नेकपा-माओवादीको निर्वाचन बहिष्कार अभियान,कपनमा र्याली

कपन अनलाईनअशोक राज पाण्डे

कपनमा प्रमुख ३ दलहरु एमाओवादी, नेपाली काँग्रेश, नेकपा एमाले चुनावी माहौल बनाउन तातिरहेको र उम्मेदवार सिफारिस गर्न व्यस्त रहिरहेको बेला नेकपा–माओवादी भने चुनाव बहिष्कार अभियान अगाडि बढाईरहेको छ । एक चरणको पोष्टरिङ्ग, पम्पलेटिङ्ग,  भित्तेलेखन,  प्रर्चा वितरण तथा जनताको घरदैलो अभियान सकिएपछि नेकपा–माओवादी झन् आक्रामक बन्दै विभिन्न कार्यक्रमका साथ अगाडि आएको हो ।

 

यहि क्रममा नेकपा–माओवादी कपन गाउँ कमिटिले हिजो श्रावण १० गते आईतबार एक बृहत् र्याली आयोजना गरेको छ । हातमा झण्डा र पर्चासहित विभिन्न ठूला नारा लगाउँदै तेन्जिङ्ग चोकबाट शुरु भएको र्याली नेपाल टेलिकम, जोरधारा, कपन चौकी, मिलन चोक, नारायण चोक हुँदै सात तलेमा गएर कोण सभामा परिणत भएको थियो । कोण सभामा नेकपा–माओवादी नेवाःराज्य सदस्य एवं निर्वाचन बहिष्कार अभियान दलका कपन संयोजक गोपाल पाण्डेले सम्बोधन गर्दै – ‘‘शान्ति प्रकृयाको ठूलो शक्ति नेकपा–माओवादीलाई बाहिर राखेर चुनाव गर्नु भनेको देशलाई एउटा मुठभेडमा लानु हो र यसले ल्याउने जस्तो खालको परिणामको भागेदार पनि ४ दल स्वयं हुने बताए । ’’

 

र्यालीलाई नेकपा–माओवादीका केन्द्रीय सदस्य एवम् निर्वाचन बहिष्कार अभियानका क्षेत्र नं. ४ का संयोजक एवम् २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) का उम्मेदवार पवनमान श्रेष्ठले नेतृत्व गरेका थिए भने कपनका स्थानीय नेतृत्व र्यालीमा नारा लगाउँदै निर्वाचन बहिष्कार गरौँ भन्न व्यस्त देखिन्थे । यसैबीच निर्वाचन बहिष्कार रणनीति कसिलो बनाउँदै नेकपा–माओवादी क्षेत्र नं. ४ ले विभिन्न कार्यक्रमहरु चाँडै नै सार्वजनिक गर्ने कुरा जानकारी प्राप्त हुन आएको छ ।

तपाइँको प्रतिक्रिया ।