नागरिकता !

नागरिकता !

कपन अनलाइन

काठमाडौं, फागुन २५/ गीता सापकोटा

छोरो करिब ८ वर्षको हुँदो हो । उनीहरुको वैमनस्य निकै बढ्दै गएको थियो । तँ नभए पनि चलाउँछु मेरो घर । भन्दै निकै पटक जितबहादुरले उसकीश्रीमतीसँग घमण्ड गरिरहन्थ्यो । छोरोको बाबु बन्ने अधिकार त पाएको थियो तर जिम्मेवारी उसको जिम्मामा आएको उसले कहिल्यै महसुस नगरी छोरो हुर्किदैथियो । यस्तो असहयोगी लोग्नेको करकस बोली पनि उसले दिनरात सुन्नु परेपछि चमेली निकै दिक्क भएकी थिई । उसले पाखुरी बजारेर खानु परेपछि कचकच सहेर किन शरणार्थी बन्नू, विकल्प त सोच्नै पर्ने भयो भन्ने सोच्न थालेकी थिई ।
जितबहादुरको परिवार त्यति ठुलो थिएन । ऊ, उसकीश्रीमती र एक छोरो मात्र थिए । तिनजनाको परिवारमा पनि छोरो करिब ७ वर्षकै मात्र हँुदा उनीहरुका बिचमा निकै खटपट हुनथाल्यो । हुन त चमेली र जितबहादुरबिच सधैँ जसो झगडा भएकै हुन्थ्यो । उनीहरु दुबै जना छोरोलाई विद्यालयमा पठाएर दिनभरि काममा जान्थ्ये । चमेली गाउँका महाजनकहाँ गएर भाँडा माज्ने र लुगा धुने काम गर्थी । जीतबहादुर सिकर्मी थियो । ऊ ठेकदारले जताजता काममा लैजान्थ्यो त्यतै त्यतै जान्थ्यो । दिनभरि काममा व्यस्त भए पनि साँझपख जाँड रक्सी र चुरोट खाएर उसले कमाएको पैसा बचाउन सक्दैन थियो । जेनतेन गरेर चमेलीले घरको गुजारा चलाएकी थिई ।
मनभरि पीडा बोकेर उसले आफ्नो गुजारा गर्दै थिई । उसको लोग्नेमा कुनै परिवर्तन आउने संकेत थिएन । बरु झन् झन् बढ्दै थियो । चमेलीलाई आफ्नो जिन्दगी कसरी चलाउने भनेर निकै विकल्प सोच्न थालेकी थिई । मैले यो घरमा यसरी नै बसेँ भने म कहिल्यै सन्तुष्टि बन्ने छैन न त मैले लोग्नेलाई खुसी बनाउन सक्नेछु । अब यहाँबाट निस्कनै पर्छ भन्ने निर्णयमा पुगी ऊ ।
चमेलीले भोलि पल्टै आफ्नो ढुङ्ग्री बेचेर अलिकति पैसा जम्मा गरी । बजारबाट छोरोलाई दुई जोर लुगा र एक जोर जुत्ता अनि एउटा खेल्ने गाडी पनि किनेर ल्याइदिई । छोरो सुरवीरले कहिल्यै यस्ता खेल्ने कुरा पाएकै थिएन । ऊ आमाले ल्याइदिएको गाडी देखेर एकछिन त छक्क पर्यो । त्यसरात मिठो खाना पकाएर छोरालाई खुवाइ र नयाँ लुगा लगाइदिएर छोरोलाई फर्खाइफर्काई हेर्न थाली चमेली । आमाको यस्तो अनौठो व्यवहार देखेर सुरवीर छक्क पर्यो र आमालाई प्रश्न गर्यो आमा आज किन हजुर मलाई निक्कै माया गर्दै हुनुहुन्छ ? यति भन्दै ऊ आफ्नो नयाँ गाडी खेल्न थाल्यो । बेलाबेला आमाछेउ आएर आमालाई चुप्पा खान्थ्यो । आमा गहभरि आसु पारेर मुन्टो लुकाएर मजेत्राले आँसु पुस्थी । रात निकै बितेपछि आमाछोरासँगै सुते । त्यस रात पनि लोग्ने रक्सी खाएर नै आएको रहेछ । लोग्नेको चाला देखेर दिक्क भइसकेकी चमेलीले लोग्ने आएको चाल पाएर ढोका खोलीदिई र सधैँ झैँ खाना खानलाई बोलाई । उसले के के फतफताउँदै खाना खान थाल्यो । उसका कुरामा वेवस्ता गर्दै चमेली खाटमा पल्टी ।
चमेलीले भोलि पल्ट बिहानै बालक छोरो छोडेर सहर जाने निधो गरिसकेकी थिई । लोग्नेको चाला देख्दा केही कुरा गरुँ जस्तो उसलाई लागेन त्यसैले मनमा धेरै कुरा खेलाउँदै ऊ सुती ।
बिहान सबेरै उठेर चमेलीले चिया बसाली । खाना पकाई र लोग्ने र छोरोलाई खाना दिएर आफूले पनि खाई । त्यसदिन पनि छोरोलाई स्कुल पठाई र लोग्नेलाई भनी “आज तिमी कतै नजाऊ, यदि गइहाल्यौ भने पनि चाडै आऊ । म सुबेदारको सामान लिन सहर जानुछ । छोरा स्कुलबाट आउँदा तिमी घरमा हुनुपर्छ ।” जितबहादुरले केही जवाफ दिएन । उसले समर्थन गरेको कुरामा चमेली ढुक्क भई र हतार हतार ठिक परेर ऊ केही आफ्ना सामान झोलामा हालेर घरबाट बाहिर निस्की ।
सहरमा गएर चमेली एउटा होटलमा बसी । दुई चार दिन त उसले दिउँसो यताउता काम खोज्दै बेलुका त्यही होटलको कोठामा आएर बसी । ढुङग्री बेचेको पैसा पनि धेरै बाँकी थिएन । करिब ५⁄६ दिन पछि उसले एउटा मेन पावरमा पियनको काम पाई । ऊ होटलबाट नै काममा निक्कन थाली । २२ दिनजति होटलमा बसेपछि उसले एउटा सानो कोठा लिएर बस्न थाली ।
बिहान ७ बजेतिरै खाना खाएर अफिसको काममा जाने, बेलुका पाँच बजे आउने उसको दिन चर्चा भयो । अफिसमा थुप्रै मान्छेको आवतजावत हुन्थ्यो । सरसफाइ र चिया पानीको काम ऊ एक्लैले गर्थी ।
चमेलीले काम गर्ने मेनपावरमा धेरै कर्मचारीहरु थिए । सबै मिलनसार थिए । पाले दाइको मिजासिलोपन सबैलाई मन पथ्र्यो ।
एकदिन मेनपावरले सबै कर्मचारीलाई वनभोज लैजाने भयो । वनभोजमा चमेली पनि निकै ठाँटिएर गएकी थिई । उसलाई नयाँ ठाउँ भएर पनि कुनै नौलो परिवेश लागेन । सबै मायालु मान्छे र सभ्य व्यवहारले उसलाई भुलाएकै थियो । उसले छा्ेरो के गर्दै होला ? मलाई खोज्यो कि ? सम्झेर रोयो कि ? जस्ता कुरा पनि सम्झिन भ्याएकी थिइन । उसलाई सहरमा नयाँ जीवनको सुरुवात गर्नुथियो । ऊ निकै व्यस्त भएकी थिई ।
वनभोज कार्यक्रमले सबै कर्मचारीहरु पारिवारिक बन्ने अवसर पाएछन् । सबै खुसी भएर भोलिपल्टदेखि काम गर्न थाले । चमेली र पालेदाइ एकअर्कामा तितामिठा गफ गर्थे । उनीहरुलाई वनभोज कार्यक्रमले कुरा गर्न सहज बनाएको थियो । बिस्तारै उनीहरु एक अर्काको पारिवारिक जीवन सम्बन्धी कुराकानी गर्न थाले । पाले दाइले पनि ३ वर्ष अगाडि नै श्रीमती मरेर एकल जीवन बिताइरहेका रहेछन् । यस कुराले चमेलीको मनमा पालेदाइप्रति माया पलाएर आयो । चमेलीको कुराले पालेदाइलाई पनि चमेलीप्रति भावुक बनायो । उनीहरु एउटै अपिसमा काम गर्ने कर्मचारी मात्र भएनन्, एकअर्काका भावना बुझ्ने असल साथी पनि बने ।
एकदिन पालेदाइले आफ्नो जन्मदिनको अवसर पारेर चमेलीलाई नजिकैको होटलमा चिया नास्ता खान लग्यो । त्यहाँ उसले चमेलीसँग धेरै नै आफ्ना जीवनका कथाकहानी भन्यो । चमेलीले धेरै कुरा सुनी मात्र रही । पालेदाइका कुराले चमेलीलाई ऊप्रति आफ्नो निकटता बढ्दै गएको अनुभूत हुन थाल्यो । उसले पनि बिस्तारै आफ्ना विगतका धेरै कुरा भन्न थाली । उनीहरु एकअर्काका कुरा सुनेर कहिले भावुक बन्थे त कहिले प्रेमभाव साट्न खोज्थे ।
अफिसको कार्यमा दुबै जना सधैँ सक्रिय हुन्थ्ये । शनिबारको बिदामा भने उनीहरु कतै घुम्न जान,े कहिले फिल्म हेर्न जाने गर्न थाले । उनीहरुको प्रेम निकै बढ्दै गयो । एकदिन पालेदाइले चमेलीलाई प्रेम प्रस्ताव राख्यो । चमेलीले मौन रुपमा पालेदाइको प्रेम प्रस्ताव स्वीकार गरी ।
करिब दुई महिनाको प्रेमपछि उनीहरुले विवाह नै गरे । पाले दाइका दुई सन्तान रहेछन् । तर ठुला भइसकेकाले आफ्ना आफ्ना बाटा लागिसकेका थिए ।
उनीहरु प्रेमपूर्वक जीवन बिताउन थाले । अब उनीहरु एउटै अपिसमा काम गर्नुभन्दा फरक फरक अपिसमा काम गर्न रुचाउन थाले । एकदिन पालेदाइले चमेलीलाई भन्यो “अब तिमी स्कुलमा पियनको जागिर खाऊ ।” चमेलीले पनि सहजै स्वीकार गरी र उनीहरु फरकफरक अपिसमा जागिर खान थाले ।
समय बितेको पत्तै भएन । करिब १० वर्षभित्रमा उनीहरुले राम्रै पैसा कमाए । पालेदाइको अघिको वचत पनि केही रहेछ । गाउँको घरबारी पनि बेचे र सहरमा बस्ने विचार गरे । उनीहरुको जीवन शैली निकै सुन्दर थियो । दिनचर्या त सधैँको झैँ थियो तर उनीहरु निकै खुसी थिए ।
सहरको भीडमा व्यस्त जीवन बिताउँदा चमेली विगततिर फर्किन सकेकी थिइन तर अब भने चमेलीलाई आफ्नो एक मात्र छोरो प्रापक कत्रो भयो होला । उसका बाबुले कस्तो शिक्षा दिए होलान् । पक्कै सौतेनी ल्याए होलान् । त्यसले कस्तो व्यवहार गर्दि हो भन्ने तर्कना मनमा उब्जन्थे । ऊ आफ्नो छोरा सम्झेर एक्लै एक्लै रुन्थी पनि ।
चमेलीले स्कुलमा पियनको जागिर खाएर होला, बालबच्चालाई असाध्यै माया गर्थिन् । ३ कक्षामा पढ्ने छोरा चटक्क छोडेर सहर पसेकी चमेलीले अहिले १० त पढिसक्यो होला भन्दै ११, १२ कक्षामा पढ्ने केटाहरु हेरेर आफ्नो छोराको अनुहार खोज्दथी । कहिले काम गर्दा गर्दै गहभरि आँसु पनि पार्थी अरु काम गर्ने दिदीहरुसँग आफ्ना पीडा पोख्थी ।
चमेलीले आफ्ना् विगतका व्यथा दोस्रो लोग्नेलाई धेरै नगरे पनि छोरोको कुरा निकै गर्थी । “गाउँमा गएर छोरोलाई ल्याउँछौ भन्ने ल्याऊ । तिम्रो सन्तान, ल्याउँछौँ भने मेरो भन्नू केही छैन” भन्दै लोग्नेले त अनुमति दिएको थियो तर उसलाई आफ्नो छोराको सम्झना मात्र आइरहन्थ्यो । कुन गाउँमा, कहाँ छोरो छोडेर निस्केकी थिई ? उसले विगत त्यति सम्झिन सक्दिन थिई । “कुन गाउँलाई आफ्नो गाउँ भन्दै जाऊँ म कहाँबाट यहाँ आएर नयाँ जीवन सुरु गर्न थाले ? मलाई केही थाहा छैन । मेरो यो पुर्नजन्म जस्तो लाग्छ मलाई भन्दै लोग्नेलाई भन्थी ।”
यसरी नै चमेलीका दिन बित्दै थिए । करिब ४ वर्षपछि पल्लो घरको एउटा कोठामा एक्लै एउटा कलिलो केटो डेरा गरी बस्न थाल्यो । केही दिनदेखि त्यस केटाप्रति चमेलीका नजर पर्न थालेको थिए । चम्ेलीले हेरेकै बखत त्यस केटाले पनि चमेली पट्टी हेरेका्े देख्थी ।
“सत्र वर्षे ठिटो हुँदो हो त्यो केटा, यसरी मलाई हेर्छ ।” गाउँबाट भर्खर पढ्न आएको, त्यसै झ्यालबाट हेर्न मन लागेर हेरेको बेला मेरो आँखा जुधेर दृष्टिभ्रम भएको होला भन्ने अड्कल गर्थी ।
फेरि भोलिपल्ट हेर्थी, पर्सिपल्ट हेर्थी, केटो यतै फर्केको देख्थी । उसलाई लाग्थ्यो “हैन, मैले पनि उतै हेरेको नभए उसका आँखामा मेरा आँखा जुध्ने् थिएन । म बुढी पनि उस्तै । यस्ता कुरा लोग्नेलाई भनेँ भने त कस्तो बेश्या रहिछ भन्न बेर छैन । म के भएकी होला ।” उसलाई आफैप्रति लाज लाग्न थाल्यो । अनि उसले त्यता पट्टिको झ्याल बन्द गरेर बस्न थाली ।
दिनभर त अफिसको काममा जान्थी । बिहान बेलुका कोठामा छिर्नासाथ त्यस केटाको याद आउँथ्यो उसलाई । त्यो केटोमै आफ्नो छोरोको रुप देख्थी । “मेरो छोरो पनि अहिले १७ वर्षकै भयो । मैले मौका दिइएको भए अहिले यसरी नै सहरमा आएर पढेर आफ्नो भविष्यको रेखा कोर्ने हुन्थ्यो होला । अहिले के गर्दो हो ?” उसका दिमागमा यस्ता तर्कना आउँथे ।
कहिलेकाहीँ खाना पकाउँदै गर्दा आफ्नो छोरोको चेहरा सम्झन्थी “मेरो छोरोको दाहिने गालामा ठुलो कोठी थियो । उसका अगाडिका दाँत छिचरा परेका थिए । नाक निकै चुच्चो थियो अनि आँखा मेरै जस्ता लामा लामा थिए । अरु केही नमिले पनि हाँसो र आँखा त मेरो र छोरोको ठ्याक्कै मिल्थ्यो ।” उसलाई फेरि झ्याल खोलेर त्यस केटालाई हेर्ने इच्छा हुन थाल्यो ।
भोलिपल्टदेखि बिहान एकपटक सधैँ जसो उसले झ्याल खोलेर हेरी, उताको कोठाको झयाल खोलेको पाइन । चमेलीलाई निकै छट्पटी भयो । “हैन, बिहान पढ्न जान्छन् क्यार । अब ।साँझतिर झ्याल खोल्नुपर्यो भन्ने लाग्यो ।”
उसले साँझपख जहिले पनि त्यतैतिरको झ्याल खुल्ला गरेर खाना पकाउन थाली । बेलाबेला उता हेर्दै पनि गर्थी । केटोले पनि साँझमा झ्याल खोलेको पाई चमेलीले । उसको मनमा ढुक्क भयो । केही दिनसम्म ह्ेराहेर गरेपछि एकदिन चमेलीले त्यस युवकसँग चिनजान गरी । “गाउँ रामपुर हो आन्टी पढ्नलाई यहाँ आएको हुँ” भन्ने जवाफ पाई । बोल्दै गर्दा उसले युवकको हुलिया नियाली । कताकता आफ्नो छोरो प्रापकसँग अनुहार मिलेको जस्तो लाग्यो उसलाई । नामै पनि सोध्ने आँट गरी तर उसले आफ्नो नाम अविनाश हो भन्यो । “ए ..ए…ए…ए… मैले जतिसुकै शङ्का गरे पनि त्यो मेरो छोरो कहाँ हुनू । ऊ त अविनाश पो रहेछ” भन्दै चमेलीले दिक्क मानी ।
केही दिनपछि फेरि उसले झ्यालबाट हेर्ने, हाँस्ने, बोल्ने गर्न थाली । उसले पनि आफ्नो आमाकै रुप देख्यो कि किन हो ? राम्ररी बोल्ने गथ्र्यो ।
उनीहरुको मित्रता कुनै प्रेमी प्रेमिकाको जस्तो थिएन । चमेलीले सन्तानकै माया देखाउँथी, उसले आमाके माया खोज्दथ्यो । उनीहरु एकअर्कालाई माया गर्थे ।
स्कुलमा काम गर्ने चमेली स्कुलका बालबच्चालाई पनि अघोरै माया गर्थी । उसले यस युवकलाई माया गर्नु कुनै नौलो कुरा थिएन । उसले केही फलफूल होस् कि मिठो खानेकुरा होस् झयालबाट भए पनि बाँडेर खाने गर्थी । युवक पनि निकै खुसी हुन्थ्यो । जे खान पाए पनि धन्यवाद आन्टी भन्थ्यो ।
उसले झ्यालबाट उसका परिवारका बारेमा सोध्थी तर खुलेर सबै कुरा भन्दैनथ्यो । युवक “अँ सबै जना हुनुहुन्छ” मात्र भन्थ्यो । कोको सबै जना भन्ने बारेमा बोल्न चाहँदैनथ्यो ।
एकदिन चमेलीलाई युवकको कोठामा जान मन लाग्यो । उसले “ए बाबू मलाई तपाईँको कोठामा आउन मन लागेको छ ।” भन्दै हाँसेकी मात्र के थिई युवकले “आउनुस् न आन्टी” भन्यो र तल गएर ढोका खोलिदिने सङेत गरेर ऊ झ्यालबाट ओझेल पर्यो ।
चमेली सरासर तल ओर्लेर युवकको कोठामा जान हिँडी । ढोका खोलेर युवकले पुनः दुबै हात जोडेर नमस्कार गर्यो र उसको तिन तल्लामाथिको एक्लो कोठामा लग्यो । कोठामा पुगेर चमेली युवकको खाटमा टुसुक्क बसेर यसो सबैतिर नियाल्न थाली । उसले एकापट्टिको भित्तामा युवकको आमाबुबासहितको पुरानो फोटो नियालेर हेरी । सादा फोटोमा निकैबेर नियालेर हेरेपछि युवकलाई गम्ल्याङ्ग अङ्गालो हालेर रुन थाली । केहीबेरपछि “आन्टी ! यो के गरेको हजुुरले । छोड्नुहोस् मलाई ” भनेर युवकले अफ्ठ्यारो मान्दै हात हटायो । “बाबू मलाई अन्यथा नसोच्नुहोस् । म रुनुमा मेरा आफ्नै कथाव्यथा छन्” भन्दै चमेलीले आँसु पुछी र चाडै नै ऊ कोठाबाट बाहिरिई ।
युवक तिनछक्क पर्यो ।“किन ती आन्टीले मलाई अङ्गालो आलेर रोएकी होलिन् । सोध्न पनि अफ्ठ्यारो । सायद उनको पनि म जस्तै छोरो कतै दुर्घटना भएर मरेको हुन सक्छ । के थाहा, म आमा नभएकाो अनाथ बालक, उनी छोरो गुमाएकी दुखी आमाको संयोगले भेट भएको पो छ कि हाम्रो ? नत्र यसरी छाँद हालेर नरुनु पर्ने हो” भन्दै युवक ओच्छ्यानमा पल्टिएर सोच्न थाल्यो । उसलाई लाग्यो, “जेसुकै होस्, पक्कै पनि ती आन्टी मसँग रामै मिल्छिन् । एकदिन त सबै कुरा भन्दिहुन् । म किन चिन्ता लिनू ?” यस्तै कुरा मनमा खेलाउँदै युवकले खाना खाएर केहीबेर पढ्ने विचार गर्यो ।
युवकको स्नातक तहको पढाइ पनि सकिन आँटेको थियो । उसले चाडै छुट्टीमा घर गएर नागरिकता बनाउने सोचको थियो । उसकी आमा पहिले घर छोडेर हिँडेकी हुँदा बाबुले कान्छी आमा ल्याएका थिए । बाबुको पनि २ वर्ष अगाडि निधन भइसकेको थियो । उसलाई नागरिकता कसरी बनाउने भन्ने चिन्ता लागेकै थियो । कान्छी आमाले सानैदेखि लालनपालन गरेर हुर्काएको हुुँदा मेरी आमा उनै हुन् । उनैलाई भन्छु भन्दै ऊ ओच्छ्यानमा पल्टियो । भोलिपल्ट बिहान चाँडै ऊ घर जान भनेर बसपार्कतिर लाग्यो र रामपुर जाने गाडी चढ्यो ।
उसले सोच्न थाल्यो, “दुईतिन दिन घरमा बसेर घरको रेखदेख गर्छु अनि मात्र आमालाई नागरिकता बनाउने कुरा गर्छु ।” धेरै कुरा मनमा खेलाउँदै ऊ केही बेर पछि मस्त निद्रामा पर्यो । लामो यात्रापछि मात्र ऊ ब्युँझियो । रामपुर आउन त अब पाँच मिनेट मात्र बाँकी रहेछ । गाउँघर आइपुग्न लागेको हुँदा उसले बसको भ्याल खोलेर आफ्नो गाउँको डाँडापाखा नियाल्न थाल्यो । केहीबेरमा नै उसको झर्ने बेला आयो । उसले आफ्नो सानो व्याग बोकेर बसबाट उत्रियो र घरतिर लाग्यो ।
गाडीको बाटोबाट करिब १० मिनेट हिँडेपछि ऊ घर पुुगिहाल्यो । घरमा स–साना भाइबहिनीहरु दाजु आउने आशमा बसेका रहेछन् । युवकलाई देखेपछि उनीहरु निकै खुसी भए । हात जोडेर नमस्कार पनि भने र दाजु पनि नमस्कार नमस्कार । अनि के गर्दै छौ भन्दै घरको कौसीमा राखेको खाटमा बसे । उनीहरुलाई छेृउमा राखेर आफूले ल्याएको चक्लेट र मिठाइ दिए । उनीहरु मिठाइ पाए पछि दगुडेर घरपछाडि लागे । एकैछिनमा घाँसको भारी दिएर आमा आइन् । आमालाई देख्नासाथ उसलाई खाटबाट उठेर ढोग गरिहाल्न मन थियो तर घाँसको भारी बोकेकी आमालाई भारी बिसाउन दिन्छु भन्ने लागेर केहीबेर खाटमै बसेर भाइबहिनीसँग कुरा गर्नथाल्यो ।
आमा घाँस बिसाएपछि नजिकै भएको धारोमा हात खुट्टा धोएर हातमा हँसिया बोकेर युवकको छेउमै आएर मुसुक्क हासिँन् । युवकले पनि आमाको खुट्टामा ढोग गर्यो र सन्चो बिसन्चो सोध्यो । साँभ पर्न लागिसकेको थियो । केहीबेर बोलेपछि आमा साँझबत्ती बाल्न भनेर भित्र पसिन् । युवक भाइबहिनीसँगै कुरा गर्न थाले । आमा बत्ती बालेर खानपिनको काम गर्न थालिन् । कतिखेर गाईगोठमा गाईको धन्दा गर्ने फेरि भान्साको काममा पनि आउने गर्दै आमाले काम गरेको यृवक हेदैपनि थियो । आमाको मिहिनेत देखेर युवक आमाप्रति सद्भाव राख्थ्यो ।
त्यस दिन युवकले आमासँग धेरै कुरा गरेन । केही बेरमा निकै साँझ परिहाल्यो । बेलुकाको खानपिन गरेर दुई भाइबहिनी आआफ्ना ओच्छ्यानतिर लागे । युवकलाई पनि थाकेको होलास्, गफगाफ पनि भोलि भोलि गरौँला अहिल सुत् भनेर आमाले ओच्छ्यान देखाइदिइन् । युवक सुत्नका लागि ओच्यानतिर लाग्यो । कान्छीआमा पनि थान्कोमुन्को गरेर सुत्न भँडारतिर लागिन् ।
भोलिपल्ट युवक सबेरै उठेर घरबारीतिर घुम्न निस्कियो । बाबूले रोपेको अम्बक र लप्सीको बोट देखेर एकछिन टोलायो पनि , गाईगोठमा पनि त्यही पाँच वर्ष पहिला बाबुले किनेका गाई र भैसी देख्यो । उसले बाबु घरमा नदेखे पनि बाुबुले आर्जेका कुरा देखेर मन भारी भएको अनुभव गरेयो । केहीबेर पछि ऊ घरमा आयो । आमा अघि नै उठेर घर कस्यार लगाइओरी चिया पकाउन लागेकी रहिछन् । भित्र अगेनाको छेउमा आमा नजिकै बसेर सुखदुःखका कुरा गर्यो । नागरिकता बनाउने काम परेकाले अर्पझट आएको कुरा पनि बतायो ।
कान्छी आमा सबै कुरामा खुसी नै थिइन् तर नागरिकता बनाइदिने कुरामा भने कुरा चपाएर बोल्न थालिन् । खै बाबू मलाई यो नागरिकता बनाउने अधिार होला जस्तो लाग्दैन । तेरा बाबु मरिहाले ।आमाले पहिल्यै बाटो तताइहालेकी रहिछ । म त यी दुई सन्तानकी आमा हुँ । तेरो जन्मदिने आमा म होइन । म यो काम चाहिँ गर्न सक्छु जस्तो लाग्दैन बाबै ।
आमाका कुरा सुनेर युवकको मन कुँडियो । म आमा र भाइबहिनी भनेर आएको छु ।हजुर यस्तो बोल्ने ? म कहाँ जाऊ ? के गरुँ ? कसलाई भनूँ त ? कान्छी आमासँग युवकले पनि प्रष्ट कुरा राख्यो । अब समाजका मान्छेका पनि कुरा सुन्नुपर्छ । अहिले भन्ने बित्तिकै कसरी होला र बाबू । आमाका कुरा पनि मनासिवै थिए । तर उसलाई एउटा राम्रो जागिर खाने अवसर मिलेका कारण नेपाली नागरिकतासहित निवेदन प्श गर्नुपर्ने थियो । जसोतसो सामान्य जागिर खाएर स्नातकसम्म पढिसकेको युवकले नागरिकता नभएकै कारण ठुलाठुला अवसर गुमाउनु पर्ने अवस्था भयो । उसले पाँच दिनको मात्र बिदा मिलाएर गाउँ गएको थियो । त्यसैले तत्कालै आमाबाट यो काम नहुने बुझेपछि युवक भोलिपल्दै बिदा मागेर सहरतिर आयो ।
सहरमा पुगेर उसका नित्य कर्म सुरु भए । उसले स्नातक तहमा राम्रो अङ्क ल्याएर उतीर्ण भयो । अब उसले राम्रो जागिर खान होस् कि छात्रवृत्ति लिएर पढ्नका लागि होस्, नागरिकता बनाउनु नै थियो । कसरी बनाउने होला भनेर मनमा विभिन्न तर्कना लिएर एकदिन ओच्छ्यानमा पल्टिरहेको थियो । चमेली सरासर युवकको कोठामा आई र हिजो अस्ति कहाँ जानुभएको थियो रे भन्दै सोध्न थाली । युवकले सबै आफ्ना पीडा बेलिविस्तार लाएर भन्न थाल्यो । युवती त्यतिबेला केही बोलिन तर चिन्ता नलिनुस् । म अरु मान्छेसँग बुझेर तपाईँलाई केही सल्लाह दिन्छु भन्दै सान्त्वना दिइन् । चमेली धेरैबेर त्यहाँ नबसी बाहिर निस्किन् पनि ।
चमेलीलाई रातभरि निन्द्रा लागेन । त्यस युवकको कोठाको भित्तामा भएको फोटो त मेरै प्रेरक, उसका बुबा र म भएको फोटो हो पक्कै । फरकै पर्दैन । म भ्रममा छँदै छैन । छेउमा गएर हेर्दा पनि ठ्याक्कै उही प्रेरक छ कसरी अविनाश हुँ म भन्दै भन्यो त्यो युवकले । युवती एकछिन निकै गम्भीर पनि भइन् ।दुईदिन जति त चमेलीलाई त्यही कुराले पिरोलिरह्यो ।
तेस्रो दिन फेरि युवकको कोठामा गई । चमेली निमुखा भई । उसले पुनः फोटो हेरी र भन्न थाली । हेनुस् त बाबू, यो फोटोको तस्वीर र तपार्इँको तस्वीर हेर्दा मलाई तपाईँ उही मेरो बाल्यकालको प्राँपक जस्तो लाग्छ । उनको कुरा सुनेर युवक छक्क प¥यो । प्रापक प्रापक प्रापक उसलाई बाल्यकालमा उसको बुबाले भनेको याद आयो त्यो दुष्ट आइमाईले राखेको नाम मेरो नाम अबदेखि बदलिनेछ । अब मेरो बाबूको नाम अविनाश हो अविनाश । छोराको भविष्य सत्यानाश पारेर हिँडी त्यो सत्यानासिनी । तर म मेरो छोरोलाई त्यसै नाश हुन कदापि दिन्न । आजदेखि मेरो छोरोको नाम अविनाश हो अविनाश । निकै गज्रिएर बोलेका थिए बाबुले । अनि उसले पनि त्यो फोटो नियालेर हे¥यो र फोटोको आमासँग ती आन्टीको अनुहार जुधाइहे¥यो, उसलाई पनि यी महिला आन्टी नभएर आफ्नै आमा भएको पक्का भयो । ऊ सानै हुँदा उसकी आमाले छोडेकी भए पनि बाबुले त उसलाई निकै ठुलो भइन्जेल लालनपालन गरेको थियो, त्यसैले उसलाई आफ्नो बाबुको काटिकुटी अनुहार याद थियो । आफ्ना बाबु र आफूसँग बसेकी आफ्नी आमासँग उसले महिलाको अनुहारमा धेरै फरक पाएन । फरक पायो त केवल उमेरको ।
युवकले एक्कासी यी महिलालाई अङ्गालो हाल्यो र म हजुरको बाल्यकालको प्रापक नै हुँ आमा भन्यो । दुबैजना एकअर्कालाई अङ्गालेर बेस्सरी राए । कसैले कसैलाई सम्झाउन सकेनन् । कोठामा डाको छोडेको कसैले सुने कि भन्ने हेक्का लिन दुबैले सकेनन् तर केही बेरपछि दुबैले आँसु पुछेर शान्त भए ।
चमेलीले केहीछिन पछि बिस्तारै आफ्नो विगत छोरोलाई सुनाउन थालिन् । उनले धेरै कुरा बेलिबिस्तारमा बताइन् तर हिँड छोरा मसँगै जाऊ भन्न भने सकिनन् । म फेरि भोलि आउँला भन्दै त्यहाँबाट निस्किन् । युवक आफ्नो आमा पाएकाले खुसीले हर्षका आँसु पुच्छ्दै सधैँ जस्तै एक्लै खाना पकाएर खायो । अब आमासँगै नागरिकता बनाइमाग्छु । के खोज्छस् कानो आँखो भनेको सायद यही त होला भन्ने कुरा मनमा खेलाउँदै युवक खाटमा पल्टियो । उसले न आफ्नो विगतका सङ्घर्षका कुरा सम्झियो न त आमाको अवस्थाको बारे नै सोच्न सक्यो । लामो समयदेखि एक्लो यात्री बनेको युवक वास्तविक आमाको स्पर्श सम्झिएर नै झपक्कै निदायो ।
भोलिपल्ट शनिबार थियो । दुबै आमाछोरा बिहानै घुम्न जाने कुरा गरे र १०बजेतिर आ–आफ्नो बासस्थानबाट बाहिर निस्किए । उनीहरु निकै टाढाको एकान्त डाँडामा गएर एकान्तमा निकै बेर बसे ।आमासँग युवकले आफूले अहिलेसम्म गरेका सङ्घर्षका कुरा सुनायो । नागरिकताको खाँचो परेर गाउँ जाँदा कान्छी आमाले बोलेका कुरा पनि सुनायो । बाबुको निधन भएर आफू एक्लो भएको कुरा गदै केहीबेर भावुक पनि बन्यो । आमाले उनलाई सान्त्वना दिँदै भनिन्, अहिले धेरै चिन्ता नगर । म तिमीलाई नागरिकता बनाइदिन्छु । तिम्रा बाबु मरे पनि म ज्यूँदै छु । तिमी साँच्चै भाग्यमानी रहेछौ । मैले अहिले पाएको लोग्ने निकै शालिन छन् । विस्तारै वातावरण मिलाउँछु र तिमीलाई मसँगै लैजान्छु पनि । तिमीले पटक्कै आत्तिनु पर्दैन छोरा । आमाको कुराले युवक निकै खुसी भयो तर गम्भीर बनेर कुरा सुनी मात्र रह्यो ।
भोलिपल्ट उसले छोरोसहित जिल्ला प्रशासन कार्यालय जाने विचार गरिने । उनले अफिसमा आफू बिरामी परेर आउन नसकेको कुरा फोनैबाट गरिन् र छोरालाई पनि अफिसमा बिदा माग्न भनिन् । उनीहरु दुबैजना जिल्ला प्रशासन कार्यालयमा गए । बाबुबिना आमाले नै छोरोको नागरिकता बनाउन आएको देखेर कार्यालय प्रमुखले उनीहरुलाई धेरै कुरा बेलिबिस्तारमा सोधपुछ गरे र एउटा निवेदन दिन लगाए । टुहुरो छोरो भएको कुरा खुलाएर उनीहरुले निवेदन दिए । युवकको नागरिकता बन्ने पक्का भयो ।
त्यसदिन उनीहरुले सोधपुछ र निवेदन दिने काम सकेर कार्यालयबाट बाहिरिए । नागरिकताका लागि चाहिने पासपोर्ट साइजको फोटो पनि खिचे र आ–आफ्नो बासस्थानतिर गए । फरक घरमा विगतको जस्तै बसाइ भए पनि उनीहरु सँगै भएको अनुभूत गर्दथे । भोलिपल्ट बिहान चाडै उनीहरु जिल्ला प्रशासन कार्यालयमा गएर नागरिकता बनाउने काम गरे । करिब आधा घण्टाभित्रमा नै उनीहरुको नागरिकता बनिहाल्यो । युवक आफ्नी आमाको हस्ताक्षर भएको नागरिकता पाएर निकै खुसी भयो ।

तपाइँको प्रतिक्रिया ।