बुढानिलकण्ठ नगरपालिका ९ बाट स्मार्ट मिटर जडान शुभारम्भ

बुढानिलकण्ठ नगरपालिका ९ बाट स्मार्ट मिटर जडान शुभारम्भ

कपन अनलाइन

काठमाडौँ,श्रावण २६। बुढानिलकण्ठ नगरपालिका वडा नं ९ बाट  नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान  कार्यको शुभारम्भ  गरेको छ  ।  आइतबारउक्त  कार्यक्रमका  प्रमुख अतिथि नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बुढानिलकण्ठ नगरपालिका वडा नं ९को  वडा कार्यालय मंडिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको सुरुआत गरेका हुन्  ।

 बुढानिलकण्ठ नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजेन्द्र प्रसाद सापकोटाको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा  उर्जा जलश्रोत सिंचाई सचिब दिनेश घिमिरे बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब  खरेल , नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराई लगायत बिद्युत प्राधिकरणका कर्मचारी,  बुढानिलकण्ठ नगरपालिका वडा नं ९ का वडा सदस्य परशुराम कार्की ,लड्डु खड्का सहित  स्थानीयको उपस्थिति रहेको थियो ।कार्यक्रम संचालन बुढानिलकण्ठ नगरपालीका कार्यपालिका सदस्य सुमित्रा त्रिपाठी पाण्डेले गरेकी थिइन्।

मुलकभर हाल करिब ५० लाख सिंगल फेजका ग्राहक रहेकोमा पहिलो चरणमा रत्नपार्क र महाराजगंज वितरण केन्द्रअन्तर्गतका ग्राहकहरुको सिंगल फेज र थि्र फेज गरी करिब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिने छ । स्मार्ट मिटर जडानको सुरुवातसँगै प्राधिकरणले अगाडि सारेको ‘डिजिटल एनईए’ कार्यान्वयनतर्फ गएको छ ।

स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नु पर्ने छैन । विद्युत् खपतको डाटा दुवैतर्फ प्रसारण हुन सक्ने हुँदा केन्द्रबार्ट मिटर रिडिङ गर्न सकिने र विल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइन काट्न सकिने छ ।मिटर रिडिङको कारणले हुने विद्युत् चुहावट नियन्त्रण हुने छ । कसैले मिटर बाइपास गरी विद्युत चोरी गर्न खोजेमा त्यसको जानकारी हुने हुँदा चोरी नियन्त्रणमा प्रभावकारी हुने छ । स्मार्ट मिटरमा एकीकृत लोडमात्र प्रयोग गर्न पाउने गरी सेटिङ गर्न सकिने हुँदा डिमान्ड चुहावट नियन्त्रण हुने बिश्वास गरिएको छ  ।

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेलले स्वागत मन्तब्य राख्दै कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए । उनले मिटर जडान कार्यक्रम बुढानिलकण्ठ नगरपालिकालाई रोजेकोमा धन्यबाद दिदै सो कार्य सफलताको शुभकामना ब्यक्त गरेका थिए ।उनले बुढानिलकण्ठलाइ उज्यालो नगर बनाउनको लागि नगरपालिकाले बिशेष कार्यक्रम अगाडी सारेको भन्दै बिद्युत प्राधिकरण संग थप छलफल गरिने पनि बताए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य राज्यका निकायले प्रवाह गर्ने सेवाको आधुनिकरण र चुस्तता कायम गर्नु भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न स्मार्ट मिटर जडानको सुरुवात एउटा कोशेढुंगा भएको बताए ।‘स्मार्ट मिटरको जडान मात्रै हैन, संघीय राजधानीलगायत मुलुकका मुख्य मुख्य सहरमा विद्युत्् वितरण प्रणालीलाई भूमिगत गरी सहरी सौन्दर्यता बढाउन र प्रणालीलाई विश्वसनीय तथा भरपर्दो बनाउन काम गरिरहेका छौं’ मन्त्री पुनले भने  ।

‘प्राधिकरणको प्रस्तावमा विद्युत नियमन आयोगमार्फत इतिहासमै पहिलोपल्ट उपभोक्ता महसुल घटाएका छौं भने प्राधिकरणलाई दुई वर्षदेखि सबैभन्दा बढी नाफा कमाउने मुलककै एक नम्बरको संस्था बनाउन सफल भएका छौं, इमान्दार प्रयास गरिएमा गर्न सकिन्छ भन्ने पुष्टि भएको छ,’ उनले भने ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव दिनेशकुमार घिमिरेले मन्त्रालयले दुई वर्षअघि स्वतपत्र मार्फत घोषणा गरिएको ५ वर्षभित्र स्मार्ट गि्रड र मिटरमिटर लागू गर्ने भनिएको कार्यक्रम कार्यान्वयनको उत्साहजनक प्रगति रहेको बताए । उनले वितरण प्रणालीलाई भूमिगत बनाउने र स्मार्ट मिटरको प्रयोगलाई समानान्तर रुपमा अगाडि बढाइने जानकारी दिए ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरको प्रयोगपछि मिटर रिडिङका लागि कर्मचारी आवश्यक नपर्ने हुँदा आगामी दिनमा २ हजार ५ सय देखि ३ हजारसम्म कर्मचारीको खर्च कम हुने बताए ।

‘स्मार्ट मिटरमा हरेक घण्टाको महसुल फरक-फरक कायम गर्न सकिने हुँदा पिक, अफ पिक र नर्मल समयमा ग्राहकको फरक-फरक महसुल तोक्न सकिने छ, साथै अव चाँडै वषर्ायाममा बढी विद्युत उत्पादन हुँदैछ, त्यसको खपत बढाउन सस्तो महसुल कायम गर्न सकिन्छ भने हिउँदयामको महसुल पनि फरक तोक्न सकिने छ,’,उहाँले भने,’स्मार्ट मिटरमा पोष्ट पेड र पि्र पेड दुवै फङसन हुने हुँदा ग्राहको ईच्छाअनुसार पोष्ट पेेड र पि्र पेड गर्न सकिने छ, ग्राहकले जुनसुकै ठाउँबाट अनलाइन विल भुक्तानी गर्न सक्ने हुँदा सजिलो हुन्छ ।’

प्राधिकरणले पहिलो चरणमा देशभरका ८ हजार २ सय २२ टाइम अफ डे -टिओडी) मिटरहरुलाई स्मार्ट बनाइसकेको छ । दोस्रो चरणमा देशभरका करिब १ लाख २५ हजार थि्र फेज होल करेन्ट मीटरहरुलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने काम भइरहेको छ । यस्ता करिब १८ हजार मीटर जडान भइसकेका छन् । ६० हजार मिटर जडान भइरहेको छ । नयाँ थ्रि फेज मिटर सबै नै स्मार्ट जडान हुँदै आएको छ ।स्मार्ट मिटरको प्रभावकारी प्रयोगका लागि आवश्यक ‘कम्युनिकेसन व्याकबोन’ काठमाडौं उपत्यकाभरीलाई हुने गरी जडान गरिने छ । यसको र सिंगल फेज स्मार्ट मिटर जडानको लागत करिब १ अर्ब रुपैयाँ रहेको छ । यसमा एसियाली विकास बैकले सहुलितपूर्ण ऋण दिएको छ ।

काठमाडौं उपत्यकामा हाल रहेका करिब ४ लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्न बोलपत्र प्रक्रिया अगाडि बढाइएको छ । प्राधिकरणले मुलुकभरका सबै ग्राहकको मिटरलाई स्मार्ट बनाउने गरी कार्यक्रम अगाडि बढाएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।अध्यक्षताको आसन बाट बोल्दै बुढानिलकण्ठ नगरपालिका वडा नं ९का वडा अध्यक्ष राजेन्द्र प्रसाद सापकोटाले उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरेका थिए।

 यसै बीच कपन अनलाइन संग संक्षित कुरा गर्दै बुढानिलकण्ठ नगरपालिका वडा नं ९ का वडा सदस्य परशुराम कार्कीले सो मिटर जडान कार्यक्रमको शुभारम्भ बुढानिलकण्ठ नगरपालिका वडा नं ९ बाट नै गर्नको लागि धेरै पहल र प्रयास पश्चात  मात्र सम्भब भएको बताए ।

 

तपाइँको प्रतिक्रिया ।