भद्रावासमा भरोसा

कपन अनलाइनअशोकराज पाण्डे

कपनको सक्रिय सामाजिक संस्था ‘भरोसा’ ले राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष भित्र रहेको विद्यालय स्तरमा लैङ्गिक हिंसा विरुद्ध कानूनी सचेतना कार्यक्रम विगत झैँ यो वर्ष पनि सक्रिय हुने भएको छ । यस वर्षको पहिलो कार्यक्रम मिति असोज ६ गते भद्रवास स्थित श्री आदर्श मा.वि मा अध्ययनरत कक्षा ९ र १० का १५४ विद्यार्थी माझ सम्पन्न गरेको छ । कार्यक्रममा समाजमा भएको बढ्दो महिला विरुद्ध हुने हिंसाका बारेमा कानुनी सचेतना गर्ने प्रयत्न गरिएको थियो ।

कार्यक्रममा कानुनका बारेमा जानकारी गराउँदै महिलाको सम्पत्ति माथिको अधिकार, बहुविवाह, नागरिकता, सम्बन्ध बिच्छेद, घरेलु हिंसा र बाल बालिका माथि हुने यौन जन्य हिंसा जस्ता विषयबस्तु बिद्यार्थीहरूलाई सिकाइएको थियो ।

कार्यक्रममा बोल्दै  भरोसाकी अध्यक्ष रन्जिता के.सी ले बालबालिका देशका कर्णधार भएकाले उनीहरूलाई सशक्तिकरण र विकासको लागि चेतना आवश्यक भएको हुने कुरा बताउँदै समाज उत्थानमा भोलि देश हाक्ने बालबालिकालाई अझै सचेत गर्न सके भोलिका दिनमा हिंसा मुक्त समाजको परिकल्पना गर्न सकिने जानकारी गराएकी थिइन् ।

बालबालिकालाई सचेत गर्दा विद्यार्थी मात्र नभई घर परिवार र समाजमा समेत जानकारी दिन सक्ने र विद्यालय, प्रशासन र समाजमा हुने हिंसाको विरुद्ध एक जुट भई न्यायको लागि अग्रसर हुने क्षमता हुने भएकोले यस कार्यक्रम विद्यालयमा गरिएको हो र आगामी दिनमा काठमाण्डौमा मात्र नभएर बाहिर पनि कार्यक्रम संचालन गर्दै यो अभियान देश भर फैलाउने प्रतिवद्धता राष्ट्रिय महिला आयोगको सचिव सरद राज विष्टले बताए । समाज उत्थानको लागि भरोसा कपनले राष्ट्रिय महिला आयोगको यस कार्यक्रम हाल सम्म काठमाण्डौ समेत गरि ७ जिल्लामा संचालन गरि सकेको छ ।

तपाइँको प्रतिक्रिया ।