सन्तानको पर्खाइ !
कपनअनलाइन
काठमाडौं, मंसिर १३।लक्ष्मी ढकाल/कविता
त्यो घण्टाघरको घडीमा हेर्दै
टुँडीखेल मौन छ
सिंहदरबारको आवाज
अल्मलिएको छ
म वीर हस्पिटलको बेडमा
सन्तानको रक्षामा
लडेकी आमाको एकोहोरो
हेराइलाई नियाल्दै
समय कटाउने बहानामा
कहिले भित्र अनि कहिले बाहिर हेर्दै
पटक पटक सोधिरहन्छु !
आमा, हजुरलाई अहिले कस्तो छ ?
आजकाल
मेरी आमालाई सन्चो छैन
भन्नुहुन्छ –
कहिले छाती पोलेको छ
कहिले शिर दुखेको छ
शून्यतामा सुत्न
कोलाहलमा उठ्न
आफ्नैे मझेरीमा
आफ्नै मतानमा अनि आफ्नै
गाईगोठमा पल्लो घरको
माइलो दाइबाट त्रसित छु
पारिकाबाट भयभित छु
उत्तर हेरेपछि आत्तिने र दक्षिणतिर
फर्किँदा दिक्क लाग्ने
व्यथाले हरेक पटक लुछिएका अङ्गअङ्ग
सम्झिएर गुनासो पोख्दै
भएको जोगाउने चुनौतीमा
कयौँपटक फेरिएका
नक्सालाई च्यापी
पारिबाट आएको छिमेकीले
बारीमा टेक्दा पनि
नक्सा फेरिदियो कि भन्ने डरले
हत्तपत्त पुरानो बलभद्र बाजेको
कन्तुरबाट नक्सा खोतल्न
थालेकी मेरी आमा
आज नाति पनातिको
बाटो हेरिरहनुभएको छ
मिल्छ भने भेट्न आऊ न है !!!
मात्र विरताको कोसेली बोकेर
आज मेरी आमा
भीमसेन र भक्तिको सम्झनामा
बर्बराई बेला बेला लामोे सुस्केरा लिनुहुन्छ
अनायासै आवाज पोख्दै
बलभद्र र अमर भइदिएको भए
सायद यी आँखाले
केही समय भए पनि विश्राम पाउँथ्यो कि भनेर
गुनासो पोखिरहनुहुन्छ
मेची मिचिएला कि काली हराउँला कि
लिपु र कालापानीको सम्झनामा
अर्धचेत बनेकी मेरी आमालाई
भेट्न तिमीले दिने आश्वासनको
भन्दा पनि वीरताको कोसेलीको
पर्खाइमा छु
तिमी अनि म
आमाको हरेक अङ्गको रक्षामा खटिने
केवल
डाक्टर बनेर नर्स बनेर
अनि पहरेदार बनेर
वीर गोर्खालीको प्रतीक्षामा छन् आमा
रोई रोई मौन बनेर
मिल्छ भने भेट्न आऊ न है !
वीरताको कोसेली बोकेर