रिलायन्सद्वारा डा. जोशीलाई दश हजार नगदसहित सम्मान

कपन अनलाइन मंसिर २३ गते
रिलायन्स इन्टरनेसनल एकेडेमीले विगत वर्षबाट स्थापना गरेको रिलायन्स साहित्य स्रष्टा सम्मान यसवर्ष वरिष्ठ साहित्यकार एवं समालोचक प्रा. डा. कुमार बहादुर जोशीलाई प्रदान गरेको छ । रु. १०,०००।– राशीको यो पुरस्कार उक्त एकेडेमीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा स्थापना गरेको हो । रिलायन्सले वि. सं. २०६६ सालदेखि हरेक वर्ष महाकवि देवकोटा जयन्तीको सन्दर्भ पारेर उपत्यकाव्यापी अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता तथा भव्य कवि गोष्ठी आयोजना गर्दै आएको छ । त्यसैक्रममा विगत वर्षबाट नेपाली भाषा साहित्यमा उल्लेखनीय योगदान पुर्याउने कवि–लेखकहरूलाई प्रोत्साहन स्वरुप “रिलायन्स साहित्य स्रष्टा सम्मान” नामको पुरस्कार वितरण गर्न प्रारम्भ गरेको छ । पहिलो वर्ष रु. ५,०००।– राशीको उक्त पुरस्कार डा. शैलेन्दु प्रकाश नेपाललाई प्रदान गरिएको थियो भने यस वर्ष उक्त राशीलाई दोब्बर रु.१०,०००।– बनाई प्रा. डा. जोशीलाई प्रदान गरिएको हो । उक्त पुरस्कार राशी प्रत्येक वर्ष बढाउँदै लैजाने उद्देश्य संस्थाले लिएको छ ।
यही मंसिर २१ गते यस विद्यालयले महाकवि देवकोटा स्मृति पाँचौं उपत्यकाव्यापी अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्यो । उपत्यकाका तीस विद्यालयले सहभागिता रहेको प्रतियोगिताका उत्कृष्ट ६ प्रतियोगीहरुलाई २२ गते आयोजित भव्य कवि गोष्ठी तथा साहित्य स्रष्टा सम्मान कार्यक्रमका बीच पुरस्कृत गरियो । पुरस्कृत हुने विद्यालयहरुमा क्रमशः बागमती उच्च माध्यमिक विद्यालय सुकेधाराकी छात्रा रचना अर्याल प्रथम, वि. एन. एकेडेमी बसुन्धराकी छात्रा जोयना लम्साल द्वीतिय र सेन्ट जर्ज इन्टरनेसनल स्कुल विशालनगरका छात्र आयुष बुढाथोकी तृतीय भएका छन् । त्यसै गरी इन्द्रावती पब्लिक स्कुल, कुमारीगालकी आकृति अधिकारी चौंथो, आइडिल उच्च मा. वि.का छात्र किस्मत उप्रेती र नितेन मेमोरीयल उ. मा. वि टोखाकी छात्रा सरीता कार्की पाचौं भएका छन् ।
२२ गते शनिबार वरिष्ठ साहित्यकार तथा प्राध्यापक श्री कृष्णप्रसाद पराजुलीको प्रमुख आतिथ्यमा आयोजित भव्य कवि गोष्ठी, स्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोहको सभापतित्व रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्रजङ्ग थापाले गर्नुभएको थियो । वरिष्ठ पत्रकार  पुरुषोत्तम दाहाल, कवि भुवनहरि सिग्देल, आर.एम डङ्गोल,कलानिधि दाहाल,  समालोचक हेमनाथ पौडेलसाथमा कविहरू डा. विष्णु केसी,  तिर्थराज अधिकारी,  बलराम दाहाल,  विशु कुमार के.सी., केशबराज पाठक,  डा.रघुनाथ गौतम लगायतका कविता वाचन गरेको  कार्यक्रममा स्थानीय समाजसेवी तथा नयाँ पुस्ताका साहित्यकर्मीहरुको समेत उपस्थिति  थियो । दर्जनौं कवि–लेखकहरूको जमघट रहेको उक्त कवि गोष्ठीमा करीब तिन दर्जन कविहरुले कविता वाचन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।