आमाको विलाप !

आमाको विलाप !

कपनअनलाइन

काठमाडौं, मंसिर १३ । कृष्णप्रसाद अधिकारी/ कविता
उनको सम्झनामा
हरेक गोधूलिको लालीमासँगै
क्षितिज पारीबाट चिहाउने गर्छु
बादलुको घुम्टो उघारेर हेर्ने गर्छु
तर उनी
आँगनीको डिलमा टुसुक्क बसेर
सानो छोरालाई स्तन चुसाउँदै
पुर्पुरोमा हात राखेर
सेतो पहिरन लगाएर
उदास–उदास देखिन्छिन्
मेरो सम्झनामा ।
उनको सम्झनामा
शून्यबाट चिहाउँछ हरेक रातमा
शित बनेर झर्छु हृदयको पात–पातमा
सपना भर्ने गर्छु उनको आँखामा
अनि फेरी,
आँसु बनेर झर्छु सिरानीमा
मध्यरातको बीचमा
सानो छोराको तोते बोलीको रुवाइमा
बाबा भन्ने शब्दमा म नै आईरहन्छु
म निष्ठुरी
तिम्रो सम्झनामा ।
तर
सत्यता र यथार्थता त यही नै हो
म त ब्रह्मतत्वमा मिलीसकेको छु
शून्यतामा हराइसकेको छु
बुद्धको देशबाट मेरो रगतको खोला बग्यो
नेपाली आकास टम्म बमको धुँवाले भरियो
बन्दुकको नालाबाट निस्केको गोलीले
मेरो छाती छेडियो
खुकुरीको धारिलो प्रहारले मेरो घाँटी रेटीयो
म बगरमा फालिएँ
जङ्गलमा मिल्काइएँ
स्याल र गिद्धको आहारा भएँ
तर सधैँ सधैँ गोधूलिमा
क्षितिजबाट चिहाईरहन्छु
केवल उनको सम्झनामा ।

तपाइँको प्रतिक्रिया ।