पृथ्वी शान्तिः
कपन अनलाइन
काठमाडौं ,बैशाख २२ /गोविन्दशरण उपाध्याय पिएचडी
पृथ्वी शान्तिः यो ऋग्वेदको मन्त्र हो । कोरोनाले मान्छेहरू रोएको बेला म यो मन्त्र सम्झिन्दै छु । मान्छे डराएका छन् ।म पनि डर मुक्त छैन । पृथ्वी डराउँन्न किनभने ऊ प्रकृति हो । विश्वरूप की आधार शक्ति हो । जब मान्छे डराउँछ, उसलाई धेरै मन्त्रहरू स्मरण हुन्छन् । मृत्युको डरले ऊ आध्यात्मिक बन्छ ।
साढेसात अरब मान्छेको जीवन सङ्कटमा छ । यो तीतोसत्य मैले स्वीकार गरेको छु । तर बुद्धिमान मानिएको पशु अर्थात् मान्छेका कारण पृथ्वी सबैभन्दा अशान्त छ – यो सत्यलाई नकार्न मिल्दैन ।
आफु मर्ने डरले मान्छेले लकडाउन स्वीकार गरेको हो, पृथ्वी वा पृथ्वीको आश्रयमा बाँच्ने अरू प्राणीहरूको मायाले होइन । आज पनि मान्छे ती सबै मान्छे बाहेकका प्राणिको हत्या गर्न तम्तयार हुन्छ यदि उसको प्राणले मान्छे बाँच्ने सुनिश्चित हुन्छ भने ! मान्छेलाई लागेको कोरोनाको मूल्य आफ्नो प्राण दिएर मुसा, बाँदर, खरायो, सुँगुरले तिर्न थालिसकेका छन् । मान्छे आफु बाँच्न जे पनि गर्न सक्छ । तथाकथित २१ सौं शताब्दीको मान्छेको स्वार्थ निरन्तर बढिरहेको छ ।
आज लकडाउनको ३९ दिन हो ।
मेरो घर नजिकैबाट बग्ने रुद्रमतिको पानी सफा बग्न थालेको छ । काठमान्डौ उपत्यका हाँस्न थालेको छ । भारतको गंगा नदी ३० देखि ५०% सफा भएको छ । अमेरिकी भूगर्भ विज्ञान संस्थाका भू–गर्भविद् र डेनमार्कको भू–गर्भविद्ले पृथ्वीको सतह ५०% शान्त भएको घोषणा गरेका छन् ।
च्यातिएको ओजोन तह टमक्क भरिएको छ । मान्छे रोएको छ तर वातावरण र पर्यावरण हाँसेको छ । धेरैधेरै महामारीहरू आए र गए तर मान्छेले प्रकृति उपर गरेको बलत्कारको कुनै गन्ति गरिएको छैन ।
मान्छेले प्रकृति उपर जस्तो अपराध गरे पनि आफैलाई क्षमा गर्छ ।
“माता भूमि पुत्रोहं पृथिव्या” (पृथ्वी मेरी आमा हुन्, म पृथ्वीको सन्तान हुँ) भन्ने वैदिक उद्घोष हामी मान्छेले बिर्सेका छौँ । मान्छेले पृथ्वीबाट सबै सुख लुटेर लिएको छ तर दिनका लागि उसँग प्रदुषणमात्र छ ।
पूर्खाहरूले रोपेर, हुर्काएर विवाह गरिदिएका वरपिपल त ती वरपिपल ओगटेको चौपारी बुल्डोजर लगाएर भत्काउने मान्छेसँग कोरोनासँग डराउने कुनै हक छैन । पोखरीहरू पुरेर पानीका रिर्जवोयरहरू मास्ने मान्छे कोरोनाबाट त्रसित हुँदा मन दुखाउनु पर्छ कि पर्दैन ? म विचार गरिरहेको छु ।
जङ्गलहरू फाँडेर कंक्रिटले शहर भर्ने, सुरक्षाका लागि भनेर हाड्रोजन बम बनाउने, आफ्नो पेट भर्नका लागि समुद्रको कित्ताकाट गर्ने मान्छेले अब फेरी पृथ्वीलाई माताका रूपमा स्वीकार गर्ने बाटो कोरोनाले खोलिदिएको छ । गरीब र धनि दुवैका लागि प्रकृतिले विनित बन्न अभिप्रेरित गरिदिएको छ । कोरोनाले धनि र गरीबका लागि एकै प्रकारको पर्यावरण सुनिश्चित गरिदिएको छ ।
प्रकृतिले मान्छेसँग डराएर लुक्ने बाहेक अन्य विकल्प छोडेको छैन । मान्छेले घरभित्र बसेर पृथ्वी उपर आफ्नो जातिले गरेको अत्याचार, दुराचार तथा बलत्कारको पश्चाताप गर्ने मौका पाएको छ ।
आज मानव जातिले भूत, वर्तमान र भविष्यका लागि सबैको कल्याण गर्ने पृथ्वीप्रति अन्याय समाप्त पार्न सोच्ने र प्रायश्चित गर्ने अवसर प्राप्त गरेको छ ।
अनि मात्र प्राणि मात्रको कल्याण हुने छ र ती प्राणि भित्र मान्छे पनि पर्ने छन्, स्वास्थ्य, सुखी र खुसी मान्छे !
अनि, हरेक मान्छे राजा पृथुलेझैं पृथ्वी रूपी माताबाट इच्छित शक्ति आर्जन गर्ने छ । त्यस बखत पृथ्वी शान्त हुनेछिन्, रोग रहित हुनेछिन् र आफ्नो काखमा हुर्कने हरेक प्राणी सुखी देखेर खुसी हुनेछन् ।
महामारी विरुद्ध लक– डाउनको मानसिक तनावरहित भएर पालन गरौँ, मानवीय अस्तित्वका विरुद्ध प्रवल रूपमा उदाएको कोरोनालाई पराजित गर्न सामूहिक “एकान्तवास” यज्ञ गरौँ र आज पृथ्वीले प्राप्त गरेको वातावरणीय स्वच्छता स्थापित गर्ने र स्थायित्व दिनेतिर चिन्तन, मनन गरौँ ।
वैदिक ऋषिहरूले देखाएको बाटो नै सत्य रहेछ भन्ने अनुभूत गरौँ । आफ्नो सभ्यता र संस्कृतिप्रति गर्व गरौँ । कसैको पनि आलोचना र प्रत्यालोचना नगरी सहकार्य गरौँ र सङ्कटबाट मुक्तिका लागि प्रयत्नशील रहौं । आत्मबल सधैं उच्च रहोस्, मनमा करूणा र सर्वजन हितायको भावनाले सधैं भर्ने प्रयत्न गरौँ ।
अनि, हामी पनि हाँसौं, पृथ्वी पनि शान्त भएर मुसुक्क हाँसुन् ।सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक