संवेदनशील बनौ बुढानिलकण्ठ सरकार !
कपन अनलाइन
काठमाडौं ,भाद्र ७/पुन्यराज पुडासैनी
बुढानिलकण्ठ नगरपालिकामा दैनिक रुपमा कोरोना संक्रमित बढ्दै गएका छन जसले गर्दा यस क्षेत्रमा निकै संवेदनशीलता अपनाउनु पर्ने आवस्यकता देखिएको छ। काठमाडौं महानगरपालिका पछी धेरै संक्रमित शंख्या रहेको बुढानिलकण्ठ नगरपालिकाका सबै वडामा कोरोना संक्रमित देखिएका छन।
शुरुवाती चरणमा यस नगरपालिकामा बाहिरि जिल्ला बाट आएका ब्यक्तिहरुमा संक्रमण देखिए पनि पछिल्लो चरण स्थानीयहरुमापनि संक्रमण देखिन थाले संगै नगरपालिकाको स्वास्थ्य शाखाले पनि यस तर्फ निकै संवेदनशील बन्नुपर्ने अवस्था आएको बताउदै आएको छ।बाक्लो बस्ति र व्यापक बसोवास रहेको यस नगरपालिकामा स्वास्थ्य सुरक्षामा लापरवाही,सुरक्षा मापदण्डको बेवास्ता र सचेतनाको अभावमा संक्रमणको अवस्था अनियन्त्रित बन्दै गएको छ।
त्यस्तै पहलो चरणको लकडाउनमा कोरोना नियन्त्रण तथा रोकथामका लागि गठन गरिएका संयन्त्र तथा संरचनाहरु दोश्रो चरणमा प्रभावकारी बन्न सकिरहेका छैनन् भने स्थानीय सरकारको केहि कमजोरी माथि निरन्तर हुने गरेका राजनीतिक रंगका टिप्पणीहरु पनि नगरपालिकाको अभियानका चुनौतिका रुपमा रहेका छन।यस प्रवृतिका प्रसस्त उदाहरणहरु पक्ष,प्रतिपक्ष र जिम्मेवार जनप्रतिनिधिहरुले सामाजिक संजालमा खेलेका शाव्दिक दोहोरी बाटै प्रस्ट हुन्छ।
बुढानिलकण्ठ नगरपालिकामा कोरोना संक्रमणको अवस्था नीकै बढ्दै गएपछि छलफलमा जुटेका काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य ,प्रदेस सभा सदस्यहरु र स्थानीय सरकारका प्रतिनिधिहरुको वारेमा यसै संचार माध्यममा प्रकासित भएको समाचारमा आएको स्थानीयहरुको प्रतिक्रिया मनन गर्दा जनताले खासै जनप्रतिनिधिहरुलाई पत्याएको र विस्वास गरेको देखिदैन।यो अविस्वासले आम जनताको मनोविज्ञानमा पार्ने असरका वारेमा गम्भीरतापुर्वक विश्लेषण गरी ठोस योजना अगाडी ल्याउनुपर्ने देखिन्छ।
कसैले मास्क बाढेर,कसैले सामाजिक संजालमा स्वास्थ्य परिक्षणको तस्विर हालेर र कसैले स्थानीय सरकारलाई गालि गरेर आफ्नो दायित्व पुरा भयो भनेर आत्मरतिका बगैचामा सयर गरे पनि बुढानिलकण्ठका टोल टोलमा कोरोना भाइरसले तीव्र रुपमा गरिरहेको आक्रमणका विरुद्ध लड्ने प्रभावकारी रणनीति र योजना भने दृश्य र अनुभूति दुबैमा प्रकट भएको देखिदैन।
प्रभावकारी संयोजन,व्यवस्थित कार्ययोजना,दृढ इच्छाशक्ति ,प्राथमिकीकरण गरेर श्रोतको परिचलान ,व्यवस्थित र नियमित अनुगमन जस्ता कार्यमा देखिएको अन्यौलता र उदासिनतालाई चिरेर बुढानिलकण्ठ नगरपालिकामा कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि तत्काल निम्न कार्य गर्नुपर्ने देखिन्छ।
१.आइसोलेसन केन्द्र स्थापना
दैनिक रुपमा संक्रमित शंख्या बढेर अस्पतालहरुमा राख्ने अवस्था नरहेपछि धेरै संक्रमितहरु अहिले होम आइसोलेसनमा बसिरहेका छन।लक्षण सहितका संक्रममित अस्पतालमा रहे पनि लक्षण नदेखिएका र जटिल अवस्था नभएका संक्रमितहरुलाई व्यवस्थापनका लागि आइसोलेसन सेन्टरको व्यवस्था गर्नुपर्ने देखिन्छ । नगरपालिकाले स्थापना गरेका क्वारेन्टाइन भवन र विभिन्न वडामा रहेका स्वास्थ्य केन्द्रलाई यस कार्यमा उपयोग गर्न सकिन्छ भने आवस्यक पर्दा सामाजिक संजाल मार्फत भटाभट सहयोगको घोषणा गरेका विद्यालयहरुलाई पनि प्रयोग गर्न सकिने अवस्था रहेको छ।
आइसोलेसन केवल संक्रमितलाई अलग गरेर राख्ने स्थान मात्र नभई यो उनीहरुलाई मनोवैज्ञानिक रुपमा मजबुत बनाउदै कोरोना संग लड्ने आत्मवल बढाउने स्थान पनि हो भन्ने विषयलाई गम्भीर बनेर सोच्नुपर्ने देखिन्छ भने बागमती प्रदेस सरकारको उपकरण र अन्य सहयोग गर्ने निर्णयको पनि सदुपयोग गर्नुपर्ने देखिन्छ।
२.व्यापक परिक्षण र सचेतना
कोरोना संक्रमणको प्रकोप बढे संगै काठमाडौं जिल्लाका नगरपालिकाले परिक्षणको दायरालाई बढाउदै लागेको अवस्थामा बुढानिलकण्ठ नगरपालिकामा पनि यसलाई ब्यापकता दिनुपर्ने देखिन्छ। संक्रमण रोक्न र नगरवासीलाई सुरक्षित बनाउनका लागि एक घर एक परिक्षण को अवधारणालाई तत्काल लागु गर्नुपर्ने देखिन्छ भने परिक्षण स्थल र समयका वारेमा आम नगरवासीलाई अवगत हुनेगरि सार्वजनिक आव्हान गर्नुपर्ने देखिन्छ।
३.प्रभावकारी र नियमित अनुगमन
बुढानिलकण्ठ नगरपालिकामा कोरोना प्रकोप नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा उल्लङ्घन,परिक्षण,बजार र संवेदनशील क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने देखिन्छ भने यसमा केवल स्थानीय सरकारको कार्य क्षेत्रलाई देखाएर प्रतिनिधि सभा र प्रदेस सभा सदस्यहरु उम्किन खोज्नु नितान्त गैर जिम्मेवारपन बाहेक केहि हुनेछैन भन्ने महसुस हुनुपर्ने वेला आइसकेको छ।
यसमा जसरि सम्पूर्ण रुपमा यसको जिम्मेवार स्थानीय सरकार नै हो भने झैँ गरेर सांसदहरुको प्रस्तुति देखिन्छ त्यसले बुढानिलकण्ठवासीको मत र मन दुबैको अपमान गरको महसुस गरिएको चर्चा हुनथालेको छ जसलाई पक्कै सकारात्मक संकेत मान्न सकिदैन।
४.श्रोत र जनशक्तिको प्रभावकारी परिचालन
कुनै पनि विषम परिस्थिति सिर्जना भएको समयमा उपलब्ध श्रोत र जनशक्तिको अधिकतम प्रयोग गर्नुपर्ने हुन्छ। बुढानिलकण्ठ नगरपालिकाले पनि जनप्रतिनिधि ,स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी र कर्मचारीहरुलाई व्यापक परिचालन गर्नुपर्ने देखिन्छ।
यो जटिल अवस्थामा स्वास्थ्य शाखाको मात्र जिम्मेवारी यसमा सबैले योगदान दिनुपर्छ भन्ने उत्प्रेरणा जगाउदै सचेतना ,अनुगमन र योजना कार्यान्वयनका लागि कर्मचारीहरुको परिचालन गर्न नगरपालिकाको प्रसासनिक नेतृत्वले ठोस योजना बनाउनु पर्ने देखिन्छ भने यसमा सरकारी तथा सामुदायिक विद्यालयका शिक्षकहरुलाई पनि परिचालन गर्न सकिने देखिन्छ।
५.सुचना ,प्रचार र जानकारी संयन्त्र
कोरोना प्रकोप नियन्त्रण र रोकथामका लागि जनतालाई सहि सुचना समयमै उपलव्ध गराउने,नगरपालिकाका प्रयास र कामहरुको प्रचार गर्ने र कुनै विशेष र आपतकालीन अवस्था आएमा स्थानीय जनताले तत्काल जानकारी दिने र त्यसमा नगरपालिकाले उचित सम्बोधन गर्न सक्ने संयन्त्रको निर्माण गर्नुपर्ने देखिन्छ।
यसका लागि केवल योजना बनाएर विरवलको खिचडी झैँ कहिलेपनि नपाक्ने गरि झुन्ड्याउनु भन्दा तत्काल २४ सै घण्टा संचालन हुने स्वास्थ्य परामर्श,आपतकालीन उद्दार ,निषेधाज्ञा उल्लङ्घन सुचनाका लागि हटलाइन सेवाको स्थापना गर्नुपर्ने देखिन्छ।
६. जिम्मेवार नागरिक ,संवेदनशील स्थानीय सरकार अभियान संचलन
कोरोना प्रकोप नियन्त्रण र रोकथामका लागि संसार भर चलेका अभियानले सिकाएको एउटा पाठ के हो भने यसमा नागरिकको जिम्मेवारी पन र सजगता नै सबैभन्दा उत्तम उपाय हो। सामाजिक दुरी ,स्वास्थ्य मापदण्ड , सुरक्षा सामाग्रीको प्रयोग जस्ता विषयमा नागरिकहरुको अनुसासन र जिम्मेवारीपन प्रकोप परास्त गर्ने सबै भन्दा ठुलो हतियारहो भन्ने बुझाउनका लागि स्थानीय सरकारल अभियान नै संचालन गर्नुपर्ने देखिन्छ। यसका लागि सन्देस ,सुचना ,चेतावनी ,पुरस्कार र सजायको व्यवस्था सहितको आचार संहिता निर्माण गरेर लागु गर्न सकेमा धेरै हद सम्म प्रकोपको नियन्त्रण गर्न सकिने देखिन्छ।
बुढानिलकण्ठको स्थानीय सरकारले माथिका विषयहरुलाई प्राथमिकतामा राख्दै परिस्थितको गम्भीरतालाई मनोगत भन्दा पनि बस्तुगत ढंगले विश्लेषण गर्दै तत्काल ठोस पहलकदमी लिन नसकेमा निकै भयावह स्थितिको सामाना गर्नुपर्ने पर्याप्त संकेतहरु देखिएकोले एक पटक ठण्डा दिमागले सोच्नुपर्ने देखिन्छ।
अन्यथा कोरोनाले जलेको बुढानिलकण्ठको खरानीमा बसेर त्यसवेला पक्ष ,प्रतिपक्ष र जनप्रतिनिधिहरुले खेल्ने आरोप प्रत्यारोपको दोहोरी हेर्न बाध्य हुने बुढानिलकण्ठवासीको मत र मनको घोर अपमान हुनेछ।