ए भनन सरकार तिमी कस्ता मान्छेका जात हौ ?
कपन अनलाइन
काठमाडौं, मंसिर २३ / कविता
ए सरकार भनन तिमी किन मौन्छौ ?
देश दुखिरहँदा पनि तिमी दुख्दैनौ भने
किन लिएर आयौ तिम्रो त्यो छातीभित्र मुटु?
लिपुलेक लिम्पियाधुरा र कालापानी चिच्याईरहँदा
तिमी सुन्न सक्दैनौ भने उनीहरूका क्रन्दन्
किन लिएर आयौ त्यो तिम्रो कान ?
ए सरकार भनन तिमी किन मौन्छौ र चुप्छौ ?
आफ्नै आमाका हात, खुट्टा
र छाती हुन् लिपुलेक लिम्पियाधुरा र कालापानी
ए भनन सरकार तिमी
आफ्नै आमा च्यादिरहँदा पनि देख्न सक्दैनौ भने
किन लिएर आयौ तिम्रो त्यो आँखा ?
ए सरकार भनन तिमी किन मौन्छौ?
मौन बस्नू नै थियो भने
किन ब्युँझाउँछौ हँ मुर्दा नाराहरू ?
जसको कुनै अस्तित्व नै छैन देशमा
मौन् बस्नू नै थियो भने
किन फलाक्छौ हँ उखान र टुक्काहरू ?
जसलाई देश आफ्नै कानले सुन्न चाँहदैनन्
आज देश दुखिरहँदा पनि तिमी लाटो बनेर
रङ्गमञ्चमाझैं अभिनय गर्नू नै थियो भने
ए सरकार भनन तिमी
किनलिएर आयौ हँ
तिमीले तिम्रो त्यो अस्तित्वविहीन् जिब्रो ?
ए सरकार भनन
तिमी यो देशका हौ कि होइनौ?
हो भने किन भन्न सक्दैनौ देशसँगै तिमी
जसरी देशले आफ्नै छातीमा मुड्कीले ठोकेर भनिरहेछन्
लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो हो हाम्रो
ए सरकार भनन तिमी पनि एकपल्ट
देशसँगै लिपुलेक हाम्रो हो हाम्रो भनेर
ए भनन सरकार!
तिमी पनि एकपल्ट आवाजसँगै आवाज मिलाएर
लिम्पियाधुरा र कालापानी हाम्रो हो हाम्रो भनेर ।
ए भनन सरकार !
के छ तिम्रो बाध्यता आफ्नै मुखलाई
बन्द ढोकाझैं तालामारेर यसरी चुप बस्नू पर्ने ?
सुन ए सरकार !
लिपुलेक दुखिरहँदा तिमीलाई दुख्नू पर्थ्यो
बरू दक्षिणतिर फर्केर तिमीले थुक्क गरेर थुक्नू पर्थ्यो
देशसँगै आवाजबनेर भुक्नू पर्थ्यो
आमा चिथोर्ने ब्वाँसाहरूलाई
लघारीलघारी सिस्नोपानीले कुट्नू पर्थ्यो
देशका क्रन्दनसँगै तिमी जुट्नू पर्थ्यो ।
भनन ए सरकार !
के छ तिम्रो त्यस्तो बाध्यता
किन यसरी तिमीलाई लुक्नू पर्ने ?
किन यसरी दक्षिणसँग झुक्नू पर्ने ?
ए सरकार!
तिमी बलत्कारीलाई छुट्दिन्छौ
भ्रष्ट्रचारीलाई छुट्दिन्छौ
एन्सियल्लाई छुट्दिन्छौ
देश काँधमा बोक्नेहरूलाई कुट्दिन्छौ
आफ्नै आमा बलात्कार गर्ने शत्रुलाई छुट्दिन्छौ
भनन ए सरकार ! तिमी ककसलाई छुट्दिन्छौ ?
ए भनन सरकार !
तिमी कस्तो मान्छेका जात हौ ?
जाग तिमी आफू पनि निद्राबाट
ब्युँझाऊ र जगाऊ पूरै देशलाई निद्राबाट
बोलाऊ फिर्ता गोरखाली र भगाऊ शत्रुहरू
होइन भने
कि त आफू जाग तिमी
कि त जगाऊ पूरै देशलाई
कि त भाग तिमी आफू पनि
कि त भगाऊ सीमा दुखाउने शत्रुहरूलाई
ए भनन सरकर !
तिमी कस्ता मान्छेका जात हौ?
राजबाबु श्रेष्ठ ‘सागर’
महोत्तरी, गौशाला नगरपालिका