धोको (कविता)
कपन अनलाइन
काठमाडौं, बैशाख ३०/सूर्य चापागाईं (धनकुटा)
मानचित्रमा
टुक्रा—टुक्रा काटिएको
मेरो प्यारो देश
राखेर टेबलमा
सकिएन मनाउन जन्मदिन
खोज्दै छु नसा—नसामा
हिमवत्खण्डको नेपाल
इतिहासकै स्वाधीन मेरो देश
बगाएर आफ्नै हिमालको आँसु
बिदेसिएकाहरूको पसिनाको वास्ना
यताबाट अन्तै बसाईं सरिसक्ला !
झिसमिसेमै गाउँ छोडेर परदेसिएको
फर्किँदामा मेरो गाउँ
बन्नु हुँदैन साँढे जुध्ने मैदान ।
मेचीभन्दा पर
महाकालीभन्दा अझै परसम्म
देशको प्राण गीतहरूमा गुञ्जिइरहँदा
छिमेकीको बुइ चढेर कोही
मेरै भित्तो खन्ने दाउमा छ ।
आठ दशक अघिको रसीद
भेटिएछ देशको प्रमाण
पानी नपिई लडेको इतिहास त ज्यूँदै छ
त्यै इतिहास पढेको म
हिजो पनि छताछुल्ल
मेलम्ची सिँचाउने सपना
सिरान लाएरै सुतेँ ।
उता जान्छु
सियो पनि कहाँबाट ल्याइस् ? भन्छ
उताबाट हात्ती पनि
बेरोकटोक यता छिर्छ
उता अत्याधुनिकता
यता घँगारूका लौराको प्रतिकार
मेरो इतिहासको खुकुरी
किताबमा नाइफ बन्यो
मेरो देशमा पानीमात्रै सर्दैन
रातारात दशगजा पनि सर्छ
बेलुका बास बस्न आएको छिमेकी
बिहान घरै कब्जा गर्छ
अनन्तदेखि स्वतन्त्र मेरो देश
कसरी घुँडा टेक्न सक्छ ?
ए ! मेरो देशको स्वाभिमान उठ्नु पर्छ
टिष्टा—काङ्गडाको इतिहास ब्युँझिनु पर्छ
अझै बाँकी छ नेपाली रगत
बाँकी छ पूर्खाको शान र बलिदान
चन्द्र—सूर्य साक्षी राखेर भन्छु
पशुपतिनाथको आँगनबाट भन्छु
शिवको सत्य बाँकी छ
पुगेर रामेश्वरम्
शिवको लङ्का चिहाउन मन छ
नून किन्न ताक्लाकोट जाँदा
मानसरोवर घुमेर फर्किने धोको छ
इतिहास सिरानीमा राखेर सुतेको म
रक्तिम आभासँगै
देश ब्युँझिएको हेर्ने धोको छ ।