नेता जन्माउने कुरा !

नेता जन्माउने कुरा !

कपन अनलाइन

काठमाडौं, पुस ४। अर्जुन पाण्डे/

रियालिटी शो बाट देश बनाउने नेताको उदय नहुने प्रष्ट छ । यो कसैको निम्ति एउटा लहड हो, कसैको निम्ति व्यापार हो भने केही नेताहरुका निम्ति जनअनुमोदिन हुन गाह्रो पररिहेको बेला टीभी शो मै भएपनि केहि बोलौं भन्ने एउटा अवसर हो भन्न धक नमाने हुन्छ । किनकी देशका जिम्मेवारी सम्हाल्छौं, हामी अब्बल छौं, हाम्रो भिजन प्रष्ट छ, मनोवल उच्च छ भन्ने नेताहरु यस्तो लहडमा अल्झेर समय व्यतित गर्नु हुन्न । नेताहरुले गर्नुपर्ने धेरै छ टीभी शोमा सेलीब्रेटी वन्ने होइन । हिउँद मासमा बदाम छोडाएर घाम ताप्नेहरु झैं बकम्फुसे हाहामा लाग्ने जस्तो काम नेताहरुको होइन । फेरी टिभी शोका सेलिब्रेटीहरु अरु नै प्रशस्त छन् । क्यै कमि छैन । यति हुँदा हुँदै पनि देश हाँक्ने नेताको अभाव हुँदै नभएको चाहीँ होइन ।

केही समय अघि मदनकृष्ण हरिबंशले देशमा एउटा नेता पनि पठाएनौ भगवान भनि गुनासो गरिएको गीत यहाँ स्मरण गर्नु सान्दर्भिक हुन्छ । त्यति बेला यो गीत सार्थक छ है भनि हो मा हो मिलाउनेहरु धेरै थिए, छन् । यसको अर्थ देशमा एउटा सक्षम र देश हाँक्ने नेताका अभाव खट्किएको अवस्था चाहिँ पक्कै हो । नेता छान्ने रियालिटी शो शिशिर बसन्तको कथामा हात्तीले हरेक दिन राजा छानेर ल्याए जस्तै नेता खोज्न लिन डोलि लिएर निस्के झैं देखिन्छ । यो एउटा रमाइलो जात्रा सिवाय केही होइन । बरु नेता हुनु त उहिले गोरखाको लिगलिगकोटमा दौड जितेर राजा भए जस्तै हो । यो जनताको माझमा जाने र जनताको मन जित्ने दौड हो । रियालिटी शोमा मेकप गरेर टल्किएको अनुहार लिएर घेरावाले टोपी र लगौटी धारी जनताको प्रतिनिधित्व गर्न सकिन्न । नेपाल जस्तो विकट भूभाग भएको र गरीबीले गाँजेको देशमा भीर मौरीको चाका च्याप्प उठाएर भोकाएकाहरुलाइ बाँड्न सक्ने शीप र हिम्मत साथै आफू नखाइ अरुलाइ दिन सक्ने हृदय भएको नेता चाहिन्छ ।

आज नेता छान्ने रियालिट शोलाइ जति खिसी ट्युरी गरिन्छ त्यत्ति नै असल नेताको सर्बत्र खोजी हुने एउटा नेता जन्माउन नसक्ने अवस्था ल्याउने तपाइँ हामी सबैलाइ खिसि ट्युरी गर्नुपर्ने हुन्छ किनकी असल नेता तपाइँ पनि हुन सक्नु भएन म पनि हुन सकिन । न तपाइँ हाम्रा छोरा छोरी भए । अरु कुनै देशले हामीलाइ चाहिने नेता जन्माएर, तालिम दिएर पठाउने हैन । हामी आफैले जन्माउने हुर्काउने विकास गराउने हो । बरु सोधौं तपाइँ हामी आफैलाइ के हामी नेता जन्माउन सक्ने आँट र क्षमता राख्छौं ? कि सन्तानोत्पदन क्षमता नै ह्रास भैसक्यो ? नत्र भने छोरा पाउन सकिनस् भनेर स्वास्नी कुट्ने नपुंशक लोग्नेको बुद्धि के बुद्धि ? त्यस्तो कुबुद्धि कम्तिमा पनि तपाइँ हामीमा हुनु भएन नि हैनर ?  यो त एउटा आँैलाले अरुलाइ देखाउँदा तीन औंलाले आफूलाइ देखाउँछ भनिन्छ नि, त्यस्तै हो । यति हो भने अब हामी ठीक ठाउँमा आयौं । तर के अब हामीसंग नेता नै छैन त ? छन् नि देशैभरी गावैंभरी । तिनैलाइ ठोकठाक पारेर ठीक बाटोमा ल्याउनु सिवाय अर्को विकल्प छैन ।

यसको पनि एउटा नियम छ कुमालले माटोको भाँडा बनाए जस्तो जति मुंग्राले हाने पनि कुमालको घ्याम्पो फुट्दैन झन बलियो हुन्छ । काइदा हो उसको भित्रि हात । उसले वाहिर जति पिट्छ भित्र उत्ती नै सपोर्ट र माया गरेको हुन्छ । भित्री रुपमा माया नगर्ने भुइँफुट्टाहरुलाइ नेतालाइ गाली गर्ने वा दुत्कार्ने अधिकार हुन्न । त्यो त केवल विध्वंस हो ।  तसर्थ आउनुहोस् हामी त्यही कर्म गरौं जुन विकल्पहिन छ । यिनै नेतालाइ भित्रबाट माया पनि गरौं र बाहिरबाट ठोकठाक पारेर सही बाटोमा हिँडाऔं । पुरुषत्व अझै बाँकी छ भने प्रयत्न पनि गरौं र कुरौं अझै दुइ चार बर्ष । बाँकी छैन भने त कुरै खत्तम ।

तपाइँको प्रतिक्रिया ।