कपनबाट ८००० भोट ल्याउने योजना बनाउँदै निर्मल कुइँकेल
कपन अनलाइनकुनै समय एमालेको गढ भनेर चिनिने काठमाडौं जिल्लालाई यो संबिधानसभामा त्यो गढलाई पुनः ब्यूँझाउने तयारीमा नेकपा एमाले लागेको छ । हरेक क्षेत्रमा सांगठनिक तथा रणनीतिक रुपमा अब्बल तरिकाले अगाडि बढाउन उम्मेदवार तथा अगुवा कार्यकर्ता खटिएका छन् । काठमाडौं क्षेत्र नं. ४ मा उम्मेदवार बनेका काठमाडौं जिल्लाको प्रभावशाली अध्यक्ष निर्मल कुइँकेल यतिखेर आफ्नो क्षेत्रमा जीतका लागि योजना बुन्दै छन् । क्षेत्रका हरेक शाखामा दिनभरजस्तो व्यस्त कार्यतालिकामा उनी आफू पनि खटेका छन् भने कार्यकर्तालाई पनि खटाइरहेका छन् ।
काठमाडौं क्षेत्र नं. ४ को सबैभन्दा बढि मतदाता भएको कपन गाविसबाट सबैभन्दा बढि मत ल्याउने योजनामा छन् निर्मल कुइँकेल । यो गाविसबाट धेरै मत लिन सकियो भने अरु ठाउँबाट कम मत आयो भने पनि सहज जीत हासिल गर्न सकिने भएकोले कपन गाविसबाट करिब ८००० मत ल्याउने योजनामा उनी छन् । त्यसका लागि हरेक संगठित सदस्यकातर्फबाट २० मतको संभावना उनले खोजेका छन् । कपनका ३१० संगठित सदस्यबाट उनले ६००० मत हुनेछ भने । त्यसैगरी निर्मल कुइँकेलले कपनका अन्य समर्थकहरुका परिवारबाट २००० मतको संभावना खोजेका छन् । कपनको चुनावी अभियान भाग लिन आएका निर्मल कुइँकेलले कपन अनलाइनसँग कुरा गर्दैे यस संबिधानसभाको निर्वाचनमा २२,००० मत ल्याउने दावी पनि गरे ।
यसैबीच कपन नेकपा एमालेले संविधान सभाको दोस्रो निर्वाचनको हल्लासँगै आन्तरिक तयारीलाई जोड दिँदै सार्वजनिक रुपमा चुनावी अभियानमा होमिएको छ । आज पार्टी कार्यालयमा भएको बृहत् कार्यकर्ता भेलाले कपन एमालेका नेता मीठाराम अधिकारीको संयोजकत्वमा ५५१ सदस्यीय निर्वाचन परिचालन मूल कमिटी निर्माण गरी कार्यकर्तामाझ सार्वजनिक गरेको छ । एमालेका काठमाडौं ४ का संविधान सभाका प्रत्यक्ष तर्फका स्थानीय उम्मेदवार निर्मल कुइकेलले एमालेलाई जिताउनुपर्ने आधारहरुका बारेमा कार्यकर्तालाई सम्बोधन गरेका थिए ।
उनले २०५२ सालदेखि बसेका उम्मेदवारले ३० फिटे टेप बोक्दै जनतामा भ्रम छर्नुभन्दा कपनमा रहेका ४५ भन्दा बढी उपभोक्ता समिति र टोलसुधार समिति मार्फत विकास अभियान किन लान सकेनन् त्यस बारेमा जनताले प्रश्न गर्नुपर्ने बेला आएको बताए । यसैगरी विगतको संविधान सभामा यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने एकै पार्टीका दुई व्यक्तिले कपनका लागि के गरे प्रश्न गर्ने बेला आएको बताउनु भएको छ ।
भेलाले अनुगमन, आर्थिक, प्रचारप्रसार लगायतका १३ वटा कमिटी बनाएको समेत पार्टीले जनाएको छ ।