गगन थापाका नाममा आदेश : १० दिनभित्र जितको आधार सहित हाजिरहुनु

मंसिर २३ काठमाडौँ
१० दिनभित्र जितको आधार सहित उपस्थित हुन काँग्रेस नेता गगन थापालाई संविधानसभा अदालतले आज आदेश दिएको छ ।
संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ मा धाँधली भएको दाबीसहित एमाओवादीका उम्मेदवार नन्द किशोर पुन ‘पासाङ’ले मंसिर २०, बिहीबार संविधानसभा अदालतमा उजुरी दिएकाथिए ।

काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा विजयी भएका थिए। उजुरीमा निर्वाचन अधिकृतसँगको मिलेमतोमा धाँधली गर्दै थापालाई निर्वाचनमा विजयी घोषित गरिएको दाबी गरिएको छ। उजुरीमा यस क्षेत्रमा पुन: र्निवाचनको माग गरिएको छ।

पासाङले दिएको उजुरीमा मतगणनाको क्रममा जनजागृति उच्च मावि केन्द्रमा खसेको मत भन्दा बढी देखिएको, शारदा निमावि केन्द्रमा मतपत्र कम गनिएको, जय भद्रकाली निमावि मतदान केन्द्र हुनुपर्नेमा मत गन्दा चपली भद्रकाली भनेर गनिएको, फैका उसु डोजो क्वान केन्द्र हुनुपर्नेमा फैका उसु क्वान केन्द्र लेखिएको बाक्सा फेला परेको उल्लेख छ।
त्यस्तै उजुरीमा नन्दीकेसरी बाहल केन्द्र हुनुपर्नेमा नन्दी रात्री भनेर लेखिएको, सिल खोलिएका बाक्सा फुटेका, खैरो प्लाष्टिक टेपले टालिएको, बाकसमा मत पत्र नमिलेको, मत गन्दा एकै साइजको चाङ मिलाएर पटाएर राखिएको, अर्धकट्टी नदेखाइएको, ३२ वटा मतदान केन्द्रका ७७ वटा बुथमध्ये केही बुथका एमाओवादीका मत अरू निर्वाचन चिन्हमा थपेर कम गरिएको, गायब पारिएका मतको छानबिन नभएको जस्ता दाबी गरिएको छ।

तपाइँको प्रतिक्रिया ।