कोरोना प्रकोपका बीच सहयोगमा सक्रिय नेप्लिज तेक्वान्दो एकेडेमी
कपन अनलाइन
काठमाडौँ, बैशाख १४ । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले कोरोना भाइरस (कोभिड १९) का कारण कठिनाइमा परेका दैनिक ज्यालादारी गरी गुजारा चलाउदै आएका मजदुर, अपाङ्ग, एकल महिला, गरिब र विपन्नहरुलाई खाद्यान्न लगायतको सामग्री सहयोग गर्दै आएको छ । कोरोना त्रासका बाबुजुत पनि जोखिम मोलेर लकडाउन सुरु भएयता विभिन्न चरणमा गरी करिब एक सय भन्दा बढी परिवारलाई राहत वितरण गरिसकेको तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका एनटीएका अध्यक्ष अशोक खड्काले कपन अनलाइनलाइ जानकारी गराए ।
खड्काका अनुसार कागेश्वरी मनोहरा नगरपालिकाका वडा १, २, ४, ५, ६, ७ र ९, ललितपुर महानगरपालिकामा ४ परिवार तथा गोकर्णेश्वर नगरपालिकामा १ परिवारलाई खाद्यान्न सहयोग गरेको पनि बताए । त्यस्तै एनटीएले कागेश्वरी मनोहरा नगरपालिका वडा १ र २ का स्वास्थ्य चौकी, थली प्रहरी चौकी र कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रहरीलाइ स्वास्थ्य सामाग्री पनि उपलब्ध गराएको बताउदै कागेश्वरी मनोहरा नगरपालिका बाट संचालित एम्बुलेन्स चालकलाइ पीपि इ समेत प्रदान गरिएको बताए। उनले नगरपालिकाले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराए पनि आर्थिक अवस्थाका कारण अस्पतालमा उपचार गराउनको लागि आर्थिक सहयोग पनि गरेको बताए । साथै उनले अनलाइन तेक्वान्दो क्लास समेत सुरु गरेको र प्रत्येक दिन बिहान ७ :५५ देखि ९ बजे सम्म क्लास सुरु गरिएको पनि बताए ।
एनटिएले कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ६ मा रहेको बालआश्रम, सुन्दरीजलमा रहेको बालगृह, गागलफेदिमा रहेको वृद्धाश्रमलाई पनि राहत सामग्री प्रदान गरेको बताए। बृद्धाश्रमलाई नेपाल तेक्वान्दो संघका केन्द्रिय अध्यक्ष प्रकाशशम्शेर राणाको सहयोगमा खाद्यान्न प्रदान गरिएको पनि खड्काले जानकारी दिए ।खड्काले राहत वितरणका क्रममा विना मास्क र पञ्जामा भेटिएका सुरक्षाकर्मीलाई पनि मास्क र पञ्जा उपलब्ध गराएको र अहिले सम्म मिलाएर कुल २ लाख ७ हजार रुपैयाँको राहत वितरण गरिएको उनले जानकारी दिए ।स्वदेशी तथा विदेशी शुभचिन्तकको आर्थिक सहयोगमा राहत वितरण सम्भव भएको बताउने उनले सहयोगी दाताहरुलाई धन्यबाद दिदै आपतको बेला एकले अर्को लाइ सहयोग गर्नु पर्ने बताए ।