आठ मुक्तक : नवराज न्यौपाने ‘मौन’
कपन अनलाइन
काठमाडौं ,चैत १३/नवराज न्यौपाने ‘मौन’
एक:वाध्यता
युधिष्ठिरको वाणी सुनी ढल्यो भीष्म आज
कोरोनाको त्रास बोकी बल्यो ग्रीष्म आज
बाध्यताले गोकुल छाडी टाढा जानुपर्दा
राधा छाडी रुक्मिणिमा भुल्यो कृष्ण आज
दुई:वैंश
माया साँच्ने मुटुभित्र व्यथा धेरै बढेपछि
पिरतिको गीत सुन्दै उपन्यास पढेपछि
बाल्यकालको माया हाम्रो भुली गयौ निष्ठुरीले
वेग धान्न कहाँ सक्थ्यौ बैंश धेरै चढेपछि
तीन:नियति
तिम्रै आड भरोसामा म गाउँबाट शहर झरेको थिएँ
दु:खका दिन छिट्टै सकिएलान् भनी आशा गरेको थिएँ
अफशोच रातो बाकसमा बन्द भएर पो फर्कियौ तिमी
तिम्रो निधनको खबर सुनेर म हप्तौं मुर्च्छा परेको थिएँ
चार:कोरोना त्रास
साथीसित हात मिलाउन र अंकमाल गर्न डर लाग्छ
आफ्नो भूमिको साँध र सिमाना तर्न डर लाग्छ
कोरोनाको त्रासले यतिसम्मा भयभीत बनिएछ कि
जीवनसाथीलाई रुघा लाग्दा पनि नजिक पर्न डर लाग्छ
पाँच:जिन्दगी
पीडा लुकाउन सक्नु पनि एउटा कला हो
दु:ख सुख सबै जिन्दगीको श्रीङ्खला हो
लुकेको पाटो जिन्दगीको बुझ्न सकिन्न यहाँ
आफ्नै मान्छे शत्रु बन्छ यो दिलको मामला हो
छ :प्रतीक्षा
जिन्दगी जिउने क्रममा संघर्षको कथा कसिलो हुन्छ
सफलताले पाइला चुमेपछि बल्ल मुहार हँसिलो हुन्छ
धर्मशास्त्रलाई सधैं अर्थशास्त्रले जितिरहेको यो बेला
मायालुले मन नमोडिदिए कुनै दिन जिन्दगी रसिलो हुन्छ
सात:सन्तति
साँचेर आज ममता दिलमाझ बस्छौ
बुझ्नै छ हेर सपना सुरताल कस्छौ
बाबा र आज जननी नभुली बढे है
पाइन्न काम सजिलै कुन देश पस्छौ ?
आठ:अभिलाषा
मनको मझेरीमा जिन्दगीको जलप लाउन पाए कस्तो हुन्थ्यो
सुन्दर संसारमा पिरतिको अलख गाउँन पाए कस्तो हुन्थ्यो
‘वसुधैव कुटुम्बकम’को नारा सर्वत्र गुन्जाएर यहाँ
उर्ध्वगामी कदमहरु पटक पटक उठाउन पाए कस्तो हुन्थ्यो
–चुँदी ,तनहुँ (हाल्:-मातातीर्थ काठमाडौं )