किसान / कविता (उपजाति छन्द)
कपन अनलाइन
काठमाडौं जेठ १८ /कृष्णप्रसाद नेपाल
किसान तिम्रो महिमा अपार
रोपेर बाली बिरूवा सपार
बिहान उठ्छौ अनि साॅझ सम्म
लगाई बाली कृषिका सुरम्य ।
न भोक तिर्खा न झरी बतास
न लोभ ज्यादा मनमा हतास
न हुन्छ उब्जा न मनग्य नाफा
न मिल्छ नामै न यशै न गाथा ।
आफू नखाई पनि काम गर्छौ
थकाइ ज्यादा तनले सहन्छौ
छ कष्ट बाधा मनमा उदास
को सुन्छ तिम्रो दिलको पुकार ।
त्यै बादल बन्दछ खुसी चर्चा
त्यै बन्छ चिन्ता हिम हुन्छ वर्षा
त्यै घाम पोष्यै जब मन्दमन्द
त्यै घाम व्यर्थै जगमा प्रचणड ।
व्याधी र कीरा कसरी भगाऊॅ
बाली बिरूवा कसरी जगाऊॅ
ती बिघ्नबाधा कृषिका कति हुन्
चिन्ता तिनैको मनमा अति छन् ।
नमिल्छ मूल्यै न उचित दाम
बिचौलियाको पनि छल्ने काम
हे दूर द्रष्टा हितका भिखारी
हे कर्म योद्धा श्रमका पुजारी ।
तिमी विनाको भन बाॅच्न सक्छ
विना तिमी जीवन धान्न सक्छ
न रङ्क राजा न ठुला मिजासी
न उच्च नेता न धनी विलासी ।
किसान हेप्छौ किन तुच्छ ठानी
इमान बेच्छौ दिल स्वाभिमानी
पेसा छ तिम्रो कृषि कर्म उच्च
छौ धन्य ओहो जीवमा समुच्च ।
हाॅसे तिमी हाॅस्छ धरा मुसुक्क
बाॅचे तिमी झुल्छ धरा झुपुक्क
हे अन्नदाता हे धरा बिराज
हाॅसी हसाऊ दिलको मिठास ।
(कवि अरुणोदय मावि आरुबारीका प्रधानाध्यापक हुन् )