युवाहरुको मनमात्र हैन मत जित्ने आशा
कपन अनलाइन कार्तिक १५
वर्तमान नेपाली राजनीतिले युवापुस्तालाई संहाल्न नसकिरहेको बेलामा राजनीतिका विसंगतिलाई उजागार गर्दै सहरी युवाहरुलाई एकत्रित गरिरहेको विवेकशील नेपाली अभियानप्रति काठमाडौंमात्र हैन देशभरीका युवाहरु आकर्षित भएका छन् । काठमाडौं क्षेत्र नं. ४ मा विवेकशील नेपाली अभियानका उम्मेदवार सन्तोष प्रधानलाई सामाजिक संजाल तथा मोबाइलमा आउने चासोमात्रले पनि यो अभियान कति प्रभावशाली रहेको छ अनुमान गर्न सकिन्छ । सन्तोषलगायत विवेकशील अभियानका उम्मेदवारहरुलाई नेपाली मिडियाले पनि निकै चासोे दिएको छ । दैनिकजस्तै विवेकशीलका उम्मेदवार टेलिभिजन, पत्रपत्रिका तथा अनलाइनहरुमा अन्तर्वार्ता दिइरहेका हुन्छन् । चलेका नेपाली पार्टीलाई भन्दा विवेकशील नेपाली अभियानलाई मिडियाले हेर्ने आँखा फरक देखिन्छ । तेस्रो धारजस्तो भएको छ यो अभियान ।
विवेकशील नेपाली अभियानले गर्ने चुनावी प्रचार पनि अरुको भन्दा पृथकमात्र हैन अनुसरणीय एवम् प्रभावकारी छ । भाडामा मोटरसाइकल ल्याएर ध्वनी प्रदुषण गर्दै गरिने र्यालीप्रति नेपालीको खासै सद्भाव देखिदैन तर विवेकशील नेपाली अभियानका उम्मेदवारहरु रिक्सालाई सामाजिक सन्देश दिने व्यानरले छोपेर आफै चलाएर काठमाडौँ परिक्रमा गरिरहेका छन् । उनीहरुलाई काठमाडौंका बस्ति बस्तिका युवाहरुले चासोका साथ सुनिरहेका र बुझिरहेका छन् पनि । युवाहरुको चासोले उम्मेदवारहरु पनि खुशी छन् । क्षेत्र नं. ४ का युवा उम्मेदवार सन्तोष प्रधान, अंधेरोमा जुनकिरी हुन खोजिरहेको अवस्थामा युवाको साथले उत्साहित बनाएको बताउँछन् ।
सन्तोष प्रधानलाई क्षेत्र नं. ४ मा निर्वाचन परिचालनको संयोजन गरिरहेका सागर लुइँटेल केही समय अघिसम्म नाम चलेको एउटा पार्टीको जिम्मेवार सदस्य थिए । विवेकशील नेपाली अभियानका सदस्यहरुको सामिप्यताले फरक गर्ने तथा फरक सोच्ने अनि जिम्मेवार हुने अभियानमा समाहित भए सागर । सागर भन्छन्, देश र समाजलाई केही सकारात्मक सन्देश दिइरहेको अनुभूति भएको छ । सामाजिक विसंगतिलाई चुनावी नारामा लैँजादा युवाहरुले दिएको साथले सागर धेरै उत्साहित पनि छन् । क्षेत्र नं. ४ मा चुनाव जितिन्छ जस्तो लाग्छ, उत्साहित हुँदै थपे उनले । चुनिखेल, चपली तथा कपनमा चुनावी प्रचारमा जाँदा युवाहरुलेमात्र हैन धान खेतका काम गरिरहेको महिलाहरुलेसमेत आर्शिर्वाद दिएकाले सागर आफ्ना उम्मेदवार सन्तोष चुनाव जित्ने अनुमान लगाउँछन् ।