समय बिग्रिएको धुन !
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १७ /लक्ष्मी उप्रेती
यो युगकै समय चित्रकसरि उतार्नु र मैले । के हामी कसैले सोचेको थियौ यस्तो समय आउला भनेर ?
कहिले नसुनेको भाइरस कोरोनाबाट बाँच्न यसरी महिनौ बन्द कोठामा बस्न बाध्य हुन्छौं भन्ने कल्पना गरेका थियौ र ? कोरोनाले निम्त्याएको लकडाउनले हामीलाई यसरी अनुशासन कायम गराउछ भन्ने कहिले लागेको थियो र । अहं पटक्कै थिएन तर संसारका सबै मान्छेहरू सँगसँगै हामी यो यथार्थ भोग्दैछौं ।
ठप्प भएको छ विश्व हरेकको आफ्नो कर्म पनि ठप्पै ठप्प । सिर्जनशील लयहरू वेसुर छताछुल्ल । यो कस्तो खेल तमासाभएर साराका सारालाई कज्याउन सक्ने हं ? अनायासै घर छाडेर क्वारेन्टाइनमा बस्न वाध्य मानिसहरूको आर्तनाद उफ ! कति सुन्नुपर्ने हो थाहा छैन । अझ अस्पतालका आइसोलेसनहरूमा मृत्युको छायाँ टेकेर बसेकाहरू र बिदा भएर माटोमा मिसिनजानु पर्ने हो वा घर जाने भाग्यजुर्ने हो भन्ने सोचेर कति शशंकित हुन्छन् थाहा छैन ।
मान्छे किरा फट्याङग्रा झैँ मृत्युमा होमिरहेछन् । सर्वशक्तिमान भनिने राष्ट्रमा हरेक दिन ट्रकमा लासहरू सामूहिक लैजादै ठूलो खाडलमा राखेर पुर्ने बाध्यता हरे । सुन्दा पनि हृदय कम्पित हुन्छ । बिरामी भएर मृत्युको मुखमा छु भन्ने आभास हुनेहरू केही समय बाँच्नपाइयोस भन्ने चाहना राख्छन् । बाँचेर केहीदिनमा घर फर्कन पाउनेहरू परिवार सँगको साथमा संसार देख्छन् ।
यस अवधिमा न पैसा कमाउने, न घुम्ने कुरा कसैले गरेनन् सायद । यो सानो भाईरसले मान्छेको अहङ्कार तोडेको छ । प्रकृतिको अपमान गर्ने हरेक मान्छेको औकात देखाएर आफ्नोपनको गौरबमा दङ्ग छ । आज मान्छेको दयनीय अवस्थामा ऊ उन्मुक्तिको रंग छरेर रमाइरहेको छ । स्वच्छ हावापानी र सुन्दर स्निग्ध कलेवरको गतिमा प्रकृतिका सारा अवयवहरू सजिएका छन् । आखिरमा मान्छे बाँचुन्जेलको गतिमा अगाडि बढिरहने त रहेछ नि । मृत्यु भएको दिन त सक्किन्छ मान्छेका सारा सपनाहरू ।
हरेक जे जस्तो थियो त्यस्तै होला । सबै जहाँको तहीँ ! यो लकडाउनको माहोलमा सबैको सबैतिर आवाज शून्य छ । मानव चहलपहल विहिन शून्यताको तितो सत्यको सिमामा कैद भएर रोकिएको छ । हरेकको मन अशान्त छ । जहाँको परिवेश पनि समयसँगै सुस्त छ । म त्यही परिवेश भित्र संवेदनाको पिरो रागमा छटपटिएर थुनिएको प्रमाणमा श्वास फेरिरहेछु ।
मानिस कति असुरक्षित छ, विवश र रहस्यमय छ । यति हुँदाहुँदै पनि कति आशावादी छ हरे मान्छे ! लाग्दछ रक्षा शक्तिका असरल्ल स्रोतहरूले हामीहरूमा बाँच्ने इच्छा जागिरहेको छ ।
म बिचलित भएर हार्दिकताका भावमा हराउन पुग्छु पुगिरहन्छु । कुनै कथाको प्लट सोचेर लेखिएका कारुणिक चित्कार जस्तै एकाकी र अपमानित मृत्युका तथ्याङ्कहरूले म उभिरहेको धरातल नै भासिन लागेको आभास भई रहन्छ ।
मानिस जन्मेपछि मर्छ नै तर मृत्यु भएर शरिर खरानीमा टुंगिनु अघि आफन्त, प्रियजनको सामिप्यता पाउँछ । बाँच्नभन्दा मृत्युको शोक मनाउनका लागि बढी मान्छे चाहिने कुरा हामीले देख्दै र भोग्दै पनिआएका छौं । तर यसबेला कथाझैँ भएको छ यो क्रुर शक्तिको छायाँ परेर !
सफा कोटमा देखिने ती भगवान् कसरी सहजभएर आफुलाई बिर्सिदै जीवन रक्षामा खटेका खटेई छन् । बरा उनीहरू न परिवार भनेर बसे न आफुलाई केही होला भनेर भागे । आँसु लुकाउदै घरको गेट बाहिरबाट हेर्नु र कोही पाकेको खाएर बाहिरैबाट परिवारसँग बिदा हुनु परदेशी जस्तो । जीवनको गीतमा मृत्युको लय मिसाएर सेवागर्दैछन्, यो समय तिनीहरूलाई हृदयरत सम्मान गर्न मन लाग्छ ।
जसको कुनै रूप छैन कुनै रंग र आकार छैन त्यस्ताको इतिहास रच्न पटक्कै मन छैन ।
तर जीवन बचाइको असहज अनुभूति र यो युगको नै क्रुरताको पराकाष्ठा बारे नलेखी सुख छैन मलाई । केहीनबोलेर पनि बोलिरहेकी छु र मनका आक्रोश पोखिरहेछु । थाहा छैन कसले सुनोस भनैर पोख्दैछु शब्दहरूको लिस्नो चढेर मेरा मनका यी वहहरू । भन्नुपर्ने कतिकति कुराहरू हुन्छन् तर भन्नआउँदैन । कति कुराहरू चुपचाप चुपचाप रहेर आँखाका अनुहारका भावले धेरै–धैरै बुझाई रहेको हुन्छ । विना आवाजको आवाजभएर एउटा गतिलो दस्तावेज बन्न सक्छ ।
समयको एउटा भयानक इतिहास बन्न सक्छ । यो समयले बिगारेको धुन कोरोनाको कहर र यसले उत्पन्न गराएको लकडाउनमा कति–कति कुराहरू नबोलेर पनि बुझ्नु परेको छ । यहि बुझाई सँगै आफ्नो कुरा छाडेर मृत्युवरण गरिरहेकाहरूको दृश्य चुपचाप स्विकार्नु बाहेक अरू कुन विकल्प ठान्नु र ?
छोराछोरीहरू पखेटा लागे पछि आफ्नो जीवनको गतिलाई अघि बढाउन टाढाटाढा हुन्छन् । यो त्रासदीको समयमा जस्तो दुःखभएपनि छोराछोरीहरू आफ्नो समिप रहुन् भन्ने चाहना सबैमा हुन्छ । छोराछोरीलाई पनि आफ्नो परिवार आफ्नै आमाबुबाको छहारीमा बस्न
पाए खुसी हुने । यो भयावह परिस्थितिमा म आफ्नो देशमा नभए नि भारतको तामिल्नाडु राज्यको चेन्नेईमा छोरा बुहारी र नातिनी सँग छु । तीनजना छोराछोरी तीनतिर छन् ।
जेठी छोरी सविनाआफ्नै परिवारसँग बिराटनगरमा कान्छी छोरी ज्वाई अमेरिकामा । म प्रायः काठमाडौँमा हुन्छु । यदि यो समयमा पनि काठमाडौँमा भएको भए छोराछोरीलाई पनि कति छटपट हुन्थ्यो होला । यसबेला छोरासँग छु टाढा भएका छोरीहरूको चिन्ता हामीले बढ्न पाएका छौं । छोराको परिवार र मसँगै हुनाले छोरीहरू पनि ढुक्क छन् ।
वर्षौदेखि भेट नभएकी अमेरिकामा भएकी छोरी ज्वाइँलाई सम्झेर नमीठो लाग्छ । अमेरिका जस्तो शक्तिशाली राष्ट्रमा संक्रमण स्थितिले अत्तालिन्छु । यहाँपनि सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढदो छ । नेपाल पनि त्यही स्थितिमा जादैछ। छोरो र ज्वाईहरू अफिस जानु हुन्छ । सब भन्दा धेरै त छोराछोरीलाई नै सम्झिने रहेछ । मनमा अनेक कुरा खेलेर रातमा निद्रा कम लाग्छ । छोराका परिवारसँग डेरामा सुविधाले बसेकी छु, काम गर्ने निकै वाहाना छन् । पढनु लेख्नु ल्यापटपमा केही बाँकी रहेका काम गर्नु पेन्टिङ गर्नु नातिनीसँग रमाइलो गर्नु कहिले कहि भान्साको केही काम गरे जस्तो गर्नु आदी आदी। तर यो परिस्थितिमा सिर्जित लकडाउनका कारण किनकिन एक एक छिन्दैछन् मेरो मनका तारहरू ।
बन्द कोठाभित्रको दुनियाँ त साँच्चै यातनाको सिविर नै हुने रैछ । आफ्नो देश आफ्नो घर र परदेशको डेरामा फरक सन्दर्भको विचरण गर्छु । काठमाडौंमा आफ्नो घरको छत सबै खुला फराकिलो वरिपरिको दृश्य आँखामा अटाउनजेल हेर्ने स्वतन्त्र वातावरण । छ्याङ्ग खुलेको दिनमा छतबाट उत्तरतिर आखा लगाउदा हिमाली श्रृङ्खलाका सेताम्मे टाकुराको मनमोहक दृश्य।
स्निग्ध निलो र शान्त आकाश र आकार बदलिँरहने बादलका मनोरम आकृतिकाधुनहरू । घर भूईको आगन अगाडिको सानो खालि ठाउँ । त्यहाँ भएका अलिअलि फूलका बोट बिरूबामा फुलिरहेका फूल र तीनको स्पर्शमा आनन्दले तरङ्गितहुने मन अनुभूतिमा अटाएर कल्पिएकी भने चै छु । पर्खाल भित्रआफ्नो घर वरिपरिका साराका सारा वस्तुहरूमा आफ्नै साम्राज्य । आफ्ना घरमा डेरा गरि बस्ने मान्छेहरूको आत्मियताको एक अंश छाडेर छोराका परिवारको सान्निध्यमा रमाएर बसेकी छु, एउटा सानो फ्लाटको बन्दीगृहमा । जहाँ अलिअलि देखिएका बगैँचा विभिन्न कलेबरका फूलको लालित्यमा निमग्न छन्, जस्को सान्निध्यता नपाउँदा मलाई कस्तो कस्तो नरमाइलो लागिरहेछ ।
आफु रहेको फ्लाटको कम्पाउन्ड भित्र थुप्रै एपाटमेन्टहरू भएको कोलेनीको पार्कमा हुने सानानानी देखि ठूला ठूला मान्छेको चहलपहलहो हल्ला शून्य छ ।
अर्थात् सबै आवाज विहिन गतिविहिन भएर निदाएका छन् जस्तो। मानिसको दिनचर्या निकै बदलिएको छ अरू सबै उस्तै उस्तै । सामाजिक दूरीमा रहेर असामाजीकता हुन वाध्यभएको छ मानिस । मोसिन बनेर चलायमान हुनखोज्न यान्त्रिक मानिसको गति नै बन्दी शिविरमा तमासे बनेको आफैंले हेर्ने समय पनि आउदो रहेछ बरै ।
हरेक ठाउँबाट देखिने कति–कति गरिब मजदुरको जीवन आफ्ना परिवारसँग सान्निध्यताको लोभले कठोर यात्रामा छन् भने कति भोको पेटको आगोले जलिरहेछन् । यो जटिल गन्तव्यको यस यात्रामा बन्दको मारमा परेर सडक गल्ली गल्छिडाहरूको कहालि लाग्दो सपनाहरू कति हेर्नु पर्ने हो थाहा छैन ।
समयको कलेबर दिनमा उज्यालो हुने रातमा अँध्यारो हुने उस्तै गतिको प्रवाह छ । हावाले श्वास फेर्न दिएकै छ । तर यो बन्द कोठाभित्र त कहिलेकाही अझ भनौ प्राविधिक कारणले विधुत सेवा रोकीयो भने संसारमा आफुले बाहिर देखिने अलिकति दृष्य र केही मानिस बाहेक अरू होलान र भने जस्तै हुनेरैछ ।
अहो ! के अब फर्किएला त जीवन लय पुरानै सुरमा ?किन यस्तो अनुभूति आइरहन्छ ? यो अट्टहासमा अलिकति चेतनाको रंग भरेर म सोचिरहेछु एक हरफ जीवनका गीत । थाहा छैन मैले यस बेलागीत लेख्न सके भने समय चित्र कस्तो हुन्छ होला । हुन त कोरोना र लकडाउनमा पनि ज्ञानको ढोका हामी आफै खोल्न सक्छौं । यो हाम्रा ऋषिमुनिहरूले हामीलाई दिएको चेतनाहो सायद ।