प्राधिकरणको प्रस्तावमा विद्युत नियमन आयोग मार्फत इतिहासमै पहिलोपल्ट उपभोक्ता महसुल घटाएका छौं: उर्जा मन्त्री बर्षमान पुन
कपन अनलाइन
काठमाडौँ,श्रावण २६। बुढानिलकण्ठ नगरपालिका वडा नं ९ बाट नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान कार्यको शुभारम्भ गरेको छ । आइतबार उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बुढानिलकण्ठ नगरपालिका वडा नं ९को वडा कार्यालय मंडिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको सुरुआत गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य राज्यका निकायले प्रवाह गर्ने सेवाको आधुनिकरण र चुस्तता कायम गर्नु भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न स्मार्ट मिटर जडानको सुरुवात एउटा कोशेढुंगा भएको बताए ।‘स्मार्ट मिटरको जडान मात्रै हैन, संघीय राजधानीलगायत मुलुकका मुख्य मुख्य सहरमा विद्युत्् वितरण प्रणालीलाई भूमिगत गरी सहरी सौन्दर्यता बढाउन र प्रणालीलाई विश्वसनीय तथा भरपर्दो बनाउन काम गरिरहेका छौं’ मन्त्री पुनले भने ।
‘प्राधिकरणको प्रस्तावमा विद्युत नियमन आयोगमार्फत इतिहासमै पहिलोपल्ट उपभोक्ता महसुल घटाएका छौं भने प्राधिकरणलाई दुई वर्षदेखि सबैभन्दा बढी नाफा कमाउने मुलककै एक नम्बरको संस्था बनाउन सफल भएका छौं, इमान्दार प्रयास गरिएमा गर्न सकिन्छ भन्ने पुष्टि भएको छ,’ उनले भने ।