प्रधानमन्त्री केपी ओलीलाई हटाए गणतन्त्र खतरामा पर्छ : टोप बहादुर रायमाझी

प्रधानमन्त्री केपी ओलीलाई हटाए गणतन्त्र खतरामा पर्छ : टोप बहादुर रायमाझी

कपन अनलाइन
काठमाडौं,असार २१ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले सरकार परिवर्तन गर्ने कुरा स्विकार्य नहुने स्पष्ट पारेका छन् । पार्टीभित्रको विवाद समाधानको लागि शीर्ष नेताहरुले आपसी सहमति कायम गर्नुको विकल्प नभएको उनको भनाई छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेकपाभित्रको विवाद कसरी समाधान हुन्छ ? भनेर यतिवेला सारा नेपाली जनता, नेकपाका नेता÷कार्यकर्ताहरुले चासो र चिन्ताका साथ हेरिरहेको पनि सुनाए । उनले पार्टीभित्र अहिले देखिएको आन्तरिक विवाद नीति, विचार र विकास र समृृद्धिको एजेण्डाभन्दापनि शक्ति बाँडफाँडमा बढि केन्द्रीत रहेको स्पष्ट पारे । उनले भने,‘अहिले नेकपाभित्रको विवाद खासगरी पावर सेयरिङमा सम्बन्धित छ । यही विषयले उचाई लिईरहेको छ । अहिलेको बहस एजेण्डामा भन्दापनि कसरी सरकार परिवर्तन गर्ने भन्नेमा केन्द्रित रहेको छ ।’
रायमाझीले लामो समयपछि नेपाली जनताले दुई तिहाई बहुमत दिएर मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न र विकास र समृद्धिको एजेण्डालाई अघि बढाउन नेकपालाई सरकारमा पठाएको सुनाउँदै सोहीअनुसार नेकपा र यसको नेतृत्वमा रहेको सरकार खरो रूपमा उत्रिनुपर्नेमा जोड दिए । ‘दुई तिहाईको सरकार बनेपछि जनतामा यो सरकारप्रति अपेक्षा बढ्नु स्वभाविक हो । हामीले जनताका चाहनाबमोजिम राम्रो काम गर्न सक्ने अवसर थियो । तर, हामीले जनताका अपेक्षा पूरा गर्नेगरि काम गरेनौं । विगतका सरकारभन्दा केही राम्रा काम त पक्कैपनि भएका छन् । तर, दुई तिहाईको सरकार हो यो, त्यो स्तरमा अझै काम भैरहेका छनैन् ।’–रायमाझीको गुनासो छ । अहिले पार्टी एकताका अधुरो कामपनि ओझेलमा परेको उनको गुनासो छ ।
मुलुक यतिवेला कोरोनाको महामारीविरुद्ध लडिरहेको, सिमा विवादमा सिंगो राष्ट्र एकजुट भएर लागिरहेको सुनाउँदै उनले यस्तो बेलामा बहस र छलफल अरु विषयमा केन्द्रित गर्नु दुःखद् भएको टिप्पणी गरे । उनले भने,‘सरकारलाई परीणाममुखी बनाउनको लागि छलफल आवश्यक छ, तर सरकार परिवर्तन गर्दैमा समस्याको समाधान त हुने होईन् । यो बेलामा सरकार परिवर्तन गर्नु उपयुक्त होईन् ।’
रायमाझीले अहिले सरकार परिवर्तन गर्नु वा प्रधानमन्त्री र अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउन खोज्नु पार्टी एकताको म्याण्डेटविपरित हुनेपनि टिप्पणी गरे । उनले भने,‘एकता महाधिवेशन नभएसम्म सहमतिका साथ अघि बढ्ने समझदारी छ । अहिले बहुमत वा अल्पमतमा जाने होईन् । बहुमतको आधारमा अध्यक्ष वा प्रधानमन्त्री परिवर्तन गर्दा त्यो पार्टी एकताको म्याण्डेटविपरित हुन्छ ।’ अहिले प्रधानमन्त्री परिवर्तन गरिए देश अस्थिरतातर्फ जानेपनि उनले खतरा औंल्याए । तर, आवश्यक पर्यो भने सहमतिका आधारमा पदको बाँडफाँड भने गर्न सकिने विषय भएको उनको भनाई छ । पार्टी एकताभन्दा बाहिर नजानको लागि देशभरिका नेता तथा कार्यकर्ताहरुले नेतृत्वलाई खबरदारी गरिरहेको उनले जनाए ।
अहिले देखिएका विवाद समाधानको लागि नेताहरुले पार्टी एकतालाई केन्द्रविन्दुमा राखेर छलफल गर्नुपर्ने उनको सुझाव छ । ‘विधि, प्रक्रियासम्वद्ध छलफल हुनुपर्छ । यही छलफलको माध्यमबाट समस्याको हल गर्नुपर्छ । समाधानको उपाय खोज्नुपर्छ ।’–रायमाझीले भने । उनले अहिलेको विवादलाई युद्धविराम गर्नसमेत नेताहरुसमक्ष आग्रह गरे । ‘आवेगमा होईन विवेकले चल्ने बेला हो, सहमतिको माध्यमबाट नै हामी अघि बढ्नुपर्छ।’–रायमाझीले थपे ।
उनले नेताहरुले एकले अर्कोलाई सम्मान गर्दै अहिले देखिएका विवाद वा समस्याको समाधान खोज्नुपर्ने बताए । नेकपा विभाजन भए गणतन्त्र नै खतरामा पर्ने उनको टिप्पणी छ । उनले नेताहरुलाई सहमतिको लागि अन्तिमसम्म प्रयत्न गर्नपनि आग्रह गरे । आफूहरु दोस्रो पुस्ताका नेताहरुपनि पार्टी एकतालाई जोगाउनको लागि नेतृत्वलाई दबाब सिर्जना गर्ने काममा लागिरहेको रायमाझीले सुनाए ।
पहिलो पुस्ताका नेताहरुले सहमति कायम गर्नुको विकल्प नै नभएको उनको भनाई छ । र, दोस्रो पुस्ताका नेताहरुले पहिलो पींढिका नेताहरुलाई उक्साउने काम गर्न नहुने उनको सुझाव छ । उनले भने,‘हामीले विवाद चर्काउनेगरि आफ्नो भूमिका निर्वाह गर्नुहुँदैन् । बरु, विवाद मत्थर पार्नेगरि आफूलाई सक्रिय बनाउनुपर्छ ।’
रायमाझीले पार्टीका शीर्ष नेताहरुले अहिलेको विवाद मिलाउन नसके उनीहरुको नेतृत्व र खुबीमाथि प्रश्नचिन्ह उठ्नेपनि टिप्पणी गरे । उनले भने,‘पार्टी नेतृत्वले विवाद हल गर्न सक्नुभएन भने उहाँहरुको क्षमतामाथि पनि प्रश्न उठ्छ । यदि पार्टीलाई विभाजनतर्फ लैजानु भयो भने उहाँहरुको क्षमतामा त प्रश्न उठ्छ नै । उहाँहरुलाई विवाद मिलाउने अधिकार छ । तर, पार्टी विभाजन गर्ने राईट्स छैन् ।’
पार्टी विभाजन गर्नेहरुलाई नेता मान्न पनि जरुरी नरहेको उनको भनाई छ । उनले कसैको उक्साहटमा, निर्देशन वा बहकावमा लागेर पार्टी विभाजन गर्ने कदम चाले स्वयम ती नेताहरुको लागि दुर्भाग्यपूर्ण हुने बताए । उनले नेकपा विभाजन भयो भने गणतन्त्र धरापमा पर्ने खतरा पूनः औंल्याए । उनले भने,‘हामी पार्टी एकता जोगाउनको लागि अन्तिमसम्म पनि क्रियाशिल रहन्छौं ।’
उनले आफू पार्टीभित्र कुनैपनि गुटमा नभएको स्पष्ट पारे । रायमाझीले थपे,‘म नेकपाको गुटमा छु । म नेकपाको सिपाही हुँ । कार्यकर्ता हुँ । मैले गुटलाई विश्वास गर्दिन् । प्रचण्ड मेरो आदरणीय नेता हो । अभिभावक हो । अर्को अध्यक्ष कमरेड केपी ओलीपनि मेरो नेता हो । म पार्टीको मान्छे हुँ । कुनै व्यक्तिको मान्छे होईन् ।’

तपाइँको प्रतिक्रिया ।