हाम्रो भरिया : रामचन्द्र दाहाल (कविता )

हाम्रो भरिया : रामचन्द्र दाहाल (कविता )

कपन अनलाइन

काठमाडौं ,असार १४।

त्यो बेला ढाकर बोक्नेहरू !
धरानदेखि धनकुटा, भोजपुर
ओखल्ढुङ्गा धुइरो–धुइरो देखिन्थे ।
कोहि दशैँ बोकेर चढिरहेका हुन्थे
कोहि दशैँ बोक्न झरिरहेका हुन्थे ।
हाम्रो भरिया ऊ आफैँ पनि,
उकालो सकेर ओरालो झरिरहेथ्यो ।
दशैँ छाँदेर डोकाभरि,
दशैँ खोज्न हिडिरहेथ्यो ।
बेलबोटे खोलाको किनारले,
दिनभर ओरालो झारेपछि,
गह्रौँगो भारीका सुस्केरा सक्रिय भएर
जीवन जीउनुको परिभाषा माग्थे र
हाम्रो भरिया बिस्तारै बिस्तारै,
बाटो बालुवामा परिभाषित हुन्थ्यो ।
उस्ले विदेशी बखान चाखेर,
आफ्नो बाटो माटोको उपहास गर्न सकेन छ र
यो निराकार दूधकोसीका जलशिखामा,
बालबयली खेल्दै
किनारै किनार छचल्कि रहेथ्यो ।
उस्लाई उस्को दैनिकीले जुरूक्क बोक्थ्यो
पहरो समाउँदै खुड्िकला टेकाउँथ्यो र
बगरका बग्रेल्ति सिलसिलाहरूले,
खुर्पे उकालीतिर मणिमार्ग देखाइरहन्थे ।
उस्ले जैसी भञ्ज्याङ्गमा
तोक्मा टेकाएपछि,
सुस्केरा, पसिना, नाम्ला र
खकनहरू !
पारीको हिमाल जस्तै
मुसुक्क मुस्कुराउँथे ।
अनि बल्ल प्रकृतिले,
पर्दा खोल्थ्यो र
हाम्रो भरियाको जगतमा–
जीवन देखिन्थ्यो ।
उस्को जीवन त
खुल्ला पुस्तक जस्तै
उदाङ्ग–उदाङ्ग देखिन्थ्यो ।
उपन्यासका अक्षरहरूले
इन्द्रेणीका सप्तरङ बोकेर
भारी भरियाको
जीवन दृष्टि गरेपछि
तात्विकतामा तत्व देखिन्थ्यो ।
परिदृश्यमा,
जीवनका जीजीविषा र
क्षितिजका सीमानाहरू !
झन्डै उस्तै–उस्तै देखिन्थे ।
त्यो बेला,
दशैंको भारी बोकेर भरियाहरू !
दशैं खोज्न हिडिरहन्थे ।
दशैं बोकेर दशैं खोज्न हिड्नु,
परिहास्यले प्रश्न प्रहार गरिरहन्थ्यो
दशैं बोक्नु र दशैं भोग्नु
पृथक–पृथक थिए परिभाषहरु !
प्रश्न थिए र उत्तर पनि थिए
तर,

अवाक ठडिएको थियो
चुपचाप उभिएको शालिक जस्तै
निश्चल निरुत्तरित
हाम्रो भरिया ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।