टापु डाँडाको चिहानमा दंगा प्रहरीले लाश जलाउन नदिँदा तनाव सिर्जना

कपन अनलाइनकपनवासीलाई मध्य दशैंको रन्को चढिरहेको बेला वडा नं. ७ गैह्रीगाउँ निवासी धुम्बे लामाकी श्रीमती काली तामाङले यो संसारबाट बिदा लिइन् । मानिस जन्मेपछि मर्नुपर्छ नै बस को कति छिटो वा चाँडो भन्ने कुरा मात्र हो । काली तामाङको मृत्यूसँगै उनकोे दाहसंंस्कार गर्न तयारी गर्न लागे । तामाङ संस्कार अनुृसार उनलाई मृत्यू संस्कार गर्ने क्रममा घरमाथि रहेको टापु डाँडा चिहानमा लैजाने तयारमा लागे तामाङ समुदाय । वडा नं. ७ मा रहेका तामाङ समुदाय यही टापु डाँडामा आफ्ना आफन्तहरुलाई परापूर्वकालदेखि दाह संस्कार गर्दछन् । कपन गाविसकै सबैभन्दा अग्लो ठाउँमा रहेको यो डाडोँ चिहाने डाँडो भनेर नै चिनिन्छ ।

 
काली तामाङनीको लाश लिएर डाँडा उक्लेका मलामीहरुलाई हाल डाँडाको हक भोग गरिरहेको नेपाल प्रहरी अन्तर्गत केन्द्रिय प्रहरी विशेष कार्यदल(दंगा प्रहरी) लाश जलाउने पाइँदैन भनेपछि मलामीहरु अन्यौलमा परे । ५० औं को संख्यामा दंगा प्रहरीले लाशलाई घेरेपछि स्थानीयहरु डराए । के गर्ने कसो गर्ने सोच्न सकेनन् । दंगा प्रहरीसँग करिब १ घण्टा सामान्य विवाद भएपछि उनीरुले गाउँका राजनीतिक दलहरुका प्रतिनिधिरुलाई फोन गरेर बोलाए । जनपद प्रहरीको कपन प्रहरी प्रभागलाई पनि उनीहरुले खबर गरे ।

 
क्याबिनेटको मिटिङले करिब १५ वर्षअघि यो ठाउँको करिब साँढे तीनसय रोपनी जग्गा नेपाल प्रहरीको यो विशेष कार्यदललाई दिएपछि यस क्षेत्रमा प्रहरी विशेष कार्यदलले आफ्नो कार्यालय र तालिम केन्द बनाएको छ । यो कार्यदललाई यो डाँडा चिहाने डाँडा हो भन्ने समेत थाहा छैन । साँझ चार बजे डाँडा पुगेका लाशसहितका मलामीहरुले खबर गरेपछि कपनका स्थानीय राजनीतिक दलरुका प्रतिनिधि तथा समाजसेवीहरु टापु डाँडामा पुग्दा अँधेरो भैसकेको थियो । अझै ५० भन्दा बढि दंगा प्रहरी त्यहाँ थिए । कपन प्रहरी प्रभागका इन्स्पेक्टर तथा सब इन्स्पेक्टर सहितको टोली त्यहाँ पुगिसेकेको थियो । सबैले आआफ्नो तर्फबाट समस्या समाधान गर्न प्रयास गरे । सबै पार्टीका प्रतिनिधिरुले आआफ्ना माथिका नेताहरुलाई फोन लगाए । काठमाडौंको सिडिओलाई समेत फोन गर्ने पहलहरु भए । सबै फोनमा व्यस्त देखिन्थे । मिठाराम अधिकारी, अच्युत पौडेल, विनोद चालिसे, ध्रुवराज न्यौपाने, विनोद पौडेललगायतका व्यक्तिहरु समस्यालाई सामान्यिकरणमा जुटेका थिए । तर कुरो मिलिरहेको थिएन ।

 
जुन ठाउँमा लाश राखिएको थियो त्यो ठाउँबाट केही तल लाश जलाउने विषयमा लामो बहश हुँदा पनि मलामी पक्ष जुन ठाउँ लाश राखिएको छ त्यहि ठाउँमा जलाउने अनि प्रहरी त्यो ठाउँमा लाश जलाउन नहुने भन्ने विषयमा अडिग रहे पछि समस्या समाधान हुन सकेन । विशेष प्रहरी कार्यदलको तालिम गर्ने ठाउँ भएकोले त्यो ठाउँमा लाश जलाउन नदिने विषयमा उनीहरु अडिग थिए भन स्थानीयहरु जुन ठाउँमा पहिलादेखि लाश जलाइन्थ्यो त्यही ठाउँमा जलाउन पर्ने विषयमा अडिग भए । स्थानीय नेताहरुले माथिका मानिसलाई गरेको फोनको कुनै अर्थ नभेटिएपछि रातभर काली तामाङको लाश त्यहि ठाउँमा राख्ने र भोलि समस्याको समाधान निकालिने निक्र्यौल निकालेर सबै जना आअफ्ना घर लागे । डाँडामा काली तामाङको लाश एक्लै छ र सुरक्षाका लागि केही कार्यदलका प्रहरी बसेका छन् ।

तपाइँको प्रतिक्रिया ।