कपनमा स्थानीय चुनावको चर्चा शुरु

कपन अनलाइन०७० पुष १६ गते

कपन अनलाइन समाचार विश्लेषण संबिधानसभाको निर्वाचनपछि १ वर्षभित्र स्थानीय निकायको निर्वाचन गराउने भनेर सबै ठुला पार्टीहरुले भने अनुरुप नै नयाँ सरकार बन्ने बित्तिकै स्थानीय निकायको निर्वाचन हुने चर्चा चलिरहेको छ । निर्वाचन आयोगले पनि हालै आफू स्थानीय निकायको चुनावको लागि तयार रहेको जनाएको छ भने देशका ठूला प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेका बिभिन्न नेताहरुले स्थानीय चुनावको आवश्यक्तका बारेमा बोलिरहेका छन् । संबिधानसभामा नवनिर्वाचित सभासद्हरुले पनि स्थानीयको निर्वाचनका लागि पहल गरिरहेको समाचारहरु पनि प्रकाशित भएका छन् । देशका महत्वपूर्ण संचारमाध्यमहरुले पनि समाचार तथा सम्पादकीयमार्फत स्थानीय निकायको निर्वाचनको अपरिहार्यता दर्शाइरहेका छन् ।

स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा विकास निर्माणको गति एकदमै सुस्त भएको भनेर युरोपियन युनियनलगायत दातृ निकायले पटक पटक दोहोर्याई रहेको बेला चारैतिर स्थानीय निकायको निर्वाचनको वातावरण बनेको देखिन्छ । संबिधानसभाको निर्वाचनपछि स्थानीय राजनीतिक दलका नेतृत्वहरु पनि स्थानीय निकायको चुनावको जोडघटाउमा विस्तारै सकृय हुन थालेका छन् । कतिपय गाविसहरुमा स्थानीय निकायमा को कुन पदमा उठ्ने भन्ने विषय विवाद तथा छलफल बन्न थालिसकेको छ ।

देशको सबैभन्दा बढि जनसंख्या भएको गाविसहरुमध्ये एक काठमाडौं जिल्लाको कपन गाविसमा पनि विस्तारै स्थानीय निकायको निर्वाचनको चर्चा शुरु भएको छ । १५ हजार मतदाता रहेको कपन गाविसमा देशकै सबैभन्दा ठूलो निर्वाचन मतदानकेन्द्रसमेत(बालउद्धार मतदान केन्द्र) रहेको छ । कुन पार्टीबाट को उठ्दा निर्वाचनमा कस्तो असर पर्दछ भनेर यहाँका विभिन्न पार्टीभित्र समेत छलफल हुन थालेको छ । संबिधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका गगन कुमार थापा अत्याधिक मतले विजयी भएको क्षेत्रको महत्वपूर्ण हिस्सा मानिने कपन गाविसमा देशका ठूला सबै दलहरुले विजयका लागि विशेष ध्यान दिने छन् । संबिधानसभाको निर्वाचनमा यस गाविसबाट करिब ७००० मत गगन थापालाई खसेको अनुमान गरिएको छ भने एमालेका निर्मल कुइँकेललाई करिब ३००० र एमाओवादीका पासाङलाई करिब १५०० मत खसेको अनुमान गरिएको छ । त्यसैगरी राप्रपा नेपालले पनि यस गाविसबाट करिब ६०० मत लिएको थियो ।

 

यसपालाको संबिधानसभाको निर्वाचनको परिणाम हेर्दा कपन गाविसमा नेपाली कांग्रेसको अवस्था निकै सुदृढ देखिन्छ भने नेकपा एमालेले कपन गाविसलाई सँधै क्षेत्र नं. ४ को आधारभूमिको रुपमा लिने गरेको छ । यस अवस्थामा यिनै दुई दलबीच चुनावी मुकाबला हुनसक्ने अनुमान सबैले लगाउँछन् । स्थानीय चुनावमा राष्ट्रिय चुनावको खासै असर नपर्ने हुँदा दलहरुले उठाउने उम्मेदवारको व्यक्तिगत छविले जीतहार दर्शाउने विगतका कतिपय नतिजाले देखाउँछ । स्थानीय सरोकारसँग आत्मसात गर्न सक्ने तथा समाजसेवी एवम् लोकप्रिय व्यक्ति चुनावी प्रतिष्पर्धामा अब्बल ठहरिने अवस्थामा संबिधानसभाको निर्वाचनमा भाग नलिएको बैद्य माओवादीको भूमिकाले पनि ठूलो भूमिका खेल्ने देखिन्छ ।  कपन गाविसमा रहेका दलहरुले स्थानीय निकायमा पठाउन सक्ने व्यक्तिहरु र पार्टीको अवस्था यस प्रकार रहेको छ ।

[su_highlight]नेपाली कांग्रेस[/su_highlight]

विगतको दुई स्थानीय निकायको निर्वाचनमध्ये ०४९ को स्थानीय निर्वाचनमा विजयी रहेको नेपाली कांग्रेस यसपाला गगन थापाले जितेको क्षेत्रको महत्वपूर्ण गाविसमा जीतका लागि चुनावमा होमिने देखिन्छ । कपन गाविसमा गगन थापा विजयी हुँदा धेरै मत आए पनि करिब ५००० मत नेपाली कांग्रेसको पार्टीगत मत रहेको अनुमान गरिन्छ । उम्मेदवार चयन गर्दा बिचार पुर्याउन सके नेपाली कांग्रेसले कपनमा विजय पाउने सम्भावना देखिन्छ । यद्यपि नेपाली कांग्रेसभित्र गाविस अध्यक्ष वा उपाध्यक्षमात्र नभई वडाअध्यक्षमा उठ्ने इच्छुकहरुको संख्या धेरै भएको हुँदा आन्तरिक असन्तुष्टि बढि हुन सक्ने अनुमान गर्न सकिन्छ ।

tank IMG_4186 बिनोद DSC09482

नेपाली कांग्रेसका  इकाई सभापति विनोद चालिसेले यस अघि नै आफू गाविस अध्यक्ष टिकटको दावेदार भएको बताइसकेका छन् भने दुई पटक वडा नं. ८ को वडाध्यक्ष भैसकेका अच्युत पौडेललाई पनि संभावित गाविस अध्यक्षको उम्मेदवारको रुपमा हेरिएको छ । उनले आफू गाविस अध्यक्षमा उठ्न तयार रहेको बताएका छन् । त्यसैगरी दुई पटक वडा नं. ४ को वडाअध्यक्ष भैसकेका रामकृष्ण के.सी. एवम् पूर्व इकाई सभापति राजाराम बुढाथोकीलगायत एक दर्जन नामहरुले गाविस अध्यक्षको रुपमा सार्वजनिक रुपमा दावी गरेका छन् । यसरी गाविस अध्यक्षमा दावी गर्ने नामहरुमा युवा पुस्ताका परिचित अनुहार वडा नं. १ बाट राजुविक्रम थापा एवम् वडा नं. ९ बाट सन्तोष भण्डारी पनि रहेका छन् । त्यसैगरी ईकाई उपसभापति टंक सापकोटा, पूर्व अनुगमन समिति सदस्य श्याम डोटोल, पूर्व वडाध्यक्षहरु वडा नं. २ का बद्रि अधिकारी तथा वडा नं. ६ का राधेश्याम कार्कीले पनि गाविस अध्यक्षमा आफ्नो दावी रहेको सार्वजनिक गरिसकेका छन् । कपन नेपाली कांग्रेसमा गाविस अध्यक्षमा दावी गर्नेहरुको नाममा अझै थपिने अनुमान गर्न सकिन्छ ।

[su_highlight]नेकपा एमाले [/su_highlight]

०५४ सालको निर्वाचनमा कपन गाविसमा एमालेले जितेको थियो । एमालेले मिठाराम अधिकारीको नेतृत्वमा उपाध्यक्षसहित १,३,५र ८ वडामा जीत हासिल गरेको थियो । कपनमा बस्ति विकासको क्रमसँगै एमालेको प्रभुत्वको पनि धेरै देखिँदै आएको छ । आजका दिनमा जति पनि एमाओवादी पार्टीमा रहेका कार्यकर्ताहरु हिजो एमालेका कार्यकर्ता थिए । त्यसैले पनि एमालेले कपनलाई उर्बर भूमिको रुपमा लिने गरेको छ । स्थानीय रुपमा मिठाराम अधिकारीको छवि नै एमालेको सबैभन्दा ठूलो प्रेरणाको श्रोत हो । मिठाराम अधिकारी स्थानीय चुनावको मैदानमा उत्रिए भने उनलाई पार्टीगतमात्रै नभई व्यक्तिगत प्रभावको भोट पनि आउन सक्ने आधार एमालेको सबैभन्दा महत्वपूर्ण कडि हो ।

मिठाराम ध्रुव

मिठाराम अधिकारी स्वयम्ले पनि गाविस अध्यक्षको रुपमा आफू उठ्न पनि सक्ने अनौपचारिक छनक दिई सकेको अवस्थामा एमालेमा मिठाराम अधिकारीलाई हटाएर अर्काे व्यक्तिलाई स्थानीय चुनावको टिकट दिन सकिने अवस्था तत्कालको लागि देखिदैन । तथापि राजनीतिकरुपमा मिठाराम अधिकारी पार्टीको माथिल्लो कमिटिमा जान सक्ने अवस्थामा गाविस अध्यक्ष पदमा को उठ्ने विषयमा अरु नामहरु पनि आउन सक्ने देखिन्छ । पछिल्लो दुई अधिवेशनदेखि कपन गाउँ पार्टी कमिटि हाँक्दै आएका युवा ध्रुवराज न्यौपाने कपन एमालेका लागि मिठाराम अधिकारीपछिका सम्भावित नाम हो । संबिधानसभाको चुनावको परिणामलाई विर्सिएर हेर्ने हो भने ध्रुवराज न्यौपानेमा सांगठनिक एवम् राजनीतिक छविलाई प्रशंसनीय मानिने गरिएको छ । समग्रमा स्थानीय चुनाव भयो भने एमालेले मिठाराम अधिकारी तथा ध्रुवराज न्यौपानेमध्ये एकलाई गाविसअध्यक्षको पदमा प्रत्यासि बनाउन सक्ने देखिन्छ । स्थानीय चुनावका लागि एमालेको तर्फबाट यो दुवै सशक्त नाम हो ।

[su_highlight]एनेकपा माओवादी [/su_highlight]

संबिधानसभाको चुनावअघि सशक्त मानिएको एमाओवादी निर्वाचन परिणामपछि कपनमा निकै नै कमजोर रहेको महशुस भएको छ । एमाओवादी हाइकमाण्ड नेता पासाङको निवास यसै गाविसमा भएर पनि चुनावमा कमाल देखाउन नसकेपछि सांगठनिक रुपमा कपनमा एमाओवादी कमजोर रहेको देखिन्छ । विशेष गरेर शिव बजगाइँको नेतृत्वमा रहेको कपन पार्टी कमिटिको कृयाकलाप र सांगठनिक गतिबिधिप्रति औंला उठाउन थालिएको अवस्था छ ।

DSC_0126-222x300 PHOTO-5 DSC_1175

संबिधानसभाको चुनावमा एमाओवादीले कपन लगभग १५०० को हाराहारीमा मात्र मत ल्याउनुले स्थानीय निकायको निर्वाचनमा यो पार्टीले कपनमा निकै ठूलो मेहनत गर्नु पर्ने देखिन्छ । यस पार्टीबाट तत्कालको लागि ०५४ सालमा वडा नं. ३ को स्थानीय निर्वाचनमा बिजयी भएका नेता सञ्जय अर्याल अध्यक्ष पदमा उठ्न सक्ने अनुहार देखिन्छ । सञ्जय अर्यालबाहेक एमालेबाट एमाओवादी प्रवेश गरेका ठाकुरप्रसाद खकुरेल, मुरारी भण्डारी, ध्रुव नेपाल, डम्बर अधिकारी पनि एमाओवादीका तर्फबाट कपन गाविस अध्यक्ष पदमा चुनावी मैदानमा आउन सक्ने नामहरु हुन् । सञ्जय अर्यालले अनौपचारिक भेटहरुमा आफु स्थानीय चुनावमा भाग लिने संकेत गरेका छन् भने अरु व्यक्तिहरुले आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।

तपाइँको प्रतिक्रिया ।