राजनीति दलहरुका प्रतिनिधिले राजनीति नगर्ने कसम खाए

कपन अनलाइनकपनमा पनि सिंगो देशमा जस्तै चारैतिर राजनीति नै राजनीति हुने गर्छ । विशेषगरेर विद्यालयजस्ता शैक्षिक संस्थाहरु जहाँ राजनीति गर्न नहुने भनिन्छ, त्यस्ता स्थलमा त झनै राजनीतिको प्रभाव चरमरुपमा हुने गर्दछ । कपनमा रहेको बालउद्धार उच्च मावि त्यसको ज्वलन्त उदाहरण हो । बालउद्धार वा यस्ता सबै सरकारी विद्यालयका व्यवस्थापन समितिमा राजनीतिक दलहरुले आफ्ना कार्यकर्ता पठाएर आफ्नो पार्टीको वर्चश्व भएको विद्यालय वा शैक्षिक संस्था भनेर चिनाउन चाहन्छन् ।

 

प्रशंग कपन बहुमुखी क्याम्पसको हो । कपनकै पहिलो क्याम्पस भएकोले यो शैक्षिक संस्थामा राजनीतिक दलहरुको आँखा झनै तेजिलो रुपमा परेको थियो । कपनमा कृयाशील सबै राजनीतिक दलहरुले आफ्नो हैसियत प्रदर्शन गर्न यहाँ पनि जोडतोडका साथ लागे । र सोही अनुरुप पूर्ण राजनीतिक ब्यवस्थापन समिति बन्यो । यद्यपि यही राजनीतिक समितिभित्र पनि केही शैक्षिक क्षेत्रमा नै कृयाशील व्यक्तिहरु भएकाले उनीहरुबाट केही आशा गर्न सकिने आधारहरु रहेको केहीले बताउने गरेका छन् । तिनै केही संभावना बोकेका नाममध्ये एक हुन् आर.एम् डंगोल ।

 
भाद्र १० गते साँझ ७.३० बजे कपन बहुमुखी क्याम्पसबाट बाहिर निक्लिएका एकहुल कपन बहुमुखी क्याम्पस व्यवस्थापन समितिका सदस्यमध्ये आर.एम. डंगोलले कपन अनलाइनसँग छोटो भलाकुसारी गरे । साहित्यक पत्रकारिता अन्तर्गत शब्द संयोजन पत्रिकाको सम्पादक भएर काम गरिसकेको डंगोल त्रिभुवन विश्वविद्यालय नेपाली विभागका सदस्य पनि हुन् । विभिन्न क्याम्पसहरुमा प्राध्यपन गर्ने डंगोल प्रगतिशील लेखक संघका केन्द्रिय सचिव पनि हुन् । नेकपा एमालेको कोटाबाट उनी यस क्याम्पसको व्यवस्थापन समितिमा आएका हुन् ।

 
उनले सो दिनको मिटिङ यस व्यवस्थापन समितिको पहिलो औपचारिक मिटिङ तथा परिचयात्मक मिटिङ बताए । डंगोलले कपन अनलाइनसँग भने यो मिटिङको सुरुमै हामीले यस क्याम्पसको प्रांगणभित्र पस्दा दलगत राजनीतिलाई हटाएर पस्ने निर्णय गर्यौं । सबै साथीहरु दलगत राजनीतिबाट माथि उठेर विसुद्ध शैक्षिक गतिविधि गर्न एकमतले तयार भएको उनले थपे । मिटिङमा क्याम्पसको आर्थिक हैसियत कसरी सुदृढ गर्ने बारे विशेष छलफल भएको थियो । छलफलले रु. दश हजार धनराशीको आजीवन सदस्यहरुको संख्या बृद्धि गर्ने तथा सबै व्यवस्थापन समितिका सदस्यहरुले पनि जनही दशहजार क्याम्पसलाई दिने कुरा उठेको डंगोलले बताए । कपनको पहिलो क्याम्पसलाई नमुन बनाउन हर तरहको कोशिसमा व्यवस्थापन समिति लागेको उनको भनाई थियो ।

तपाइँको प्रतिक्रिया ।