नेकपाका नेता भुसालले गरे जनताको बहुदलीय जनवाद(जबज)मा विद्यावारिधि

नेकपाका नेता भुसालले गरे जनताको बहुदलीय जनवाद(जबज)मा विद्यावारिधि

कपन अनलाइन

काठमाडौं, पुस ४ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनताको बहुदलीय जनवाद (जबज) लाई स्थगन गरेकै बेला नेकपाका एकजना नेताले भने जबजमा विद्यावारिधि गरेका छन् । नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसालले जबजमा पीएचडी गरी त्रिभुवन विश्वविद्यालयबाट दीक्षित भएका हुन् ।

त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहमा सयौं युवा विद्यार्थीहरुको बीचमा नेकपा नेता भुसाल पनि गाउन लगाएर उपस्थित थिए । उनले जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम शीर्षकमा विद्यावारिधि गरेका हुन् । नेकपाभित्र अध्ययनशील र वैचारिक नेता मानिने भुसाल ४ वर्षअघि पीएचडीको विद्यार्थीका रूपमा भर्ना भएका थिए । पार्टीले जबजको सिद्धान्त नै छाडेपछि त्यसमा पीएचडीको औचित्य के भन्ने अनलाइनखबरको प्रश्नमा उनले आफ्नो थेसिसको निष्कर्षमा केही तथ्य पेस गरेको बताए । नेकपाको पछिल्लो कार्यक्रम जनताको जनवादका अधिकांश अन्तरवस्तु जबजबाटै जस्ताको तस्तै लिइएको उनले प्रमाणसहित प्रस्तुत गरेका छन् ।

पीएचडी उपाधि लिएपछि भुसालले भने, ‘नाममा भन्दा पनि अन्तरवस्तुमा जानुपर्छ । मैले निष्कर्षमा जबजका कुन–कुन विषय जनताको जनवादमा राखिएका छन् भनेर प्रमाणसहित दिएको छु । माक्र्सवादको उदय, विकास र प्रयोगका सन्दर्भमा जबजको ऐतिहासिक महत्त्व छ र ती अहिले पनि सही छन् । भुसालले मार्क्सवादको उदय र विकास कसरी भयो र त्यसको प्रयोग कहाँ, कसरी गरियो भन्ने विषयमा लामो अध्ययन गरेका छन् । निर्धारित चार वर्षमै विद्यावारिधि सकेका भुसालका गाइड डा।सुरेन्द्र केसी थिए । उनले पेरिस कम्युनदेखि चीनको नयाँ जनवादी व्यवस्थासँग समेत जबजको तुलना गरेको बताए । माक्र्सवादका सही अन्तरवस्तुलाई जबजले आत्मसात गरेकाले अहिले पनि यो उपयुक्त रहेको उनले बताएका छन् । रूपमा जनताको जनवाद भनिए पनि सारपक्ष जबज नै भएको भुसालको निष्कर्ष छ ।

तपाइँको प्रतिक्रिया ।