नेपालको राजनीतिक परिदृष्यमा बाल सहभागिताका अभ्यासहरू
कपन अनलाइन
काठमाडौं ,असार २९।
(नेपालको राजनीतिक परिदृष्यमा बाल सहभागिताको नकारात्मक र सकारात्मक अभ्यासहरू विषयमा लामो समय देखि बाल अधिकार तथा वालवालिकाका सवालमा सक्रिय रहेका व्यक्तित्व कृष्ण सुवेदी (भारद्वाज मित्र ) को गहन खोजमुलक लेख यहाँ प्रस्तुत गरिएको छ)
राजनीतिमा बाल सहभागिताको चर्चा भन्ना साथ वैदिककाल, ऐतिहासिक कालका अतिरिक्त हिजोको पञ्चायति निरङ्कुश अवस्थाको बालअधिकार अझ बालसहभागिता, मुलुकमा प्रजातन्त्रको पुनर्स्थापना पछिको अवस्था सँगसँगै सशत्र द्वन्द्वकाअवधिको बाल सहभागिताको चर्चा गर्नु सान्दर्भिक हुने देखियो । र त्यस अनुरूप ती कालखण्डहरूमा बाल सहभागिताको अवस्था बारेमा संक्षिप्त चर्चा गर्ने प्रयास गरेको छु । नेपालको राजनीतिक परिदृष्यमा बाल सहभागिताको नकारात्मक र सकारात्मक अभ्यासहरू नामक शिर्षकमा केही चर्चाका साथ यहाँ उपस्थित छु । मैले यो आलेखलाई भाइबहिनीहरूका पहुँचमा पुर्याउन प्रयास गरिरहँदा केही शब्दहरू,वाक्यहरू भद्दा या लामा भएका हुनसक्छन्, अर्थात ती वाक्यांशहरूले विद्नवत जनहरूलाई झर्काे लाग्ने हुन सक्दछ । त्यसका लागि म क्षमाप्रार्थी छु ।
सहभागिता भन्ने कुरा पनि अधिकारको दायरामा पर्छ र ? हामीलाई नै पहिला पहिला यस्तो लाग्ने गर्दथ्यो । जवसम्म संयुक्त राष्ट्रसङ्घीय बाल अधिकार महासन्धि आएको थिएन तव सम्म सहभागिता भन्ने कुरा अधिकारका रूपमा मान्छेहरूले बुझेकै थिएनन् ।
बाल सहभागिता सबै बालबालिकाहरूको लागि उनीहरूको विचार व्यक्त गर्न र उनीहरूका लागि गरिने गरिने कुनै पनि कामहरूको सूचना, प्राप्त गर्ने र ती कामकुराहरू के कस्ता हुनु पर्दछन् भनेर तय गर्ने वा ती काममा बालबालिकाले प्रभाव पार्ने सवाल नै बाल सहभागिता हो भन्ने यथार्थता हामीले पनि बुझेका थिएनौँ ।
राजनैतिक परिदृष्यमा बाल सहभागिताका कुरा गर्दैगर्दा संयुक्त राष्ट्रसङ्घीय बालअधिकार महासन्धि भन्दापूर्व अवस्थामा पुग्नैपर्ने हुन्छ । अर्थात् त्यस पूर्वको अवस्थाको पनि विवेचना गर्नु अनिवार्य हुन आउँछ ।
वैदिककाल, ऐतिहासिक कालका अतिरिक्त हिजोको पञ्चायति निरङ्कुश अवस्थाको बालअधिकार अझ बाल सहभागिता, मुलुकमा प्रजातन्त्रको पुनर्स्थापना पछिको अवस्था सँगसँगै सशत्र द्वन्द्वका अवधिको बाल सहभागिताको समग्र चर्चा या विशद व्यख्या र विवेचना त यहाँ सम्भव छैन । तथापि हाम्रो पूर्वीय परम्परादेखि हाम्रो मुलुकको ऐतिहासिक सन्दर्भ देखिका चर्चामा चञ्चु प्रवेशको सानो प्रयास हुनेछ ।
बाल अधिकार महासन्धिका सैद्धान्तिक आधारका परिप्रेक्षमा मात्र हामीले बाल सहभागिताको सहि विवेचना गर्न सक्दछौँ । त्यसर्थ यहाँ त्यसको केही छलफल हुन सान्दर्भिक हुन्छ ।
बाल अधिकारका सिद्धान्तहरू :
बालबालिका पनि मानवजातिको बराबर हुन् भन्ने धारणामा आधारित रहेर स्थापित भएका बाल अधिकारका चार सिद्धान्तहरू बालबालिकाहरू र उनीहरूको अधिकारहरू प्रति सामान्य दृष्टिकोण निर्माणमा योगदान पुर्याउछन ।
बाल्यकालको आफैमा एउटा मूल्य हुन्छ भन्ने अवधारणामा उभिएर अर्थात् बालापनको समुचित सम्मान सहित हेर्ने हो भने त्यो अवधि वयस्क जीवनका लागि प्रशिक्षण अवधि हो ।
हामी कसरी बालबालिकाहरूलाई समान जीवन मूल्य प्रदान गर्दछौं र उनीहरूलाई आवश्यक सुरक्षा र समुन्नतिको ग्यारेन्टी दिन्छौं भन्ने महत्वपूर्ण सवालहरूको उत्तर बाल अधिकारका चार सामान्य सिद्धान्तहरूको कार्यान्वयनमा निहीत रहन्छ । सँगसँगै ती बालअधिकारका चार सिद्धान्तको सफल र सम्मानजनक कार्यान्वयनले राज्य र समुदायमा बालअधिकारका कार्यान्वयनका लागि नैतिक र वैचारिक आयाम दिन्छन् ।
हुन त हामी यस आलेखमा बाल सहभागितामा केन्द्रित हुन प्रयास गर्नेछौँ । तथापि त्यस प्रयासलाई बल पुर्याउन सप्रशङ्ग अरु सन्दर्भहरू पनि उपस्थित हुन आउँछन् । त्यसै मेसोमा यहाँ हामी बाल अधिकारका तल लेखिएका चार सिद्धान्तहरूको कुरा गर्दैछौँ ।
१. भेदभाव रहीत (Non Discrimination)
२. बालबालिकाहरूको सर्बोत्तम चासो(Best interests of the child)
३. बाँच्ने र विकासको अधिकार (The right to survival and development)
४. बालबालिकाको विचार सुनिनु पर्ने (To be heard the views of the child)
बाल अधिकारका यिनै चार सिद्धान्तहरू मध्ये चौथो अर्थात् बालबालिकाको विचार सुनिनु पर्ने सिद्धान्तलाई आधार बनाएर संयुक्त राष्ट्रसंघीय बाल अधिकार महासन्धिको धारा १२ ले बालबालिकाको सुनुवाईको अधिकार छ भनेर स्वीकार गरेको हो ।यस अधिकारको प्रयोगलाई व्यापक रूपमा ‘सहभागिता’ को रूपमा अवधारणागत बनाइएको छ ।
यद्यपि यो शब्द आफैँ कन्भेसनमा देखा भने पर्दैन । तथापि धारा १२ को सन्दर्भमा ‘सहभागिता’ भन्ने शव्द विकसित भएको छ रयो शब्दावली व्यापक रूपमा प्रयोग भएको छ ।अव त यो आम भएको छ ।बाल सहभागिताको अधिकारले बालबालिकालाई संलग्नता र अवसरको इच्छुक अधिकारवालाका रूपमा प्रस्तुत गर्दछ । यसको व्यापकतालाई मापन गर्ने हो भने बाल अधिकारका जीवनको अधिकार, संरक्षणको अधिकार, विकासको अधिकारकै हाराहारीमा राखेर चार खम्बा निर्माण गरिएको सन्दर्भलाई हेर्न सकिन्छ ।
सहभागिताको अधिकारलाई एउटा खम्बामानेर चार खम्बामा विभक्त बाल अधिकारको प्रयोग र परिचालन हुने क्रमलाई ’सहभागिता’ को महत्वका रूपमा लिन सकिन्छ ।
बाल सहभागिताको सिद्धान्तलाई समुदायका सबै कार्यक्रमहरूमा र राज्यका सबै तहहरूमा उनीहरूको संलग्नताको अवसर प्रत्याभूत गराउने अत्यावश्यक सिद्धान्तको रूपमा परिभाषित गरिन्छ ।
बाल सहभागिता अधिकारका दृष्टिकोणमा शक्ति र कमजोरीहरू पहिचान गर्न, बाल सहभागिता कसरी राष्ट्रिय नीति, कार्यक्रम र लक्ष्यहरूसँग एकताबद्ध हुन्छ भनेर मूल्याङ्कन गर्न, र बालबालिका र युवाहरूमा अधिकारमुखी कार्यको प्रभाव नाप्न र समीक्षाको लागि पनि परिचालित हुने गर्दछ ।
निःस्सन्देह, बालबालिकाहरूले समुदायस्तरमा धेरै तरिकामा सामाजिक गतिविधिहरूमा भाग लिएका हुन्छन् । बालबालिकाहरूलाई उनीहरूलाई असर गर्ने सबै कुरामा सहभागी हुन अधिकार छ । स्थानीय तहदेखि राष्ट्रिय नीतिहरू लगायत, बालबालिकाका लागि बन्ने राष्ट्रिय कार्ययोजना तयारी गर्ने क्रममा पनि उनीहरूलाई सहभागी हुन अधिकार रहन्छ । साथ साथै जोखिम अवस्थाका र अन्य पीडित बालबालिकाहरूको लागि पनि उनीहरूको सहभागिताले योगदान पुर्याउन सक्दछ ।
बाल सहभागिताको लागि बालप्रतिनिधित्व र परिशीलनका क्रममा उनीहरूको प्रगति, र उनीहरूले सामना गरिरहेका चुनौतीहरूको बारेमा अध्ययन गर्ने जस्ता कार्यहरू उनीहरूका सहभागिताका क्षेत्रमा कार्य गर्ने संस्थाहरू तथा कन्सोर्टियम जस्ता सञ्जालहरूले गर्नु पर्दछ ।
यस्ता पहलहरूले समाजमा बालबालिकाहरूको लागि अर्थपूर्ण भूमिका सिर्जना गर्दछ । संघदेखि प्रदेश हुँदै स्थानीय तह सम्मका सरकारका तर्फबाट बन्ने राष्ट्रियदेखि स्थानीय तहसम्मका नीतिहरू र कार्यक्रमहरूमा बाल सहभागितालाई सार्थक सहभागिताका रूपमा प्रयुक्त गराउने जस्ता महत्वपूर्ण कार्य सम्पादन हुने गर्दछन् । यस्ता अवस्थाहरूमा पनि बालबालिकाको सहभागिता अर्थपूण सहभागिता नहुने र आलङ्कारिक रूपमा विधि पु¥याउने मात्र हुने भय रहन्छ । बालअधिकार अभियन्ताहरूले त्यसको निरन्तर रखवारी र पहरेदारी गरिहनुपर्ने हुन्छ ।
१.सकारात्मक मान्न नसकिने बालसहभागिता
संयुक्त राष्ट्रसङ्घीय बालअधिकार महासन्धिपूर्वको अवस्थामा आजजस्तो परिवार, समुदाय र राज्यले गम्भीरताका साथ बालबालिकाको सुनुवाई गर्नुपर्ने सवाल बालअधिकारको महत्वपूर्ण प्रावधानको स्थापना नै भएको थिएन ।
त्यसैले वयस्कहरूले उनीहरूको भित्री भावनाहरू, विचारहरूलाई ध्यानदिनु र त्यसको संरक्षण गर्नुपर्छ भन्ने सन्दर्भ पनि स्थापित थिएन । त्यसको सट्टामा उनीहरूको भित्री भावनाहरू, विचारहरू परिपक्व हुन्नन्, त्यसर्थ बालबालिकालाई माया, दया र संरक्षण गरिनुपर्दछ भन्ने अवधारणाले काम गरेको हुन्थ्यो ।
हिजोको समाज वेद, उपनिषदहरू, र स्मृतिहरू, कुरान, बाइबल र त्रिपिटक लगायत त्यस्तै कतिपय धर्मसाश्त्रहरूलाई कानूनका रूपमा मानेर चलेका हुन्थे । त्यसैले यहाँपनि त्यसैलाई राजनीतिको अर्थमा लिइएको र सप्रशङ्गचर्चा गरिएको हो । राजनीतिक परिप्रेक्षमा बाल सहभागिताका कुरासँग सापेक्षित सान्दर्भिकताको खोजीनीति गरिएको हो ।
आजका हाम्रा बाल अधिकारका दृष्टिकोण र त्यसबाट परिलक्षित हाम्रा मान्यताहरूमा सकारात्मक सहभागिताको कोटीमा पर्न नसक्ने ती सन्दर्भहरूलाई तल केही बुँदाहरूमा संक्षिप्त चर्चा गर्न प्रयास गरिएको छ :
क. धार्मिक र सांस्कृतिकउत्सवहरू र गतिविधिहरूमाबालबालिकाको सहभागिता
हिजो वैदिककाल देखि नै हाम्रा बालबालिकालाई सम्मान गर्ने, पूजा गर्ने र मायाका साथसाथै उनीहरूको समुन्नतिमाआवस्यक प्रकृयाहरू अगाडि बढाउने अभ्यास थिए ।
अधिकारका रूपमा त्यसको चर्चा हुने गर्दैनथ्यो । अर्थात ती सबै प्रकृयाहरू कर्तव्य र धर्मका रूपमा सम्पन्न हुने गर्दथे । र त्यस्ता अभ्यासहरू प्रथाका रूपमा विकसित हुँदै क्रमशः संस्कृति बनेर स्थापित हुने गर्दथे । तीनै संस्कृतिहरूबाट मान्छे संस्कारित हुने गर्थे । समाज विकासक्रमको यो सामान्य प्रकृया पनि हो ।
त्यस युगमा बालबालिकालाई सम्मान गर्ने, पूजा गर्ने र मायाका साथसाथै उनीहरूको समुन्नतिमा आवस्यक प्रकृयाहरू अगाडि बढाउने अभ्यासका रूपमा विवाह, ब्रतबन्ध, पुराण वाचन लगायतका ठूला यज्ञ यज्ञादिका सुरुमा सम्पन्न गरिने पूर्वाङ्गकर्महरू हुने गर्दथे । ती कर्ममा गरिने अनुष्ठानहरूमा बालक, बालिकालाई कन्या तथा कुमारका रूपमा पूजा गर्ने गरिन्थ्यो ।
बाल पूजनलाई अनिवार्य कर्मकाण्डका रूपमा लिने र त्यसलाई धार्मिक नियमनकारि विधिहरूका पुस्तकहरूमा लेखिएका पाइन्छन् । दशैँ लगायतका समयमा गरिने दुर्गा पूजामा देवीका प्रतिक मानेर बालिकाहरूलाई पूजा गर्ने, मीठा खानेकुराहरू खुवाउने, राम्रा झिलिमिली लुगाहरू लगाई दिने र दक्षिणा पनि दिएर सम्मानित गर्ने प्रथाहरू छन् ।
यस्ता प्रकृयाहरू स्थान र जातजाति संस्कार अनुरूप फरक रहेका हुन्छन् । यस्ता प्रथाहरू समाजमा अध्यावधि चलेको पाइन्छ । त्यहाँ शुभकर्महरूमा बालबालिकालाई सहभागी गराएको पाइन्छ ।
त्यसलाई एक प्रकारको युगिन बालसहभागिताको अभ्यास मान्न सकिन्छ । त्यसैलाई बालबालिकाको प्रयोगका रूपमा पनिलिने र त्यसै अनुसारका व्यख्या पनि हुने गरेको पाइन्छ ।
त्यस्तै बौद्ध परम्परामा बालक या बालिकालाई पनि धर्मदेशणाको अवसर दिने गरिन्थ्यो । अर्थात् सानै उमेरदेखि चिबर धारण गरेर शीलमा रहने, संघमा रहेर बौद्ध शिक्षा एवं दीक्षा ग्रहण गर्ने र क्रमशः भिक्षु बन्ने अवसर दिइन्छ । जो अध्यापि चलिरहेको पाइन्छ । त्यो संस्कृतिमा त्यस कार्यलाई बालबालिकालाई अवसर दिइएको र सम्मान गरिएको भन्ने अर्थमा लिइन्थ्यो पनि । आज त्यसलाई बाल अधिकारको हनन्का रूपमा लिने र त्यसका कारणले बालबालिको बालापन खोसिएको अर्थमा परिभाषित गर्ने गरिन्छ । यहाँ प्रयुक्त यी सन्दर्भहरूलाई प्रतिकात्मक रूपमा मात्र चर्चा गरिएकाले सबै संस्कृतिहरूको उदाहरण सम्भव नभएको हो ।
यस विषम सामाजिक मूल्य र मान्यताहरूको बदलिँदो परिभाषालाई हामीले युगका सापेक्षतामा ग्रहण गर्ने र तदनुकूलका जीवन मूल्यहरूको निर्माण गर्न सक्नु पर्दछ । यो युग बाल अधिकारको स्पष्टताका साथ स्थापना र परिशीलन भइरहेको युग हो । त्यसैले हामी पनि त्यसै सापेक्षतामा परिचालित हुने गर्दछौँ । अतःहिजो जसलाई बालहितका कर्म भनेर मानिन्थ्यो भने आज त्यसैलाई बालहिंशाका रूपमा पनि चित्रित गर्नुपर्ने हुन जान्छ ।
ख. राजारानीहरूका जन्मोत्सव लगायतका राष्ट्रिय पर्वहरूमा बालबालिकाको सहभागिता
समाज विकासका क्रममा वैदिक कालपछि इतिहासको लामो कालखण्डसम्म हाम्रो समाजमा राजतन्त्रले आफुलाई राजनीतिको मेरुदण्डका रूपमा कायम गरेको पाइन्छ । त्यो कालखण्डमा मनाइने राजारानीहरूका जन्मोत्सव एवं प्रजातन्त्र दिवस भनेर फागुन सात गते, संविधान दिवस भनेर पुस एक गते जस्ता विभिन्न राष्ट्रिय पर्वहरूमा वाद्यकारि रूपमा बालबालिकाको सहभागिता गराउने गरिएको पाइन्छ । तत्कालीन अवस्थामा त्यसलाई ठूलो अवसरका रूपमा चर्चा गरिने गरिन्थ्यो । यो आलेखमा कलम चलाइरहँदा स्वयम् आफुले भोगेको घटनाहरूका स्मृति ताजै भटिने गर्दछन् ।
हाम्रो देशमा प्रजातन्त्रको पुनस्थापना भन्दा अगाडि सकृय राजतन्त्रको शासन थियो । त्यस अवस्थाको राजनैतिक व्यवस्थालाई पञ्चायती व्यवस्था भनिने गर्दथ्यो । त्यो अवस्था संसारमा बाल अधिकार महासन्धिको कार्यान्वयन भन्दा पहिलेको सन् १९६६ तिरको अवस्था हो।
म आफु सँग पनि नारायणहिटी राजदरबारमा बडामहारानीलाई फुलदिने लामो लाइनमा जान पाउँदा तत्कालीन अवस्थाको बाल मश्तिष्कमा निकै गर्व लागेको सन्दर्भ अझै सम्झनामा छ । भदौका घाममा पानी प्यासले म झन्नै बेहोस भएको थिएँ ।
भदौ चार गते राजा महेन्द्रकी कान्छी रानी रत्नराज्य लक्ष्मीको (जसलाई बडामहारानीको पदवी दिइएको हुन्थ्यो) जन्मदिन पर्ने हुनाले त्यसै दिनलाई राष्ट्रिय बालदिवसका रूपमा मनाउने गरिन्थ्यो । बालमन्दिरको स्थापना र ७५ रै जिल्लाहरूमा त्यसको विस्तार गर्ने कार्य पनि उनैका नाममा राजपरिवारकै प्रिन्सेप शाह लगायतका अरु सदस्यहरूका संलग्नता र अगुवाईमा चलेको थियो ।
त्यस्ता अवसरहरू जसलाई हिजोको त्यो परिवेशमा अवसरका भनेर मानिन्थ्यो भने आज संयुक्त राष्ट्रसङ्घीय बाल अधिकार महासन्धि पछिको यो युगमा त्यसैलाई बाल हिंशाका रूपमा लिँदै नकारात्मक उदाहरणका रूपमा लिइन्छ । यसो हुनुमा पनि हाम्रो समाजको मानक अव बाल अधिकारका तराजुमा तौलेर मात्र कायम गर्ने अभ्यासका कारणले नै हो ।
ग. राजनैतिक र सामाजिक सभा, समारोहहरूमा बालबालिकाको सहभागिता, परिचालन, प्रयोग र दुरूपयोग
राजनैतिक सत्ताको परिवर्तन मात्र हैन राजनैतिक व्यवस्था नै परिवर्तन हुँदै गएपछि र समय क्रमका अन्तरालमा क्रमशः सामाजिक विधि व्यवहारहरू पनि फेरिँदै जाने हुन्छन् । त्यस्तै रहन सहन एवं मान्छेका जीवनशैली परिमार्जित हुने गर्दछन् ।
त्यसरी परिमार्जित हुँदै, फेरिँदै गएका जीवन पद्धति सापेक्ष र सामाजिक परिवेश अनुकूल समाजमा सांस्कृतिक उन्नयनको अभ्यास पनि देखिने गर्दछ । पछिल्ला युगमा अर्थात हाम्रो समाजमा प्रजातन्त्रको स्थापना पछाडिको समाजमा बालसहभागिताको अभ्यास केही फरक रहेको पाइन्छ । संयोग पनि भनौँ हाम्रो मुलुकमा प्रजातन्त्रको पुनःस्थापना हुनु र संयुक्त राष्टसङ्घले बालअधिकार महासन्धि जारि गर्नु लगभग एकै साथ सन् १९८९/९० मै भएको थियो ।
मुलुकको राजनैतिक क्षेत्रले ठूलो फड्को मारेको थियो । तर राजनीतिका शासक पात्रहरू फेरिदै गएपनि प्रबृत्ति फेरिन नसकको त्यो कालखण्डमा पनि केही सामन्तहरूका प्रथाहरू बाँकी रहेकै थिए । त्यस कालखण्डमा राजनैतिक र सामाजिक सभा, समारोहहरूमा बालबालिकाको प्रयोग व्यापक रूपमा भए । स्वागतमा पञ्चकन्याको प्रयोग देखि सभाहरूमा, र्याली तथा जुलुसहरूमा विद्यालय नै खाली गराएर बालबालिकाको प्रयोग र परिचालन गरिए । भिन्न राजनैतिक पार्टीहरूका र नेताहरूका स्वार्थमा गरिएका ती प्रयोगहरूलाई बाल अधिकारका दृष्टमा दुरूपयोग नै मानिन्छ अर्थात नकारात्मक बालसहभागिता भनेर नै चिनिने गर्दछ ।
घ. दलगत गतिविधिहरूमा वाध्यकारी रूपमा बालबालिकाको सहभागिता
बालअधिकारको चर्चा, परिचर्चा छलफल र स्वीकारका अभ्यासहरू हुँदै पनि छन् । निर्वाचन प्रचारप्रसार तथा विजय र्यालीहरुमा बालबालिकाको सहभागिता पनि सँगसँगै हुँदै आएको हाम्रो समाजको तीतो यथार्थ हो । अझै कतिपय सन्दर्भ र ठाउँ विशेषहरूमा यो नराम्रो अभ्यास वाध्यकारी रहेको पनि पाइन्छ । यो र यस्ता परिशीलनहरू अधिकारमुखी आँखामा स्वीकार्य नहुने मात्र हैन बाल अधिकारका दृष्टमा दुरूपयोग स्वरूप नकारात्मक बाल सहभागिता कै कोटीमा राखिने गर्दछ ।
ङ. विद्यार्थीकै हित र अधिकारका नाममाहुने विद्यार्थी राजनीति र दलीय स्वार्थमा बालबालिकाको सहभागिता
माथी नै चर्चा भइसकेको छ कि,हाम्रो मुलुकमा प्रजातन्त्रको पुनःस्थापना हुनु र संयुक्त राष्टसङ्घले बालअधिकार महासन्धि जारि गर्नु लगभग एकैसाथ घटेका सुखद सन्दर्भहरू हुन् । तर त्यस पछिको लामो समयसम्म विद्यार्थीकै हित र अधिकारका नाममा हुने विद्यार्थी राजनीति र दलीय स्वार्थमा बालबालिकाको सहभागिता रहि नै रह्यो । उच्चशिक्षाको थलो विश्वविद्यालयहरूमा, कलेजहरूमा त्यो अभ्यासलाई सामान्य रूपमा लिइन्छ । तर १८ वर्ष भन्दा कम उमेरका बालबालिकाहरूका साथ विद्यालयहरूमा राजनीतिक पार्टीहरूका भ्रातृसङ्गठनका रूपमा विभिन्न नाममा सङ्गठन चलाउने क्रम पनि रहेको हो । त्यसलाई पनि राजनैतिक क्षेत्रले विद्यार्थीका अधिकारको समुचित उपयोग भएको अर्थमा सम्यक सहभागिताकै नाम दिइएको पाइन्थ्यो ।
लामो समय देखिको बाल अधिकार अभियन्ताहरूले, यस क्षेत्रका सङ्घसंस्था र सञ्जालहरूले यसका बिरुद्धमा चलाएका सचेतना अभियानहरूका प्रभावले अव यो कार्य बाल अधिकारको बिरुद्धमा छ भन्ने मान्यता स्थापित भइरहेको छ । यसका साथसाथै सन् २०१५ मा जारि गरिएको नेपालको संविधानले पनि बालबालिकाको सर्वोत्तम हितलाई आफ्नो निर्देशक सिद्धान्तमा नै समावेस गरेको र संविधानको धारा ३९ को उपधारा एक देखि १० सम्म बालअधिकारलाई मौलिक हकका स्थापित गर्दै समावेस गरेकाले पनि तदनुकूलका ऐन, कानूनहरू बन्ने र कार्यान्वयन हुँदै जाने क्रममा रहेकाले पनि विद्यालयहरूमा राजनीतिक पार्टीहरूका भ्रातृसङ्गठनका रूपमा विभिन्न नाममा सङ्गठन चलाउने क्रम निरुत्साहित भएको छ । अझै पनि राजनैतिक दलहरूले जानी नजानि या अनुचित स्वार्थवस नकारात्मक बाल सहभागिताको त्यो प्रयास गर्ने गरेको पाइन्छ ।
च. सशत्र द्वन्द्वमा बालबालिकाको सहभागिता
नेपालको राजनैतिक परिवेशलाई लिएर अलिकति अगाडि पुग्दा अर्थात् सन् १९९५ मा नेपाल कम्युनिष्ट पार्टीको एउटा घटकले आफुलाई माओबादी भन्ने नामाकरण गर्दै सशत्र संघर्षको सुरुवात गर्यो ।
एक दशक भन्दा बढि समय सम्म चलेको त्यस बिद्रोहमा नेपालका लगभग चार हज्जार बालबालिकालाई शैन्य दस्तामा भर्ना गरियो । हतियार चलाउने तालीम दिइयो र बिद्रोहमा संलग्न गराईयो । त्यसलाई पनि बिद्रोहका सञ्चालकहरूले बालबालिकाहरूलाई महान जनयुद्धमा सामेल भएका राता सिपाहीहरू भनेर एक प्रकारको सम्मान दिने काम गर्यो । राष्ट्र निर्माणमा सहभागि हुने अवसरका रूपमा त्यसलाई व्याख्या पनि गरियो ।
तर यथार्थमा धेरै बालबालिकाहरूको उज्यालो भोलिको अपेक्षामा ग्रहण लागेर भविश्य अन्धकार हुनपुगेको छ । त्यो जनयुद्ध सञ्चालकहरूआज सत्ताको केन्द्रमा छन् भने मृत्युलाई जीतेका ती बालशैन्य आजया त खाडी मुलुक, मलेसिया, कोरियाका श्रम बजारमा छन् र गाउँहरूमा या शहरका मजदुर बस्तीहरूमा सामान्य जीवन बिताइरहेका भेटिन्छन् । हाम्रो यस आलेखको उद्देश्य भनेको राजनैतिक नाफा या घाटाको विश्लेषण हैन ।युद्धमा सहभागी बालबालिकाहरूको समग्र चर्चा पनि हैन । सकारात्मक र नकारात्मक बाल सहभागिताको हो र इतिहासको एउटा कालखण्डमा बालबालिकाको नकारात्मक सहभागिता भएको हो भन्ने उदाहरण हो ।
छ. दलगत राजनीति भन्दा माथि राज्यका नाममा हुने राजनैतिक जुलुस, सभा, समारोहहरूमा गराइने बालबालिकाको सहभागिता
बालबालिकाका सवालहरूमा, सामाजिक एवं सांस्कृतिक सन्दर्भहरूमा र राजनैतिक जुलुस, सभा, समारोह तथा बालबालिकाको सहभागिता रहेको पाइएको छ ।
उदाहरणका रूपमा राष्ट्रिय दिवसहरू मनाउने, वनवातावरणको संरक्षणका अभियानहरूमा मनाइने समारोहहरू, लागुपदार्थ जस्ता अमानवीय गतिविधिका बिरुद्धमा चलाईने र्याली जुलुस एवं समारोहहरूमा बालबालिकालाई परिचालन गरेको पाइन्छ ।
अझ त्यसलाई कतिपय अवस्थाहरूमा राष्ट्रनिर्माणका नाममा, समाज विकासका अभिप्रायले र बालविकास हेतु राम्रो काममा परिचाल नभएको चर्चा गर्ने र वैधानिकताको जलप लगाउन प्रयास भएको पाइन्छ ।भलै यो अभ्यास भने दलगत राजनीति भन्दा माथि हुन्छ ।अर्थात् साझा राजनैतिक प्रयोगमा हुने गर्दछ । दलगत राजनीति भन्दा माथि राज्यका नाममा हुने यस्ता राजनैतिक जुलुस, सभा, समारोहहरूमा गराइने बालबालिकाको सहभागितालाई पनि दुरूपयोगकै रूपमा ग्रहण गरेर नकारात्मक सहभागिताको कोटिमा राख्नुपर्ने हुन्छ ।
बालबालिकाकै नाममाहुने कार्यक्रमहरूमाहुने बालबालिकाको सहभागिता
हाम्रो समाजमा विद्यालयमा भर्ना अभियान, विद्यालयका वार्षिक कार्यक्रमहरूमा, भवन निर्माणमा श्रमदान लगायतका शैक्षिक क्षेत्रमा पनि बालबालिकाको व्यापक परिचालन हुने गरेको । बालबालिकाकै नाममा हुने सभा समारोह, गोष्ठी, कार्यशालाहरूका साथसाथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बालदिवसहरूमा, बालश्रम बिरुद्धका, बाल अधिकारसँग जोडिएका अनेकानेक विश्व स्तरका दिवसहरूमा बालबालिकाको सहभागितामा मनाउने अभ्यास पनि रहेको छ । अव क्रमशः न्यूनहुँदै गइरहेको भएता पनि बालबालिकाको त्यो प्रयोग र परिचालनलाई पनि अव निषेध नै गर्नु उपयुक्त हुन्छ ।
उपसंहार
बालबालिकाका लागि, बालबालिकाहरूबाटै बालबालिकाकै सहभागितामा भन्ने आसय सुन्दर लाग्दछ । सहभागिताको सिद्धान्तले पनि आफ्ना कुरामा उनीहरू सहभागी हुनुलाई बाल सहभागिता भनेर हामीले माथी नै चर्चा गरिसकेका छौँ । सिद्धान्ततः पनि बाल सहभागितालाई हामीले अधिकारका रूपमा लिएकै छौँ । नेपालको राजनीतिक परिदृष्यमा बाल सहभागिताको नकारात्मक र सकारात्मक अभ्यासहरूलाई अध्ययनको विषय बनाउने, समाजको गहीरो गरी अध्ययन गर्ने, मिहीन ढङ्गले त्यसको विश्लेषण गर्ने र त्यसको समुचित प्रकाशन गर्ने अभिारा पनि हाम्रो नै हो । कतिसम्म बाल सहभागिताको सिर्जनात्मक परिशीलन हो र कहाँबाट बालबालिकाको परिचालन, प्रयोग र दुरूपयोगको चरण सुरु हुन्छ ?भन्ने कुराको निरूपण गर्ने अव हाम्रो दायित्व र जिम्मेवारीका रूपमा रहेको छ । यस गुरुत्तर जिम्मेवारी बहन गरिरहँदा समाजले सम्यक मार्गदर्शन पहिल्याउनु पर्ने हुन्छ । त्यो भनेको ‘बालबालिकाको सर्बाेत्तमहित र चासो’ नै हो ।