बेतुकमा तात्छ सडक !
कपन अनलाइन
काठमाडौँ,पुस ११ / राम आचार्य “पुष्पप्रेमी”/ कविता
बेला बेला बेतुकमा तात्छ सडक
अनि निष्कर्षबिहीन भएर सेलाउँछ पनि !
धेरै भो यसरी ताप्के नताती बिंड् मात्र तातेको !
बेमौसममा आकाश गर्जिन्छ
बिजुली नचम्की
चट्याङ्ग पनि पर्छ
तर
न पानी पर्छ न असिना झर्छ,
अनायसै भेल चल्छ सुख्खा बगरहरुमा,
कतिका सान्तानहरु बगाउँछ
कतिका पिताहरु हराउँछन,
कसैको परिवारमा शोक पर्छ,
कतिको भोक मर्छ,
कसैको कागताली पर्छ त
कसैको अपुताली हुन्छ !
अहिले सडकले यात्रुको
गन्तव्य निर्धारण गर्न
छाडेको छ !
आफ्नो गन्तव्य भुलेर आफै अल्मलिएको छ सडक,
कहिले उकाली चढ्छ
कहिले ओराली झर्छ,
अनेकौं मोडहरुमा
नागबेली भएर गुजुल्टिन्छ र
गन्तव्यहिन भएर अल्मलिन्छ !
बेस्थिर र पहिचानहिन यो सडक
कहिले क्रान्ति रोज्छ
कहिले शान्ति वार्ता खोज्छ !
त्यहि सडकले कानुन जन्माउँछ
त्यसैले कानुन मास्छ,
कसैलाई सत्ताबाट खसाउछ
कसैलाई सत्तामा बसाउँछ !
हिजो जस्तो लाग्छ
सडकले ल्याएको शासन र
जंगलमा गर्जिएको भाषणको समिश्रणमा
सिंहदरवारमा नयाँ राजनीतिको कक्टेल पोख्यो !
नयाँ शासन प्रणालीको कवालीमा
थुप्रै शुशासनका सारथीहरुले चिप्लेंटी खेले,
बेतुकमा साँडेको जुदाई बाछाको मिचाई भईरह्यो !
कहिले, त्यहि सडक
फाँसीको कानुन चाहिदैन
निहत्था जनता मार्न
पाइदैन भन्छ ।
अहिले उहि सडक फाँसीको कानुन माग्छ ।
हिजो, त्यही कानुनले
दण्डीत ब्यक्तिलाई
आज राज्यको मालिक बनाउँछ,
अपराधलाई सत्ता प्राप्तीको सामथ्र्य ठान्छ,
कतिलाई सहिद बनाउँछ
कतिका सहिद हराउँछ
हरेक चौरस्ताहरु शहिद पार्क र उद्यानले
शुशोभित हुन्छन्
अब मृत्युबिहिन र क्रन्तिबिहिन
सु–शासनको रामराज्य स्थापनाको घोषणाले
अखबारहरु रङ्गिन्छन !
तर आजभोलि
दिनहुँ हजारौं मान्छेको मृत्यु हुन्छ,
हरेक बिहान सडकका पेटीमा
बेवारीसे लास भेटिन्छ,
फाँसीको कानुन मासेकै छ
जसले जोसुकै मारोस्
के नापिन्छ ?
दिन दहाडै सहरहरुमा
नारी अस्मिताको
होलसेल बिक्री भइरहेछ,
साँझ नपर्दै ढोकामा चुकुल
लाउन विवश छन आमाहरु !
छोरीहरुस्कुल पठाउन
त्रसित छन अभिभावकहरु !
प्रत्येक दिन निर्मलाहरुको बलात्कार र हत्याका खबरहरु
निर्लज्ज प्रसारण हुन्छन रेडियो र टि.भि. हरुमा ।
शक्तिको आडमा
गढीमाईको पशुबली झैं
कलिला नव किशोरीहरुको बध हुन्छ
तर पनि राज्य शक्ति
चिरनिन्द्रामा छ,
शत्ताको आनन्दमा
लिन छ सिंहदवार !
आज त्यहि सडक फाँसीको
कानुन चाहियो भन्छ !
के अब बन्ने फाँसीको कानुनले
मृत्युदण्ड दिएका अपराधी
भोलि शहिद भएर
बौरिदैनन् त ?
चौबाटो र सहर बिचमा शालिक
भएर मुस्कुराउदैनन् ?
सहिद पार्क र उद्यानमा
राज्यकोष दोहन हुँदैन ?
के अपराधी घोसित ब्यक्ति
राज्यको उपल्लो तहमा
बिराजमान नहोला?
साँच्चै बिधिको
शासन सुनिश्चत गर्न
सामथ्र्य राख्छ भने मात्र
तातोस् सडक ।
जहाँ
अब मैना सुनुवारहरु मारिनु नपरोस्,
निर्मलाहरु बलात्कृत नहुन
नरमायाँ र फूल मायाँहरुले
बिक्री मण्डीमा
सजिनु नपरोस ।
कानुनी राज्य स्थापित गरोस
जुन विधि
कुनै पनि परिवर्तनको नाममा
कहिल्यै नभत्कियोस्,
होइन भने
लहडमा सडक राफिनु र बाफिनुमा
के तुक होला ?