कागेश्वरी मनोहरा नगरपालिका साक्षर नगर घोषणा सहित एस ई ई सम्मान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं,माघ ४ ।कागेश्वरी मनोहरा नगरपालिका साक्षर नगर घोषणा गरिएको छ। शुक्रबार कागेश्वरी मनोहरा नगरपालिका डाँछीमा आयोजित एक विशेष कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपाल र बागमती प्रदेशका सामाजिक विकास मन्त्रि युवराज दुलाल लगायतले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै कागेश्वरी मनोहरा नगरपालिका लाइ साक्षर नगरपालिका घोषणा गरेका हुन् ।
उक्त साक्षर नगर घोषणा तथा एसइइ सम्मान कार्यक्रमलाइ सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले कागेश्वरी मनोहरा नगरपालिका साक्षर नगर घोषणा भएकोमा नगरवासी सबैलाई बधाई दिदै नगरपालिकाले शिक्षा, स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउन नगरको समग्र विकास र समृद्धिका लागि आगामी दिनमा अझ बढि सक्रिय भएर कार्य गर्नुपर्ने कुरामा जोड दिएका थिए । उनले अन्य नगरको तुलनामा कागेश्वरी मनोहरा नगरपालकिाले शिक्षा र स्वास्थ्यमा विषेश जोड दिएको समेत बताए। ।
कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले कागेश्वरी मनोहरा नगरपालिकालाई साक्षर नगरका घोषणा गर्दै प्रदेशको शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्र व्यवस्थित गर्न मन्त्रालयले पहल गरेको बताए । सामाजिक विकासमन्त्री दुलालले प्रदेशलाई बालमैत्री बनाउन प्रदेश सरकारले पहल गरेको बताउँदै चालु आर्थिक बर्ष भित्रै बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने तयारी गरेको समेत जानकारी गराए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्ण राई, नेपाली काँग्रेसका नेता एवम् पूर्व सांसद दिपक कुइकेल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कागेश्वरी मनोहरा नगरपालिकाका नेता महेश्वर फुयाँल लगायतले साक्षर नगर घोषणा संगसंगै यसको दिगोपनामा लागि विशेष ध्यान दिनुपर्ने बताउदै शिक्षा, स्वास्थ्यका साथ साथै नगरको समग्र विकास व्यवस्थापन, आर्थिक विकास, सामाजिक विकास लगायत नगरको समग्र क्षेत्रको विकास र समृद्धिका लागि सरोकारवालाहरुले सहकार्य र समन्वय गरेर कार्य गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्र प्रसाद लुइटेल, शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख नन्दलाल पौडेल लगायतले नगरलाई साक्षर नगर घोषणाका लागि भएका प्रयासहरुको बारेमा जानकारी गराउदै साक्षर नगर घोषणा संगसंगै यसको दिगोपनामा लागि विशेष ध्यान दिनुपर्ने बताएका थिए ।कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले साक्षर नगर घोषणाका लागि भएका सबै सूचकहरु पुरा गरी नगरलाई साक्षर नगर घोषणा गर्न सफल भएको बताए ।
नगरप्रमुख थापाले नगरवासीको आवश्यक्तालाई मध्यनजर गर्दै दिर्घकालिन विकास निर्माणका लागि संघीय, प्रदेश, स्थानीय सरकार र आवश्यक्ता अनुसार राजनीतिक दल तथा सरोकारवाला निकायसँग सहकार्यमा अघि बढेको जानकारी गराए । नगर प्रमुख थापाले नगरबासीको माग र चाहना बमोजिम विधि र प्रक्रिया अनुसार नगरपालिकाले कार्य गरिरहेको जानकारी गराउँदै व्यवस्थित र नमूना नगरपालिका बनाउन सम्पूर्ण जनप्रतिनिधिहरु सक्रियाता पूर्वक लागेकोमा प्रसंशा व्यक्त गर्दै नगरपालिकाले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी , लगायत पर्यटन प्रवर्दन, साँस्कृतिक सम्पदाहरुको संरक्षण नगरको समग्र विकास र समृद्धिलाई विशेष प्राथमिकता दिएर कार्य गरिरहेको वताए ।
उनले स्थानीय निर्वाचन भएको ३२ महिनामा नगरभित्रका विकास निर्माणले निकै फड्को मारेको अनुभूति भएको बताउँदै ‘स्वच्छ सफा हराभरा, बनाऔं कागेश्वरी मनोहरा’ भन्ने नगरको मुख्य नारालाई बाँकी २८ महिना भित्रै कार्यान्वयन गरी चाँडै नगरको मुहार फेर्ने बताए ।साक्षर नगर घोषणा तथा एसइइ सम्मान कार्यक्रमको सम्बोधन गर्दै नगर प्रमुख थापाले शिक्षा, स्वास्थ्य, खेलकूद र सामाजिक सुरक्षा लगायतमा समेत विशेष ध्यान दिंदै कागेश्वरी मनोहरा नगरपालिकालाई साक्षर नगर घोषणा गर्न पाउँदा खुशी ब्यक्त गरे । उनले सरकारले दिएको संचार खर्चले मात्र स्वमंसेवीकालाई नगर भित्रका विभिन्न स्थानमा सेवा दिन समस्या भएको बताउँदै नगरले मासिक रु १ हजार दिने घोषणा गरेको पनि बताए ।
कागेश्वरी मनोहरा नगरपालिकाले २०७४ असारमा बसेको पहिलो नगरसभाबाटै एसइइमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यालयल र विद्यार्थीलाई सहयोग गर्ने निर्णय गरेको बताउँदै आफू निर्वाचित भएपछि तेस्रो पटक पुरस्कार वितरण गरेको बताए । उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यालयल तथा विद्यार्थीलाई सामुदायिक र नीजि विद्यालयका एक–एक जनालाई नगद रु १ लाख दिने र उत्कृष्ट नतिजा प्राप्त विद्यालयलाई भौतिक सुधार गर्न रु २ लाख रकम दिने निर्णय गर्ने पहिलो नगरे समेत कागेश्वरी भएको दावी गरे ।
नगर भित्रका विद्यालयको स्तरोन्ततिका लागि सामुदायिक विद्यालयमा शिशुदेखि पाँच कक्षासम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई दैनिक खाजाको व्यवस्था गरेको बताए । सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरु टाढाबाट आउने हुनाले हिड्न समस्या भएका कारण नगर भित्रका सामुदायिक विद्यालयमा नगरपालिकाले स्कूल बसको व्यवस्था गर्ने समेत बताए ।नगर प्रमुख थापाले भने, ‘हाल सम्म ३ वटा विद्यालयलाई सहयोग गरिसकेका छौं, आगामी दिनमा नगर भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा बसको व्यवस्था गर्छौ । निःशुल्क खाजा, स्कूल बस, उत्कृष्टलाई पुरस्कार लगायतका सहयोगले विद्यार्थीको पढाईमा थप उत्साह मिल्ने र असल मानिस बन्न सहयोग पुर्याउछ भन्ने उदेश्यले नगरले यस किसिमका सुविधा दिएको उनको दावी थियो ।
नगरपालिकामा छिट्टै नगर अस्पताल बन्न पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको पहलमा रु १ करोड र अस्पताललाई आवश्यक सामग्रीको लागि समेत थप रु १ करोड सहयोग प्राप्त भएकोले नगर अस्पताल निर्माण प्रकृयामा सहयोग पुग्ने बताए ।कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले कागेश्वरी मनोहरा नगरपालिका साक्षर नगर घोषणाको अवसरमा प्रदेश सरकारको तर्फबाट नगर प्रमुख कृष्णहरि थापालाई कदर पत्र हस्तान्तरण गरेका थिए । त्यस्तै २०७५ सालको एसइइमा कागेश्वरी नगरभित्रका सर्बोत्कृष्ट अंक ल्याउने छात्र, छात्रा र विद्यालयलाई समेत पुरस्कार वितरण र सम्मान गरिएको थियो ।
शान्ति सुरक्षामा थप सहयोग पुगोस भन्ने उदेश्यले नगरको सहयोगमा थलीमा रहेको प्रहरी चौकीलाई एउटा मोटरसाईकल हस्तान्तरण समेत गरिएको थियो । त्यसैगरी दक्षिण एशियाली खेलकुद (साग) मा कागेश्वरी नगरबाट सहभागी खेलाडीहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका उप-प्रमुख सरिता दाहाल, कागेश्वरी मनोहरा नगरपालिकाका उप-प्रमुख बिन्दु सिम्खडा पुडासैंनी सिम्खडा, जिल्ला समन्वय समिति काठमाडौंका जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारी, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञावली, प्रवक्ता राजाराम पुडासैंनी, वडा अध्यक्षहरु नगर कार्यपालिका सदस्यहरु जनप्रतिनिधिहरु, कर्मचारीहरु, कागेश्वरी मनोहरा नगरपालिकामा भएका विभिन्न विद्यालयका शिक्षकहरु, विद्यार्थीहरु, व्यवस्थापन समितिका पदाधिकारीहरु लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।