछि ।

४. भाग्यैमा छ भनेर काम नगरी बस्नेहरू छन् यहाँ
हल्लामै, परदेशमा सुख भनी फस्नेहरू छन् यहाँ
बाँचे देख्न सकिन्छ यैँ थरिथरी टाठा र बाठा पनि
पाऊँ भोट भनी प्रलोभन दिँदै डस्नेहरू छन् यहाँ ।

५. सक्छौ क्यै गर किन्तु गर्न नसके हाँसेर जाऊ तिमी
जानै पर्छ परन्तु प्रेम सरिता गाँसेर जाऊ तिमी
यो संसार अपार पार नहुँदै जानै छ टाढा कतै
फोटा सुन्दर कामले घर घरै टाँसेर जाऊ तिमी ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।