बुढानिलकण्ठ नगरपालिकामा “एक वडा एक विशेष योजना” माग गरेका छौ : उप्रमुख रमा राई
कपन अनलाइन
काठमाडौं ,जेष्ठ २३।
बुढानिलकण्ठ नगरपालिकाले निर्माणाधीन योजनाहरुको अनुगमनलाई तीव्रता दिएको छ।बुढानिलकण्ठ नगरपालिकाकी उप प्रमुख रमा राईको नेतृत्वमा रहेको अनुगमन समितिले नगरपालिकाका विभिन्न वडाहरुमा रहेका योजनाहरुको कार्यप्रगति विवरण तथा निर्माण अवस्थाको वारेमा अनुगमन गरेको हो।
गत आर्थिक वर्षमा सम्झौता भएका विभिन्न योजनाहरुको निर्माण प्रगतिका वारेमा जानकारी लिएको अनुगमन समितिले अन्य योजनाहरु निर्माणमा देखिएका समस्याका वारेमा पनि छलफल गरेको छ।
यसै क्रममा उपप्रमुख राई,अनुगमन समितिका सदस्य चन्द्रमान श्रेष्ठ ,राजेन्द्र श्रेष्ठ ,नगरपालिकाका योजना शाखा प्रमुख महेस प्रसाद पाठक र नगरपालिकाका इन्जिनियर बैकुण्ठ भण्डारी लगायतको टोलीले वडा नं १,३,५,१०,११,१२ र १३ का विभिन्न योजनाहरुको अनुगमन गरेको छ।
गत आर्थिक वर्षमा सम्झौता भएका योजनाहरुलाई यसै आर्थिक वर्ष भित्रमा सम्पन्न गर्ने र आगामी वर्षका योजनाहरुका वारेमा पनि छलफल गर्ने नगरपालिकाको योजना अनुसार अनुगमनलाई तीव्रता दिएको उप प्रमुख राईले बताएकी छन।
त्यस्तै आगामी आर्थिक वर्षका लागि नगरवासीहरु संग अनलाइन फर्म मार्फत योजना तथा सुझाव मागिएको जानकारी दिदै उपप्रमुख राईले नगरपालिकाका सबै वडाहरुलाई गत वर्षको बजेटमा नघट्ने गरि सिलिंग बजेट पठाई सकिएको बताएकी छन।
त्यस्तै आगामी वर्षका लागि प्रत्येक वडाहरुलाई कम्तिमा एउटा विशेष योजना पेश गर्नका लागि आग्रह गर्दै उपप्रमुख राईले नगरपालिकाले अवको दिनमा उत्पादन र रोजगार मुखी कार्यक्रममा जोड दिने योजना बनाएको जानकारी दिएकी छन।