कविता – विसुकुमार के.सी.

सपना

1385188_729335280413715_900374172_n
– विसुकुमार के.सी.

सपना साकार हुनै पर्छ,
यस्तो कुनै सत्यता छैन ।
सपना देख्न निदाउनै पर्छ,
यस्तो कुनै बाध्यता छैन ।

सस्तो मँहगोको के कुरा
सपना बहुमुल्य हुन्छ ।
आफन्त बिरानोको के कुरा
सपना साथीतुल्य हुन्छ ।

सबैले सपनको सिउँदोमा,
सिन्दर भरेका कहाँ छन् र ?
कति सपनाहरु बुढीकन्या भएका छन् ।
कति सपनाहरु बिधुवा भएका छन् ।
सबैले सपना सजाउन सकेका पनि त कहाँ छ र ?
कति सपनाहरु गर्भपात भएका छन् ।
कति सपनाहरु बर्बाद भएका छन् ।

तर,
सपना देख्ने आँखा छोपेर छोपिदैन ।
तर, सपना सोच्ने मन भत्काएर भत्किदैन ।
बोझ लागे , एकछिन बिसाएर हेर,
सपनाबिहीन जीवन झन् बोझिलो हुन्छ ।
बोर लागे एकछिन एक्लै हिँड,
सपनाबिहीन बाटो कति पट्यारलाग्दो हुन्छ ।

जस्तै चिसो रातमा पनि
सपना ओडेर निदाउन सकिन्छ ।
जस्तै तातो घाममा पनि
सपनाको सिँयालमा सुस्ताउन सकिन्छ ।

तपाइँको प्रतिक्रिया ।