मेरो अर्थशास्त्र : जगनाथ अधिकारी (कविता)

मेरो अर्थशास्त्र : जगनाथ अधिकारी (कविता)

कपन अनलाइन

काठमाडौं ,साउन ३।

दलिनमा सिउरिएको मदानी
मझेरी कुनामा थन्क्याइएको
मोही पार्ने ठूलो कटहरको ठेकी
सङै उभ्याइएको
दहि जमाउने मझौला ठेकी
अनि फुस्स उडेको देखिने
घिउ राख्ने काठे हर्पे र सिङमाङ
तेल सार्न प्रयुक्त त्यो चम्ठो
सबै असरल्ल देख्छु
बर्षौदेखि प्रयोग बिहिन छन्
प्रतिक्षारत छन
कसैले सुम्सुम्याओस
धुलो झारिदिओस
अनि कामकाजी बनाओस ।

(१)
बुइगलका चारै कुनाहरुमा
छरपस्ट छन् –
माटाका गाग्रा, भिउटे अनि घ्याम्पाहरु
कोहि सकुशल छन्
कोहि चर्किएका छन्
तर प्रायः सबै रित्ता छन्
बर्षौ अघि आमाले तीनका घाटीसम्म भरिदिनुहुन्थ्यो–
तिल, जौ, फापर, मास, मास्याङ, जुनेलो
अनि भट्मास, बदाम र बोडीका दानाहरुले
अनि अस्तिपन्जर मात्र देखिने
उपयोग बिहिन छत्री र घुमहरु
धैसोमा ढाकिएर पनि
अझै उद्दार र पुनर्जागरणको पर्खाइमा छन् ।

(२)
धानको भकारी रित्तै छ
बाले हार लाएर लाउनु भए जस्ता
मकैका मिलेका कुन्युहरु
नदेखेको पनि बर्षौ भयो,
कहिले लैनो गाई, बकेर्नो भैसी
अनि कहिले बकेर्नो गाई, लैनो भैसी
खोरभरी बाख्राहरु,
यी सबै सबै सम्झदै
म प्रत्येक दिन
आधा पानी हालेको
एक लिटर दूध किनेकोमा गर्व गर्छु ।

(३)
अनि आत्मनिर्भर अर्थशास्त्रको शिक्षक म
आत्मनिर्भर अर्थतन्त्र सिकाउन
आफू स्वयं धेरै भौतारिए–
नेताका भाषणहरुमा
किताबका ठेलीहरुमा
सेमिनार र गोष्ठिहरुमा
धेरै घोत्लिए–
एडम स्मिथ र लिओनल रबिन्स
अनि अर्मत्य सेनका सिद्धान्तहरुमा ,
तर कहिलै आत्मसात गर्न सकिन(
आमा बा अनि अग्रजहरुको जिवनशैलीले बुझाएको
परिश्रम र उद्यमशिलता
जुन उद्यमशिलताले
सकभर खेतबारी बाझो रहनै दिएन
भण्डार र भकारी भरिएका हुन्थे,
अनि आजकाल म अमिलो मुख लाएर
आफ्नो उद्यमशिलता लुकाउदै
कक्षा कोठामा विधार्थीहरुलाई
परिश्रमी बन्नुपर्छ भन्ने प्रेरणा दिदै
नोट टिपाइरहेछु
यो वर्ष मेरो देशले तीस अर्बको चामल आयात गर्यो

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।