सन्तोष वर्माको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

कपन अनलाइन४ दिन अघि हृदयघातबाट निधन भएका युवा तबलावादक सन्तोष वर्मालाई श्रद्धाञ्जलीस्वरुप कपनमा कार्यक्रम आयोजना गरिएको छ । कपन संगीत सरोवरले नियमित रुपमा आयोजना गर्दै आएको भक्ति तथा शास्त्रीय संगीतको कार्यक्रमअन्तर्गत ८३ औं श्रृंखला स्वर्गीय वर्मामा समर्पित गरेको हो ।
कपन संगीत सरोवरका संगीत संयोजक विनय वर्माका सुपुत्र सन्तोष वर्माको ४ दिन अघि हृदयघातबाट असामयिक निधन भएपछि सिंगो शास्त्रीय संगीत क्षेत्र शोकमग्न छ । आफ्ना संगीत संयोजकमाथि परेको यस अपार दुःखप्रति शोक जनाउँदै कपन संगीत सरोवरले आयोजना गरेको कार्यक्रममा स्वर्गीय सन्तोष वर्माका शिष्यहरुले भक्ति तथा शास्त्रीय संगीत प्रस्तुत गरेका थिए ।

 

सन्तोष वर्माका शिष्य भएर देशभरका विभिन्न मञ्चमा आफ्ना प्रस्तुति दिइसकेका जगन्नाथ धौगोडा, विराज पोखरेल, प्रतिक सत्याल, सुदिप बडालले गुरुप्रति श्रद्धाञ्जली स्वरुप तबला वादनको कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसैगरी स्व. सन्तोषवर्माका गुरु दाइ परशुराम पौडेलले उनीसँग विताएका विभिन्न अनुभवहरु कार्यक्रममा बाँडेका थिए । कार्यक्रममा कलाकार सच्चिदानन्द पौडेलले स्व. सन्तोष वर्मामाथि लेखेको कविता वाचन गरेका थिए । त्यस्तै शशिविक्रम थापा र उत्तम पौडेलद्वारा स्व. वर्मामा समर्पित गरेर भक्ति संगीत प्रस्तुत गरिएको थियो । कपन संगीत सरोवरले हरेक महिनाको अन्तिम शनिवार कपनको बगलामुखी मन्दिर प्राङ्गणमा शास्त्रीय तथा भक्ति संगीतको कार्यक्रम संचालन गर्ने गरेको छ ।

(फोटोः कपन संगीत सरोवर अध्यक्ष बिसुकुमार केसीको फेशबुक)

तपाइँको प्रतिक्रिया ।