समयको अघोरी म
कपन अनलाइन
काठमाडौं, मंसिर २०। प्रशुराम अधिकारी/ कविता
वर्षौदेखि हुर्काएका साझा सपनाहरुलाई
शासनका खुड्किला चड्दै गर्दा
आफ्नै महत्वकांक्षाका ताता रापहरुले
जल्दै जाने रैछन्,
आफन्तका आकांक्षाहरुले
समिधा थप्ने रैछन्,
शुभेच्छुकका सल्लाहहरुले घ्यू
अनगिन्ती
अध्यारा–उज्याला सम्झौताहरुले घोची घोची
जब तिनलाई म खरानी बनाउँछु
त्यतिबेला
शाषितबाट उक्लिएर म शासक भैसकेको हुन्छु
मलामी भै लामबद्ध उभिएका मतदाताहरु
विवश छन
आफ्नै सपनाको अन्त्यष्टीमा साक्षी बन्न
किनकी
समयको खाली कागजमा
पहिले नै ल्याप्चे लगाईएका
परिधिहरुबाट उम्किएर
कहाँ जान सक्छन् र ति ?
हो, म समयको अघोरी
दुनियालाई लगाई दिएको
सामाजिक नैतिक बन्धनबाट बेलगाम छु
शाषितहरुलाई
अक्षरका झुण्डहरुमा भ्रम छरेर
विधान बाधेको छु
भक्तहरु सत्ताको स्वाद चाख्ने चौबाटोमा
भजन गाउँन ब्यस्त भएकै बेला
चारैतिरबाट सम्झौताको गाठो कस्दै
समृद्धिको सिंहनाद गर्छु
आफ्नै शासनको घेराभित्रैबाट
थुप्रै शिकार बटुल्छु
र सजाउँछु
आफ्नै भविष्यको भरोसा
अनि थाल्छु
आफ्नो भ्रमपूर्ण सपनाको बिउँ रोप्न
लगाउँछु
आफ्नै स्तुतिको इतिहास लेखाउँन
हो, म यति नै बेलादेखि
समयको उल्टो हिडिरहेको छु
जब जनताको
सपनाको समय डढेपछि
मेरो समयको सुरुवात हुन्छ
देशको भविष्य खटमा कसेर
मसानघाटतिर दौडिन्छन् केही बुज्रुकहरु
त्यही श्मशान घाटमै
लडाएको मृत समाजको
फल मासुमा रमाउन खोज्ने
समयको अघोरी म ।