भ्रान्त स्वार्थ : ललिता ‘दोषी’ (कविता)

भ्रान्त स्वार्थ : ललिता ‘दोषी’ (कविता)

कपन अनलाइन

काठमाडौं ,असार ७।

 

आऊ पुनः सेता परेवाका उडान शुभारम्भ गरौँ
विगतका आला घाउहरूमा आऊ मलम छरौँ
हिटलरको तानाशाही उखेल्दै प्रत्येक मस्तिष्कबाट
आऊ बुद्धको आदर्श भरौँ
थुप्रै हिँडिएछ अर्थहीन यात्रामा
आऊ अब गन्तव्य भेट्ने यात्रा गरौँ !

भावहीन कुदेका हामी स्वाभिमानको माला गुँथेर हाँसौँ
भ्रान्त स्वार्थलाई टेक्दै राष्ट्रमोहमै बाँचौँ
आऊ टुटेका मनहरूमा लालीगुराँस फुल्न दिऔँ
मसानसरि बस्तीहरूमा अन्नबाली झुल्न दिऔँे !

भोकको ज्वालाले जर्जरित नबनोस् कान्छो अब
रक्ताम्य रगतका घडा नढलून् आँगनमै अब
कोलाहल पार्दै बस्ती नफुलोस् आतङ्क अब
प्रज्वलित अग्निलप्कामा नपरोस् कान्छी अब

रात पिउँदापिउँदै निसास्सिएकालाई
आऊ सुनौलो बिहानी दिऔँ
मातृत्व र भ्रातृत्वका अथाह गहिराइमा
आऊ लुटपुटिऔँ
सोचौँ यति, केवल देश झलमलाओस्
केवल शान्ति मौलाओस्
कर्मठ नेपाली यी हातहरू
केवल राष्ट्रनिर्माणमा जुर्मुराऊन् ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।