अदुवाले बजार नपाउँदा किसान मर्कामा, बिचौलियाको पेलाईमा किसान
कपन अनलाइन
डोटी, २९ माघ । डोटीमा किसानले उत्पादन गरेको अदुवाले बजार मूल्य नपाउँदा घरमै थन्किएको छ । बिचौलियाले सोचेजस्तो मूल्य नदिएपछि अदुवा घरमै थन्किएको हो ।अदुवाले भनेजस्तो मूल्य नपाएपछि धेरैजसो किसानले बारीबाट संकलन पनि गरेका छैनन् ।
दक्षिण डोटीका बोगटान गाउँपालिका, बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा अदुवाको उल्लेख्य उत्पादन हुने गरेको छ । बिचौलियाहरु ती क्षेत्रका बजारहरु तथा किसानका बारीमै पुगेर अदुवा खरिद गर्ने गर्छन् । तर यसवर्ष बिचौलियाले बजारमा अदुवाको मूल्य राम्रो नभएको भन्दै किसानसंग न्यून मूल्यमा अदुवा खरिद गरिरहेका छन् ।
बिचौलियाको व्यवहारले किसानलाई पीडामाथि पीडा थपिएको छ । स्थानीय किसानहरुका अनुसार अघिल्ला वर्षहरुमा प्रतिकेजी काँचो २० देखि ३० र सुकेको ९ सुँठो प्रतिकेजी एक सय ७० देखि एक सय ८० सम्ममा बिक्री हुन्थ्यो । अहिले काँचो अदुवा प्रतिकेजी १० रुपैयाँ र सुकेको अदुवा प्रतिकेजी ७० देखी ८० रुपैयाँ केजीमा बिक्री भइरहेको छ ।
बजारमै राम्रो मूल्य नभएका कारण आफूले उत्पादन गरेको अदुवा बिक्रीका लागि नलगेको बडिकेदार गाउँपालिका–५ लानाकेदारेश्वरका टिकासिँह भुलले बताए ।