सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने मन्त्रिपरिषदको निर्णय

सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने मन्त्रिपरिषदको निर्णय

कपन अनलाइन 

काठमाडौं ,साउन २७।

बालुवाटारमा भएको  मन्त्रिपरिषदको  बैठकले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च भएसँगै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको बैठकले काठमाडौं उपत्यकाका नगरपालिकाहरूका मेयरहरूको संगठन ‘नगरपालिका मेयर फोरमले गरेको आग्रहमा भदौ १५ सम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको एक मन्त्रीले बताए ।

त्यस्तै भदौ एक गते देखि संचालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा पनि रोक लगाउने निर्णय भएको उनले बताए ।

कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको छ । साथै उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाई गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।