कपन अनेमसंघको तीज कार्यक्रम सम्पन्न
कपन अनलाइन नेकपा एमालेको जनसंगठनको रुपमा रहेको अखिल नेपाल महिला संघ कपन गाउँ कमिटीले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा अनेमसंघकी केन्द्रीय अध्यक्ष विद्यादेवी भण्डारी भएको कार्यक्रम मिलनचोक स्थित मिलनचोक पार्टी भेन्यूमा भदौ १३ गते सम्पन्न भएको थियो । करिब पाँच सय महिलाहरुको उपस्थिति रहेको कार्यक्रममा भण्डारीले सम्पूर्ण महिलाहरुले अब जिम्मेवारी लिएर नयाँ संविधान सभाको निर्वाचन सफल बनाउन आग्रह गरिन् ।
अनेमसंघ कपनकी अध्यक्ष शान्ता ढकालका अनुसार नयाँ संविधानले मात्र महिलाहरुको हक र अधिकार सुनिश्चित गर्ने भएकाले तथा त्यो कदममा एमाले अग्रभागमा लागेको कारण पनि एमालेको नेतृत्वमा संविधान बनाउनको लागि जनताको घरघरमा जान भण्डारीले कार्यकर्तालाई निर्देशन दिएकी थिइन् । कार्यक्रममा महिलाहरुले जनचेतनामूलक गीतिसंगीतका साथमा तीज दर खाएर मनाएका थिए । कार्यक्रममा कपन बृद्ध महिला पुरुषलाई सम्मान गरिएको थियो ।