मेरा पाँच मुक्तक !

कपनअनलाइन

काठमाडौं,कार्तिक २९। निर्मल रमण पराजुली/  कविता
(१)
तिम्रै लालपुर्जा भयो मुटु, अरुसँग बाँडिन सक्दैन
तिमीसङ्गै जोडियो मन, अब कहिल्यै टाडिन सक्दैन
तिम्रो आशु पुछ्ने मेरो हात, मेरो पुछ्ने तिम्रो हात
हाम्रो बिश्वासको यस्तो नाता, कहिले पनि भाँडिन सक्दैन..
(२)
पिठ्यूँमाथी मलाई बोकी, पछ्यौरीले बाँन्थ्यौ आमा
मेलापात अनि घास दाउरा, आफुसँगै लान्थ्यौ आमा
तिम्रो मायाँ सम्झि ल्याउँदा, यस्तो लाग्छ अहिले मलाई
आफ्नो मुटू भन्दा पनि, मलाई प्यारो ठान्थ्यौ आमा ..
(३)
मर्दा केही लान्न भन्थ्यौ, गयौ सिन्दुर पोते लिएर
मुटु फुट्ला जस्तै हुने, कस्तो यो पिडा दिएर
कस्ती रैछे अलक्षिनी, लोग्ने टोकी भन्छन सबै
गाह्रो भयो मलाई बाच्न, दिन रात आशु पिएर..
(४)
जसले दाईजो खोज्छ बाबा, मलाई त्यस्तो वर नखोज
मलाई जिउँदै आगो लाउने, त्यति दुष्ट घर नखोज
शिक्षा दिए सक्षम हुन्छु, आफैं जीवन धान्न सक्छु
बिन्ति बाबा मलाई पाल्न, कोही कसैको भर नखोज..
(५)
जिउँदो हुँदा नहेर्ने सन्तान, मरेको दिन हेर्न आउनेछन
सबै जना भेला भई वरिपरी, मलाई घेर्न आउनेछन
बाँचुञ्जेल एकै सरो टालोसम्म नदिने सन्तानहरु
जनैको साचो खोज्ने निहुमा, कात्रोले बेर्न आउनेछन..

तपाइँको प्रतिक्रिया ।