शनिवार कपनमा गगन थापाको पहिलो चुनावी सभा

कपन अनलाइन ०७० कार्तिक २२
संबिधानसभाको चुनावी अभियान चरमोत्कर्षमा पुगिरहँदा उम्मेदवारहरु आफ्नो क्षेत्रको घरदैलो तथा सभा समारोहमा व्यस्त छन् । चुनाव आउन दुई हप्ताभन्दा कम समय रहेकाले यतिखेर चुनावी आमसभालाई दलहरुले जोड दिएका छन् । प्रखर वक्तहरुलाई ल्याएर चुनावी सभामा बोलाउने शैली देशभर चलिरहेको छ । देशकै सबैभन्दा चर्चित काठमाडौं क्षेत्र नं. ४ मा पनि दलहरु चुनावी सभाका कार्यक्रम संचालन गरिरहेका छन् । देशभरका १५० क्षेत्रबाट चुनावी सभामा सम्बोधन गरिदिन बोलाइएका नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले भोलि २३ गते शनिवार पहिलो चुनावी सभा गर्न लागेका छन् ।

DSC_0300
प्रखर वक्ताका रुपमा परिचित गगन थापालाई देशभरका नेकाका उम्मेदवारहरुले एकपटक आफ्नो चुनावी सभालाई सम्बोधन गर्न बोलाइरहेका छन् । हिजो मात्रै बारा र धनुषाको चुनावी सभालाई सम्बोधन गरेर फर्किएका गगन थापा आफ्नो चुनावी सभामा पहिलो पटक सम्बोधन गर्दैछन् । उनले के भन्छन् वा उनको चुनावी सभा कस्तो हुन्छ भन्ने उत्सुकता यतिखेर चारैतिर व्याप्त छ । विपक्षी दलका उम्मेदवारहरुले पनि उनको यो चुनावी सभालाई उत्सुकताका साथ लिएका छन् ।

DSC_0291
कपनको ह्याण्डबल मैदानमा आयोजना हुने चुनावी सभामा पहिलो पटक गगन थापाले ठूलो जनसमुदायको उपस्थितिमा आफूलाई भोट माग्नेछन् । यस किसिमको महत्वपूर्ण कार्यक्रम भएकोले महत्वपूर्ण तयारीको लागि कपन नेपाली कांग्रेस तथा क्षेत्र नं. ४ चुनावी प्रचारप्रसार समिति व्यापकरुपमा जुटेको छ । क्षेत्र नं. ४ को सबैभन्दा धेरै मतदाता भएको गाविस भएकोले यस गाविसलाई विशेष रुपमा हेरिएको नेका क्षेत्रीय सचिव श्यामकृष्ण संगतले कपन अनलाइनलाई बताए । संगतले भोलिको कपनको चुनावी सभाले कपनमा इतिहास बनाउने बताए । कार्यक्रमलाई आकर्षक बनाउन सांगीतिक प्रस्तुतिहरुसमेत समेटिन उनले बताए । दिनको २.३० बजेबाट सुरु हुने चुनावीसभा पूर्व कपन गाविसकै २,४ र ५ नं. वडामा घरदैलो कार्यक्रम रहेको छ । नेपाली कांग्रेस कपनअन्तर्गत चुनाव परिचालन समितिका सचिव विश्वनाथ दहालको अनुसार बिहान ७ बजेदेखि दिनको १२ बजेसम्म घरदैलो कार्यक्रम संचालन हुनेछ ।

तपाइँको प्रतिक्रिया ।