क्षेत्र नं. ४ मा गगन थापाको एक महिने घरदैलो कार्यक्रम सार्वजनिक
कपन अनलाइनबद्रि भट्टराई
देशमै सर्वाधिक चासोको विषय बनेको काठमाडौं जिल्ला क्षेत्र नं. ४ को राजनीतिक सरगर्मी निकै तातेको छ । सबै उम्मेदवारहरु भेटघाट र घरदैलोमा व्यस्त छन् । यस अघिको निर्वाचनमा नेपाली कांग्रेसले जितेको यस क्षेत्रमा यसपाला नेपाली कांग्रेसले गगन कुमार थापालाई उम्मेदवार बनाएको छ । एसियाकै चर्चित युवा नेताका रुपमा परिचित गगन कुमार थापासँग एमालेका प्रभावशाली काठमाडौं जिल्ला अध्यक्ष निर्मल कुइँकेल प्रतिस्पर्धामा छन् । त्यसैगरी एमाओवादीका तत्कालिन जनमुक्ति सेनाका कमाण्डर नन्दबहादुर पुन पनि प्रतिस्पर्धामा छन् ।
चुनावमा सबै राजनीतिक दलहरुमा यतिखेर घरदैलोलाई प्राथमिकता दिइरहेको बेला नेपाली कांग्रेस क्षेत्र नं. ४ समितिले गगन कुमार थापाको कार्तिक महिनाभरीको घरदैलो कार्यक्रमको क्यालेण्डर सार्वजनिक गरेको छ । हेरक दिन सात बजे शुरु हुने कार्यक्रमलाई महानगरपालिकाको ४ वडा र ४ गाविसमा कम्तिमा ४ वटा छुट्टा छुट्टै घरदैलोसहित आमसभा, र्याली र भेटघाटका कार्यक्रमहरु तालिकामा समावेश छ ।
क्षेत्र नं. ४ को सर्वाधिन मतदाता भएको कपन गाविसलाई नेका क्षेत्र नं. ४ तथा उम्मेदवार गगनकुमार थापाले विशेष जोड दिएका छन् । हरेक दिनजस्तो भेटघाटको कार्यक्रम यस गाविसमा राखिएको छ । क्षेत्रले घरदैलो कार्यक्रम नै भनेर कपन गाविसमा कार्तिक ३, १०, १६ र २४ गतेलाई तोकेको छ । घरदैलो हुने दिन विहान ७ बजेबाट सम्बन्धित ठाउँमा र्यालीसहितको १५० जना झण्डा बोकेका कार्यकर्ता उम्मेदवारको साथमा रहने नेका कपन सभापति विनोद चालिसेले कपन अनलाइनलाई बताए ।
कपनमा भोलि गगन कुमार थापाको घरदैलो कार्यक्रम
कपनमा भोलि कार्तिक ३ गते नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापाको घरदैलो कार्यक्रम हुनेछ । नेका क्षेत्र नं. ४ ले प्रकाशित गरेको कार्यक्रम अनुसार कार्तिक ३ गते बालउद्धार उमाविको प्रांगणबाट घरदैलो कार्यक्रम सुरु हुनेछ । कपन गाविसको वडा नं. ३ लाई लक्षित गरेर हुने भोलिको घरदैलो कार्यक्रममा उपस्थिति हुन सबै नेपाली कांग्रेसका कृयाशील सदस्य, कार्यकर्ता तथा सुभेच्छुकलाई खबर गरी सकिएको छ । विहान ७ बजेबाट शुरु हुने घरदैलो कार्यक्रमलाई ११ बजेसम्म संचालन गरिने कपन नेकाले जनाएको छ । नेका कपनले कपन हुने घरदैलो कार्यक्रमको दौरान अफिस हुने कार्यकर्ता तथा सुभेच्छुकलाई सकभर अफिसियल छुट्टि मिलाउन आग्रह पनि गरेको छ ।