कवि हुँ कहिल्यै नभन्नू : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं ,साउन १०।
भो भो त्रिलोचनभयो कविता नलेख
बेकार भाव मनका यसरी नपोख
वेला विचार, दुनियाँ अब खोज्छ नाफा
को भन्छ अक्षर पढेर दुखाउँ आँखा?
गर्दा समेत सहिछाप भनिन्छ हैन
सोझा सिधा वचन ता सुनिँदै सुनिन्न
डाँको झिकेर नगरी नहुने रडाको
वेला छ आज, किन यो कविता सुनाको ?
आफु उठेर दल दल्दलमा फसाई
नाङ्गै कुदेर दुनियाँबहुतै हँसाई
हिँड्दा छ इज्जत तथा मनितो र मान
चल्दैन काव्य कविता अब यत्ति जान ।
लेख्ने भए अब त भाषण लेख्नु भाइ
नेताजि कै बहुत लेख्नु मिठा सवाई
तानेर लग्छ पदमा त्यसले उचाली
को दिन्छ आज कविता कन चट्ट ताली?
पर्दैन आज दुनियाँ सतिसाल बन्नु
बन्नै परे अब त ती अरिगाँल बन्नु
भर्दै विवेक अब काम गरेर हुन्न
त्यागेर स्वार्थ श्रम सीप छरेर हुन्न ।
खेती गरेर अब अक्षरको हुँदैन
लेखेर बिम्ब रसमा अहिले छुँदैन
भाटा नलाइ नहुने दुनियाँ छ ऐले
लेखी किताब यसरी किन बाँड्नु तैँले ?
जा जाकतार बरु आउँछ टन्न पैसा
व्यापार गर्नु बरु मानिसकै छ ऐश
बन्दा दलाल झन हुन्छ असाध्यलाभ
भोगेर बस्नु कविजी किन यो अभाव?
तस्मात् म लेख्दछु किताब कतै नभन्नू
मेलाछ सोमरसको, म किताब पढ्नु ?
उल्टो गरेर, रमिता किनआज बन्नु ?
आचार्य भाइ, कवि हूँ कहिल्यै नभन्नू ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक