शन्दर्भ शंकरे डाँडोः ऐतिहासिकता र सुन्दरताप्रति कमजोर चासो
कपन अनलाइनकुनै जमाना थियो दशैँमा कपनभरीका मानिस पिङ खेल्न शंकरे डाँडो पुग्थे । शंकरे डाँडो मा पिङ खेल्न भनेर कपनभरीका महिलाहरु घरका काम सकेर एकत्रित हुन्थे । दुई – तीन घण्टा कुरेर सिङ्गो काठमाडौंलाई छर्लङ्ग नियाल्दै चचहुई गर्थे । शंकरे डाँडो गृहणी महिलाहरुले राताम्मे हुन्थ्यो । पुरुषहरु आफ्ना गृहणीहरुलाई पिङ खेलाउन घण्टौं कुरेर बस्थे । यही विषयमा कहिलेकाहिँ झगडा पनि पथ्र्यो । अन्त पिङ नहालिने भएर मानिस यहाँ आउने हैन शंकरे डाँडोमा रहेको पीपलको बोटमा हालेको पिङ खेल्दाको मज्जा अन्तको हुँदैनथ्यो । कपनको करिब सबै क्षेत्र देखिने यो डाँडोमा दशैंमा मात्र हैन अरु बेलामा पनि विविध कृयाकलाप हुने गथ्र्यो । यही डाँडोमा विभिन्न साहित्यिक तथा राजनीतिक गतिबिधि पनि भएका छन् । मुकुली परेको यो डाँडोको नाम शंकरे डाँडो किन भयो भन्ने पत्तो नभए पनि यसको बनावट भगवन शंकरको जटाजस्तो भएकोले हो कि भन्ने यहाँका बुढापाका आंकलन गर्दछन् । जे होस् पहाडि क्षेत्रको अन्य डाँडाभन्दा पृथक लाग्छ जो कोहीलाई शंकरे डाँडो । सायद यही सुन्दरतामा मोहित भएर हुनसक्छ यही ठाउँमा गाविसजस्तो सबै जनता आउने सरकारी संस्थाको कार्यालय राखिएको ।
यतिखेर शंकरे डाँडो विवादमा छ । यो सुन्दर ठाउँमा गाविसको नयाँ भवन बनाउन लाग्दा सिर्जिएको विवाद अझै मिलेको छैन । गाविसले बनाएको निर्माण समितिले सुन्दरता विग्रिने गरी भवन निर्माण गर्न शंकरे डाँडो खारेपछि स्थानीयहरुले प्रतिवाद गरेका कारण उत्पन्न विवाद अझै साम्य हुन सकेको छैन । यस डाँडोको आसपासमा बस्ने स्थानीयहरुले शंकरे डाँडोको सुन्दरता र ऐतिहासिकता नमर्ने गरी गाविस भवन बनाउन आग्रह गर्दै खारेको डाँडोमा काम गर्न रोक लगाएका हुन् । यसरी रोक लगाएपछि गाविस भवन बनाउने प्रकृया अन्यौलमा परेको भन्दै गाविस भवनजस्तो विषयमा डाँडाको सुन्दरता हेर्न हुँदैन भन्ने पक्ष पनि सकृय रहेको बेलामा आज भाद्र २९ गते कपन गाविस तथा भवन निर्माण समितिले शंकरे डाँडोमा रहेको सार्वजनिक जग्गा नापी गरिएको छ । ०२२ सालको नापी अनुसारको जग्गा छुट्याइनु पर्ने माग उठेपछि गाविसले नापी बोलाएर नापजाँच गरेको हो । नापजाँच गर्दा यसअघि नापेको भन्दा सिमानामा खासै अन्तर नदेखिए पनि गाविसले नापिएको ठाउँमा किल्ला ठोक्ने काम भने तत्काल गर्ने भएको छ । आजै गाविसका प्राविधिक विनोद पौडेलको घर सिमानामा पर्ने सार्वजनिक जग्गामा किला ठोकिएको छ । बाँकी क्षेत्रमा संभवतः भोलि ठोकिने छ ।
शंकरे डाँडोको ऐतिहासिकता र सुन्दरताप्रतिको चासो कम
कपनमा जसले शंकरे डाँडोमा आफ्ना बालापन बिताए तिनीहरुलाई बाहेक अरुलाई यो डाँडोको महत्वबारे चासो एकदमै कम देखिएको छ । विशेषगरेर नयाँ बसाई सराई गरेर आउनेहरुलाई शंकरे डाँडोको ऐतिहासिकता र सुन्दरताप्रति चासो कमजोर देखिन्छ । डाँडा-पाखा छाडेर आएका हुनाले यस्ता डाँडा पाखाले उनीहरुलाई छोएको देखिदैन । गाउँ छाडेर कपन आएर बसोबास गरे पनि माया जति आफ्नै जिल्लामा सिमिति हुन पुगेको देखिन्छ । १५-२० वर्षदेखि कपनमा नै बसोबास गर्दा पनि ऊ परिचय दिँदा कपनवासी भन्दैन जिल्लाकै भन्छ । त्यसैगरी २-४ पुस्तादेखि कपनमा बसेर यहाँको रैथाने भन्नेहरुले पनि शंकरे डाँडोको महत्वलाई प्रकाश पारेको देखिदैन । नयाँ आएको मानिसहरुलाई शंकरे डाँडोको बारेमा थाहा हुन नसक्ला भनेर यसको महत्व प्रकाश गर्नु पर्ने दायित्व उनीहरुले भूले । नयाँ आएका मानिसहरु कतिपय अवस्थामा त दोस्रो दर्जाका नागरिकसम्म भनिएका वा बनाइएका घटना छन् ।
यतिखेर शंकरे डाँडोमा विवाद उत्पन्न भयो भने गाविस भवन १ र ३ नंबरमा सार्ने योजना बुन्नेहरु पनि कपनमा सक्रिय छन् । यद्यपि कपनलाई राम्ररी बुझेका मानिस कपनको मध्यबिन्दु भएकोले शंकरे डाँडो नै गाविस भवनको एकमात्र उपयुक्त थलो भन्छन् । शंकरे डाँडोको ऐतिहासिकता र सुन्दरता नमासिने गरी गाविस भवन बनाउनु पर्नेमा मानिसहरु एकजुट हुन नसक्ने बेला पारेर डोजर ल्याएर डाँडो खार्नु ठूलो भूल भएको उनीहरुको राय छ । निर्माण समिति आफैले पनि स्थानीयलाई जानकारी नदिई डाँडो खार्नु भूल भएको स्वीकार गरेको छ । यसरी काम भएकोमा निर्माण समितिले सार्वजनिक माफ पनि मागिसकेको छ । यस अवस्थामा यही शंकरे डाँडोको कुनै भाग जहाँ ३ तले गाविस भवन बनाउँदा शंकरे डाडाको सुन्दरता बिग्रिदैन त्यस्तो ठाउँमा भवन बनाउनु एकमात्र विकल्प हो ।